|

म्याग्दी : मध्य असार हुनै लाग्दा पनि मल र पानीको अभावले म्याग्दीका किसानले धान रोपाइँ गर्न सकेका छैनन्। धान रोप्ने बेलासम्म पनि पर्याप्त पानी नपरेको र रासायनिक मल नपाइएकोले किसानहरु समस्यामा परेका हुन्।

 व्याडमा बिऊ हुर्केर छिप्पिन लागेको छ, रोपाइँका लागि पर्याप्त पानी पनि परेको छैन,रासायनिक मल पनि बजारमा अझै पाइएको छैन, विमिराबोटका किसान नारायण सापकोटाले भने ‘मल पनि पाइँदैन,पानी पनि आउँदैन, के गरेर रोपाइँ गर्ने हो?’

यस्तै, अर्को किसान सुरेन्द्र थापा पनि मल र पानी पर्खेर बसेको बताउछन्।  ‘हामी किसानले वर्षैपिच्छे मल अभाव झेल्नुपरे पनि अहिलेसम्म सरकारका जिम्मेवार पदमा रहेकाहरुले दीर्घकालीन समाधान खोजेका छैनन्। सरकारले मल दिँदैन,समयमा पानी पनि पर्दैन, जताततैबाट किसान मारमा परेका छौं।’

जिल्लामा रोपाइँ हुने क्षेत्रफलका आधारमा वार्षिक करिब २५ हजार मेट्रिक टन मल आवश्यक पर्ने कृषि प्राविधिकहरुले बताएका छन्। धान बालीका लागि कम्तिमा १२ हजार मेट्रिकटन मल चाहिने भए पनि  धान रोपाइँकै समयमा जिल्लामा मल अभाव भएको किसानहरुले बताएका छन्।

जिल्लाका माथिल्लो भेगका केही फाँटमा असारको पहिलोहप्तादेखि नै बिना मल रोपाइँ सुरु भएको भए पनि अहिले पानीको समस्याका कारण अरु ठाउँमा रोपाइँ हुन सकेको छैन। ‘रोपाइँका लागि खेत तयारी अवस्थामा राखेका छैं, बीउ, बढेर काम नलाग्ने हुन लागिसक्यो,मल पनि पाइँदैन,पानी पनि आउँदैन, आकाश हेर्दै बस्नु बाहेक हामीसँग अर्को विकल्प रहेन’ बगरफाँटका कृषक मनबहादुर रेग्मीले बताए।

जिल्लाका उपल्लो क्षेत्रमा फाट्टफुट्ट रोपाइँ भएको छ तर,तल्लो भेगमा पानी र मलको अभावका कारण रोपाइँ हुन नसक्दा यस वर्ष धान उत्पादनमा कमी आउनसक्ने किसानहरुको भनाइरहेको छ।

मलको अभावमा यस वर्ष मकै खेती पनि राम्रो नभएको र धान रोप्ने समयमा पनि पानी नपरेकोले विना मल धान रोप्न खोज्दा पनि पानीको अभावमा  किसानहरुले रोपाइँ गर्न नपाएका कृषक भीमबहादुर रिजालले बताए।

म्याग्दीमा कुल खेतीयोग्य जमिनको ६३ प्रतिशत जमिनमा धान रोपाइँ हुने गरेको छ। यहाँको उत्पादनले मुस्किलले ६ महिना खान पुग्छ भने बाँकी ६ महिना बाहिरबाट आयातित खाद्यान्नको भरपर्नु पर्ने बाध्यता रहेको छ।

‘नेताहरुले सधैं कृषिलाई औद्योगिकीकरणतिर लैजाने बताउँछन् तर किसान मल र सिँचाइको समस्यामा अल्झिन बाध्य छन्’ कृषक रिजालले भने।

‘देशमा ११७ प्रतिशत महँगी बढेको छ,किसानले उब्जाउ गरेको तरकारी,फलफूल र खाद्यान्नमा विचौलियाहरुले फाइदा लिएका छन्’ बेनी बजारको न्यूरोडमा पुस्तक व्यवसाय संचालन गर्दै आएका लिलाराम गौतमले भने ‘न किसानले समयमा नै मल बीऊ पााउँछन्, न विद्यार्थीले समयमा नै पाठ्यपुस्तक, यस्तो अवस्था कहिलेसम्म रहनेहोला ?’

यसैगरी पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्धिले किसानहरु थप समस्यामा परेका छन्। मुख्य बाली लगाउने समयमा मिनिटेलरका लागि तेल खरिद गर्न पनि समस्या भएको र रोपाइँका लागि गोरु नहुँदा चर्को मूल्य तिरेर मिनिटेलरबाट रोपाइँ गर्नुपरेको किसानहरुको गुनासो छ।

प्रतिघण्टा रु १ हजारदेखि १२ सय रुपैयाँ तिरेर मिनिटेलरले खेत जोत्नु पर्ने समस्या भएको किसान धनबहादुर घिमिरेले बताए। ‘गोरु छैनन्, पानी आए मल नहालीकन भए पनि रोपाइँ गर्ने विचार छ तर, तेलको भाउ बढेकाले मिनिटेलरले १ घण्टाको १२ सय रुपैयाँ लिन्छन्,यस्तो चर्को मूल्य तिरेर रोपाइँ गरेर किसानलाई केही फाइदा नै हुँदैन’ घिमिरेले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.