|

भोजपुर : भोजपुरका नौमध्ये आठवटा स्थानीय तहले बजेट नीति तथा कार्यक्रम ल्याउँदा षडानन्द नगरपालिका भने असफल बनेको छ। शुक्रबारका लागि तयार गरिएको नगरसभा सत्तागठबन्धन दलका कार्यपालिका सदस्यहरूले बहिष्कार गरेपछि स्थगित भएको हो। उपप्रमुख प्रमिला राईसहित १३ जना कार्यपालिका सदस्यले नगरप्रमुखलाई पत्र लेखेर सभा बहिष्कार गरेका हुन्।

उनीहरूले पर्याप्त छलफल तथा परामर्श नगरी नगरसभा बोलाएको, विषयगत समितिको टुङ्गो नलगाएको, टोल तथा वडाको योजना तर्जुमा नगरिएको, बजेटको सिलिङ नबनाई नगरसभा बोलाएको लगायत कुरामा असन्तुष्टि जनाएर सभा बहिष्कार गरेको उल्लेख गरेका छन्।

यता नगरप्रमुख सुरेन्द्रकुमार उदासले भने नियोजित रूपमा गठबन्धनका कार्यपालिका सदस्यहरूले सभा बहिष्कार गरेको बताएका छन्। आफूलाई काममा बाधा पुर्‍याउने गलत मनसायले कार्यपालिका बैठक लगायत पटक पटक बोलाएको बैठकमा समेत अनुपस्थित हुने गरेको उदासको भनाइ छ।

उपप्रमुखको संयोजकत्वमा रहेको स्थानीय राजस्व परामर्श समितिले आन्तरिक आयको अनुमान गरेर बजेट प्रक्षेपण नगरेका कारण बजेट ल्याउन नसकेको उदासले जानकारी दिए।

प्रमुख उदासले भने, ‘असार १० मा बजेट ल्याउने संवैधानिक व्यवस्था भए पनि उहाँहरूले बहिष्कार गरेका कारण हामीले बजेट तथा नीति कार्यक्रम ल्याउन सकेनौँ। खासमा राजस्व परामर्श समितिले आन्तरिक आय अनुमान नगरीकन बजेटले पूर्णता पाउँदैन। त्यसो भएपछि वडा परिषद् गर्न, विषयगत समितिलाई अधिकार प्रदान गर्न समस्या हुन्छ। उपप्रमुखले राजस्व परामर्श समितिको हालसम्म बैठक बोलाउनु भएको छैन।’

आन्तरिक आएको अनुमान नगरी मेयरको संयोजकत्वमा गठन हुने स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिले बजेटको बाँडफाँड गर्न नसकेको प्रमुख उदासको भनाइ छ। समिति गठनमा कुनै पनि पूर्वाग्रह नराखी काम गर्दा पनि काममा बाधा पुर्‍याएको उदासले जानकारी दिए।

‘यहाँ हलो अड्काएर गोरु चुट्ने प्रवृत्ति देखिएको छ। मैले कुनै पनि काममा हस्तक्षेप गरेको छैन। उहाँहरूलाई धेरै पटक मैले छलफलमा बोलाएँ‚ आउनु हुन्न। स्रोतको अनुमान गर्नुपर्ने त्यो काम पनि उपप्रमुखले गरेको अवस्था छैन। उहाँले त्यो काममा ढिला गर्दा नगरका धेरै काममा प्रत्यक्ष बाधा पुगेको छ। यो विषयमा यहाँका जनताले बुझ्न आवश्यक छ। म जनताको काम गर्न आएको मान्छे हुँ तर मलाई चौतर्फी घेराबन्दीमा पारेर असफल बनाउने प्रयास भएको छ। मैले आफ्नो अधिकारलाई समेत प्रयोग गर्ने अवस्था छैन’‚ प्रमुख उदासले भने।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.