|

बागलुङ : जिल्लाको बागलुङ बजारको ढल व्यवस्थापन नहुँदा कुरुप बनेको छ। हरेक वर्षातको समयमा नाली थुनिएर बजार जलमग्न हुने गर्छ।

बजार क्षेत्रको ढललाई शुद्धीकरण गरेर नदीमा मिसाउने गरी तीन वर्ष अघिदेखि बजेट आउन थालेको छ। बजेट आउन थाले पनि ढल निकास परियोजना अहिलेसम्म अघि बढ्न सकेको छैन।

आर्थिक वर्ष २०७७-०७८ मा ठेक्का प्रक्रियामा लैजानका लागि संघीय सरकारको खानेपानी तथा ढल निकास विभागले बजेट विनियोजन गरे पनि हालसम्म आयोजना अगाडि बढेको छैन।

बागलुङ बजारमा उत्पादन भएको ढललाई संकलन गरी प्रशोधन गरेर नदीमा मिसाउने, प्रशोधन केन्द्रबाट कम्पोष्ट मल निकाल्ने गरी ल्याइएको कार्यान्वयनमा नजादा वर्षेनी बजेट फ्रिज हुँदै आएको छ।

कहिले विस्तृत अध्ययन प्रतिवेदन निमिल्दा त कहिले प्रशोधन केन्द्रको जग्गा अभावका कारण लगातार तीन आर्थिक वर्षका लागि बजेट विनियोजन हुँदासमेत कार्यान्वयनमा जान सकेको छैन।

बजार क्षेत्रमा रहेको अव्यवस्थित ढलको व्यवस्थापन र कालीगण्डकी नदीमा बढ्दो प्रदूषणलाई रोक्नका लागि व्यवस्थित ढल निकासको काम गर्नका लागि बागलुङ नगरपालिका र ढल निकास विभागको चासोमा ढल निकासको योजना बनेको थियो।

बागलुङ बजारमा व्यवस्थित ढल नभएकाले बजार दुर्गन्धित हुने र घरमा उत्पादन भएको पानीसँगै शौचालय समेत ढलमा मिसाइँदा नदी प्रदूषित भएका कारण व्यवस्थित ढल निर्माणको योजना बागलुङ नगरपालिकाले ल्याएको थियो। ढल परियोजनामा प्रत्येक घरको शौचालयबाट उत्पादन भएको फोहोरलाई एकिकृत गरी शुद्धिकरण गरेर नदीमा मिसाइने योजना छ।

बहुवर्षे योजनामा समावेश भएको ढल निकास परियोजनाको कुल लागत झण्डै एक अर्ब रहेको डिपिआरमा उल्लेख छ।

आर्थिक वर्ष २०७७-७८ मा उक्त परियोजना शुरु गर्नका लागि १२ करोड र आर्थिक वर्ष २०७८-०७९ मा २० करोड विनियोजन भएको थियो। उक्त परियोजना ठेक्कामा जान नसक्दा उक्त बजेट फ्रिज भएको छ।

परियोजना निर्माणका लागि आगामी आर्थिक वर्ष २०७९-०८० मा समेत १९ करोड बजेट विनियोजन भएको संघीय सांसद डा. सूर्य पाठकले बताए।

गलुङ नगरपालिकाले ल्याएका योजनामध्ये सबैभन्दा ठूलो योजना हो यो। अहिले नयाँ जनप्रतिनिधि आइसकेपछि भने बागलुङ नगरपालिकाले परियोजनाको चासो देखाइरहेको छ।

बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले आगामी आर्थिक वर्षबाट बागलुङ बजार ढल निकास परियोजना ठेक्कामा गएर कार्यान्वयन हुने बताउँछन्।

‘तीन वर्ष पहिलेदेखि आएको योजना हो, तर अहिलेसम्म कार्यान्वयनमा गएको थिएन, अब भने डिपिआर लगभग अन्तिम चरणमा पुगेको भन्ने बुझेको छु’ उपप्रमुख खड्काले भने ‘बागलुङ बजारको ढल शुद्धिकरणसँगै पवित्र कालिगण्डकी नदिमा ढललाई शुद्धिकरण गरेर मात्रै मिसाउने कार्यले बजारलाई शुन्दर र बातावरणमा समेत सकारात्मक प्रभाव पार्नेछ।’

डिपिआर अन्तिम चरणमा पुगेका कारण अर्थिक वर्ष २०७९-८० मा निर्माण प्रक्रिया सुरु हुने संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, म्यादी कार्यालयका प्रमुख कुल प्रसाद पौडेलले जानकारी दिए। बागलुङ, म्याग्दी र मुस्ताङ जिल्लाको खानेपानी र ढल निकासको योजना हेर्नेगरी म्याग्दीमा स्थापना भएको कार्यालयले ढल निकास परियोजनालाई प्राथमिकताका साथ अगाडि बढाउने भएको छ।

‘नगरपालिकाले जग्गा उपलव्ध बनाउने प्रतिबद्धता गरेको छ, त्यहीअनुरूप जग्गा व्यवस्थापन भए एक वर्ष भित्रै कार्यान्वयनमा जान्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.