|

काठमाडाैं : शुक्रबारदेखि दोस्रो हप्तामा प्रवेश गरेको नेपाली फिल्म 'चिसो मान्छे'ले प्रदर्शनअघि जस्तो चर्चा पाएको थियो‚ प्रदर्शनमा आइसकेपछि पाएन। फिल्मले मिश्रित प्रतिक्रिया पायो। दर्शकको उपस्थिति पनि अपेक्षा गरिए जस्तो भएन। 

फिल्म पूरा नहुँदै मध्यान्तरमै निस्किनेहरू पनि भेटिए, दर्शक कम भएर शो नचल्ने भएपछि शो चल्नका लागि काटिनुपर्ने टिकट एकैजनाले काटेर हेरेको पनि देखियो। फिल्म यति सुस्त छ कि हेर्दाहेर्दै निदाइन्छ भन्ने प्रतिक्रिया पनि आयो, ओहो कस्तो राम्रो गतिको फिल्म भनेको पनि सुनियो। 

शुरुदेखि अन्तिमसम्म गाडीको गाडीमा यस्तो पनि फिल्म हुन्छ? भनेर पनि सोधे। आहा शुरुदेखि अन्तिमसम्म गाडीमा यस्तो पो फिल्म हुन्छ भन्नेहरू पनि आए। सुदूर पश्चिमको कथा खोइ? भन्ने कुरा पनि आयो। अब कथा सुदूर पश्चिमको मात्र नभएर सबैको बराबर भयो भन्ने कुरा पनि आयो। 

'चिसो मान्छे' कोरोना कालको समय बोल्ने पहिलो नेपाली फिल्म हो भन्दा फरक नपर्ला। घोलक कोरोना कालको परिवेश र घुलित कथाको घोल 'चिसो मान्छे' हो। पुष्पाको कथा, अशोकको कथा, बाउको कथा, चिसा मान्छे अनि चिसो समाजको कथा यस फिल्मका अन्य घुलित पदार्थ हुन्। जसको सन्तुलित घोल बनाउनु फिल्मका लेखक, निर्देशक तथा छायांकार दीपेन्द्र के खनालको लागि एउटा लक्ष्य थियो। 

फिल्मका लेखक तथा निर्देशकले साेचेअनुसार जनरा हेरी, फिल्म जस्तो सन्तुलित घोल हुनुपर्थ्याे‚ त्यो नभएको हुन सक्छ। तर खनालले नेपाली दर्शकलाई नयाँ स्वाद भने दिएका छन्। त्यसका लागि मेहनत पनि गरेका छन् जसमा शंका गर्नुपर्दैन। उनको यो इमानदार प्रयासलाई स्वागत गर्नुपर्छ। 

फिल्म गाडीको टायरबाट शुरु हुन्छ, गाडीको टायरबाटै सकिन्छ। फिल्म गुडाइरहेका टायर बीचमा पन्चर हुन्छ, फेर्नुपर्छ। फिल्ममा गाडीलाई पनि एउटा पात्र मान्न सकिन्छ। गाडी र टायरलाई फिल्ममा महत्त्वपूर्ण भूमिका दिइएको छ। 

फिल्मका केही दृश्य छन् जस्तो गाडीका तीनवटा टायर पञ्चर भएपछि टायरबिनाको गाडी, बाउ र छोराको लास एक ठाउँमा हुने, पुष्पा र अशोक टायरको व्यवस्था गर्न पहिले आएकै बाटो फर्केर जाने, घाम र पहाड छोइन लाग्ने, दुई हात छोइन लाग्ने, पिङ खेल्ने, नदी किनारमा एक्लै नाच्ने, बाकसमा रहेकाे श्रीमान्‌काे लास हेरी बस्ने, अशाेकलाई हेर्ने, घाटीकाे पाेते चुँडाल्ने दृश्यमा जसरी कम बोलेर पनि बोल्नुपर्ने कुरा बोलेको छ त्यो फिल्मको सबैभन्दा सुन्दर पक्ष हो। 

अर्को कुरा फिल्म यात्रामा आधारित छ। काठमाडौंदेखि बाजुरासम्मको। गाडीमा पुष्पा, अशोक र पुष्पाको ससुरा छन् अनि पछाडि पुष्पाका श्रीमान्‌को लास छ। काठमाडौंदेखि बाजुरा भनेको लामो दूरी हो। लामो दूरीको यात्रा गर्दा केहीलाई गाडीमा निदाउने बानी हुन्छ भने केही सकेसम्म निदाउँदैनन्। बाहिर हेर्छन्, गीत सुन्छन्, केके सोची बस्छन्। 'चिसो मान्छे' हेर्न टिकट काटेर हल भित्र छिरिसकेपछि फिल्मको कथासँग बग्न सकिएन भने फिल्म त्यो २ घण्टासम्म गाडी कुदेको बाहेक केही देखिँदैन। बसी बसी थकाइ लाग्छ, निद्रा लाग्छ। 

धेरैले भाषा बुझिएन, सबटाइटल भए पनि राख्नुपर्ने भनेर पनि भनेका छन्। अनि फिल्ममा उसै पनि त्यति धेरै संवाद छैन, अलिकति कनेक्ट भइयो भने भाषा नबुझे पनि ती पात्रले भन्न खोजेको कुरा पनि बुझिन्छ, खनालले जे गरे सोचेर गरे, ठिक गरे भन्नेहरू पनि छन्। 

फिल्मले बक्स अफिसमा भयंकर कलेक्सन गरेको छैन। यस्तो हुन सक्छ भन्ने निर्माण टोलीलाई पहिले नै थाहा थियो होला। हरेक फिल्मको सफलता असफलता त्यसको बक्स अफिस कलेक्सनले मात्र निर्धारण गर्दैन। तत्कालीन परिदृश्यमा केही फिल्मको महत्त्व त्योभन्दा अलिक माथी हुन्छ। जस्तो 'चिसो मान्छे'ले नेपाली दर्शकलाई एउटा फरक स्वाद दिन खोजेको छ, कलाकारले, निर्देशकले मेहनत गरेका छन्, त्यतिवेलाको समय देखिने गरी एउटा फिल्म बनेको छ। जसले नेपाली फिल्म उद्योगलाई पहिलेको तुलनामा बलियो नै बनाएको छ। सुधार्नुपर्ने कुरा, छुटेका कुरा त सधैँ हुन्छन् नै।

यहाँ फिल्मको समीक्षा गरिएको छैन। किनकी यो समीक्षा होइन। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.