‘दलित किरियापुत्री प्रतीक्षालय’ बनाउने भएपछि  सर्वत्र आलोचना

|

दोलखा : तामाकोशी गाउँपालिकाले दलितका लागि छुट्टै ‘दलित किरियापुत्री प्रतीक्षालय’ निर्माण गर्न बजेट विनियोजन गरेको छ।

पालिकाले शुक्रवार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/०८० को बजेटमा दलितका लागि छुट्टै किरियापुत्री प्रतीक्षालय निर्माण गर्न २ लाख रुपैयाँ बजेट विनियोजन गरेको हो।

गाउँपालिकाको वडा नम्बर–५ शहरेमा परेका १९ वटा योजनामध्ये दलित किरियापुत्री प्रतीक्षालय निर्माण गर्न बजेट परेपछि दलित र गैरदलित सबै पक्षबाट चाैतर्फी आलोचना भएको छ।

पालिकाले जातीय रुपमा विभेद गर्न खोजेको भन्दै आलोचना भएको हो।

प्रस्तुत गरिएकाे बजेटका सन्दर्भमा वडा अध्यक्ष शम्भु फुयाँलले आफ्नो फेसबुकमार्फत वडामा परेका योजना सार्वजनिक गरेपछि १९ वटा योजनामध्ये १५ औँ नम्बरमा ‘दलित किरियापुत्री प्रतीक्षालय’ उल्लेख भएकाे देखिएकाे छ।

वडा अध्यक्षले सार्वजनिक गरेका योजनामा ‘दलित किरियापुत्री प्रतीक्षालय’ बनाउन बजेट विनियोजन गरेको देखेपछि स्थानीय दलित समुदायका अगुवा दिलिप सुन्दासले असन्तुष्टी व्यक्त गर्दै फेसबुकमा लेखेका छन्, 'तिमीले बधाई, शुभकामना दिएको नवनिर्वाचित जनप्रतिनिधिको प्रतीक्षालय देख्यौ होला नि! मलाई कसैसँग आशा छैन अब, समाज कता लैजाँदैछौ?'

त्यसैगरी दलितका लागि अहिले छुट्टै प्रतीक्षालय आयो। भोलि छुट्टै स्कुल, छुट्टै शौचालय, छुट्टै अस्पताल ल्याउने ? भन्दै स्थानीयले प्रश्नसहितको आलोचना गरेका छन्।

विरोधपछि यस बिषयमा गाउँपालिका अध्यक्ष प्राेणप्रताप केसीले दलित समुदायमा बनाउन लागिएकाे किरियापुत्री प्रतीक्षालय भएकाले साेही अनुसार बुझिदिन, भन्दै प्रतिक्रिया दिएका छन्।

वडा अध्यक्ष फुयाँलले फेसबुकबाटै गल्ती स्वीकार गरेर उक्त प्रतीक्षालयको नाम ‘साउने पँधेरो किरियापुत्री प्रतीक्षालय’ राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

नेपालको संविधान र कानुनले जातीय रुपमा समानता कायम गर्न खोजेपनि यस्ता घटनाबाट जननिर्वाचित जनप्रतिनिधिहरुले नै विभेदलाई बढावा दिन खोजेको सामाजिक अगुवाहरुको विश्लेषण छ।

शुक्रबारको गाउँसभामा पेश गरिएको आगामी आर्थिक बर्षको बार्षिक बजेट तथा नीति कार्यक्रम सबैले हेर्न मिल्ने गरी हालसम्म वेबसाइटमा सार्वजनिक गरिएको छैन्।

गाउँपालिकाका सूचना प्रविधि अधिकृत पवनराज फुयाँलले सभामा प्रस्तुत भएको बजेटमा केही त्रुटी हुनसक्ने भएकोले सच्याएर आईतबार वेबसाइटमा सार्वजनिक गरिने जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.