‘प्रदेश संरचना खारेज गरे संघीयता संस्थागत हुन्छ’

|

धनगढी : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संघीयतालाई संस्थागत गर्न संघीय प्रणालीमा सुधार गरेर अघि बढ्नुपर्ने बताएका छन्। 

शनिबार धनगढीमा आयोजित ‘जनताका माझमा राप्रपा नेपाल, वर्तमानका चुनौती र विकल्प’ नामक बृहत् अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने,  ‘अहिले संघीय स्वरूपलाई सुधार गरेर अघि बढ्न आवश्यक रहेको छ। 

संघीय सरकारलाई बलियो बनाउँदै स्थानीय तहलाई बढीभन्दा बढी अधिकार दिएर दुई तहको सरकार बनेमा संघीयतालाई थप संस्थागत हुने उनको दाबी छ। 

उनले व्यक्तिको इमानदारी र लगनशीलतामा कमीका कारण संविधानले स्थायित्व पाउन नसकेको बताए। प्रदेश संरचना खारेज गर्नुपर्ने उनको भनाइ छ। 

यस्तै, उनले अब कुनै पनि पार्टीसँग आफू एकता नगर्ने बताए। राप्रपाबाट छुट्टिएर अलग पार्टीको संगठन विस्तारमा रहेका अध्यक्ष थापाले अन्य पार्टीसँग एकता गर्दा विचार, सिद्धान्तमा विकृति र विसंगति बढ्ने भन्दै अब कसैसँग पार्टी एकता नहुने प्रष्ट पारे। 

राप्रपा नेपाल फरक विचार, मार्गदर्शन र देशको वैकल्पिक पार्टीका रूपमा स्थापना भएको उनको दाबी छ। पार्टीभित्रको गलत वैचारिक प्रवृति, विकृति र विसंगति समाधान प्रयास गर्न खोज्दा पनि सुझाव नमानेपछि राप्रपाबाट टाढिएर अलग पार्टी स्थापना गरेको बताए। 

उनले आगामी निर्वाचनमा राप्रपा नेपाल देशको राष्ट्रिय पार्टी बन्ने पनि दाबी गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.