|

धनगढी : संघीय मन्त्रिपरिषद् बैठकले गत चैतमा प्रस्तावित गेटा मेडिकल कलेज सञ्चालनका लागि अस्पताल निर्देशक तोक्ने निर्णय गरेको थियो।

सोही निर्णयका आधारमा संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डाक्टर प्रमोद जोशीलाई मेडिकल कलेजको अस्पताल निर्देशकका रुपमा सरुवा गरेको छ।

संघीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्माण थालेका संरचनामा उपकरण जडान, जनशक्ति व्यवस्थापन तथा सञ्चालनका लागि जोशीलाई निर्देशकको जिम्मेवारी दिइएको हो। मेडिकल कलेज पूर्वाधार विकास समितिका निर्देशक हेमराज पुजाराले उक्त समितिले अस्पतालका उपकरण र जनशक्तिको व्यवस्थापन गर्ने बताए।

‘अस्पताल भित्रको धेरै काम बाँकी छ,’ उनले भने, ‘ग्यासको सिस्टम मिलाउनु पर्ला। अस्पतालमा बेडहरु, ल्याबका सामान, फर्निचर राख्ने धेरै कुराहरु छन्। ६/८ महिना अझै लाग्छ। सबैभन्दा ठूलो जनशक्तिको कुरा पनि छ।’ मेडिकल विश्वविद्यालय सञ्चालनको माग गरिएको गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्ने योजना नेपाल सरकारको छ।

मेडिकल कलेजका रुपमा तीन सय शय्याको अस्पताल सञ्चालन गर्ने तथा प्रतिष्ठानको ऐन तयार गरेर सोही प्रारुपमा स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षा प्रदान गर्ने तयारी भइरहेको हो। तर निर्देशक तोकेको संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अन्य जनशक्ति तथा अस्पतालका उपकरण जडानका लागि आवश्यक प्राविधिकको भने टुङ्गो लगाएको छैन।

त्यसका लागि संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बजेटको व्यवस्था नभएको बताएको छ। बजेटको अभावका कारण अस्पतालका लागि आवश्यक उपकरण तथा जनशक्ति व्यवस्थापनमा समस्या हुने देखिएको हो।

गेटामा निर्माण गरिएका संरचनामा अस्पताल सञ्चालनका लागि शय्या, अक्सिजन, शल्यक्रिया कक्ष, ओपीडी, आकस्मिक कक्षको निर्माण तथा उपकरण जडान गर्न बाँकी छ। अस्पतालको पानी तथा ढल व्यवस्थापनको काम पनि बाँकी छ।

अस्पताल सञ्चालन र बाहिरी भौतिक संरचना निर्माणको फरकफरक समिति हुनेछन्। तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालका लागि आवश्यक भौतिक संरचना जडानका लागि बजेटको व्यवस्थापन पनि गरेको छैन। कर्मचारी र बजेटको व्यवस्थापन भए झण्डै ८ महिनामा अस्पताल सञ्चालन गर्न सकिने मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका निर्देशक पुजाराले बताए।

कैलालीको गेटामा सुरुमा तीन सय शय्याको अस्पताल सञ्चालनको तयारीमा नेपाल सरकार छ। तर ६ सय शय्या तथा स्वास्थ्य शिक्षाका लागि आवश्यक उपकरण तथा भौतिक संरचना र जनशक्तिको व्यवस्थापन गर्नुपर्ने छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.