|

धनगढी : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सङ्घीयतालाई संस्थागत गर्न सङ्घीय प्रणालीमा सुधार गरेर अघि बढ्नुपर्ने बताएका छन्। प्रदेश संरचना खारेज गर्नुपर्ने उनको भनाइ छ।

शनिवार धनगढीमा आयोजित ‘जनताका माझमा राप्रपा नेपाल, वर्तमानका चुनौती र विकल्प’ नामक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘अहिले सङ्घीय स्वरूपलाई सुधार गरेर अघि बढ्न आवश्यक रहेको छ’, उनले भने, ‘सङ्घीय सरकारलाई बलियो बनाउँदै स्थानीय तहलाई बढीभन्दा बढी अधिकार दिएर दुई तहको सरकार बनेमा सङ्घीयता थप संस्थागत हुन्छ।’

उनले व्यक्तिको इमानदारिता र लगनशीलतामा कमीका कारण संविधानले स्थायित्व पाउन नसकेको बताए।

यस्तै उनले अब कुनै पनि पार्टीसँग आफू एकता नगर्ने बताए। राप्रपाबाट छुटिएर अलग पार्टीको सङ्गठन विस्तारमा रहेका अध्यक्ष थापाले अन्य पार्टीसँग एकता गर्दा विचार, सिद्धान्तमा विकृति र विसङ्गति बढ्ने भन्दै अब कसैसँग पार्टी एकता नहुने बताएका हुन्।

राप्रपा नेपाल फरक विचार, मार्गदर्शन र देशको वैकल्पिक पार्टीका रूपमा स्थापना भएको उनको दाबी छ। उनले पार्टीभित्रको गलत वैचारिक प्रवृत्ति, विकृति र विसङ्गति समाधान प्रयास गर्न खोज्दा पनि सुझाव नमानेपछि राप्रपाबाट टाढिएर अलग पार्टी स्थापना गरेको बताए। उनले आगामी निर्वाचनमा राप्रपा नेपाल देशको राष्ट्रिय पार्टी बन्ने पनि दाबी गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.