|

काठमाडौं : लोक गायिका दिलमाया सुनार आफ्नो डेरामा मृत फेला परेकी छन्। सुर्खेत स्थायी घर भएकी ३० वर्षीय सुनार शनिबार काठमाडौं त आफ्नो डेरामा मृत फेला परेकी हुन्। 

घटनाको अनुसन्धानको क्रममा प्रहरी वृत्त बालाजुले एक जनालाई नियन्त्रणमा लिएको छ। शनिबार बिहान सुनारको कोठामा पुगेका व्यक्तिलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको हो। 

लामो समयदेखि लोक संगीतमा सक्रिय सुनारका केही गीत सार्वजनिक छन् भने उनी लाइभ दोहोरीबाट लोकप्रिय भएकी थिइन्। सुनारको गत वर्ष सार्वजनिक भएको देउसी भैलो गीत धेरैले मन पराएका थिए। 

सुनारले शुक्रबार राती आफ्नो फेसबुकमा केही रोइरहेको टिकटक सहित लामो भावुक स्टाटस पनि लेखेकी थिइन्। आफ्नी आमा, दिदी बहिनी, छोरालाई सम्झिँदै माफी मागेकी थिइन्। साथै आफूसँग पैसा नभएकाले आफ्नो पोस्टमार्टम पनि नगर्न उनले अनुरोध पनि गरेकी थिइन्। यो आत्महत्या हो की हत्या भन्ने विषयमा भने प्रहरीले अनुसन्धान गरिरहेको छ। 

यस्तो छ उनले लेखेको नोट

नमस्कार सबै जनामा र मिठो सम्झना छ। जिन्दगीको उचारचढाव धेरै भोगेँ। तर जब म जान्ने भए अनि म एक्लो भएँ। र कसैको माया माया पाउन जति कोसिस गरे पनि सकिनँ। तर पनि हार खाइनँ। तर ऐले धेरै गाह्रो भयो। म बाँचेर पनि दिनदिनै मर्न सकिनँ। आमा तिम्री छोरी धेरै थाकिछे। जिन्दगीको मोडमा धेरै अप्ठेरा आए। पार पनि गरेँ। जसलाई राम्रो गर्छु भने पनि भएन।

म कहाँ जाऊ आमा? दु:ख पोख्न माइती आउँ भने तिमीलाई सबै कुरा थाहा छ। म भित्रभित्रै मरेर बाचेछु। आमा म नभएर के भो त चार बहिनी छोरी छन्। मन बुजाउनू, नरुनू। छोरा तिमीलाई धेरै पढाउन मन र ठूलो मान्छे बनाउन मन थियो, सकिनँ। तिमी जसरी भए पनि ठूलो मान्छे बन्नु है। म नभए ता पनि मेरो आशिर्वाद् सधैँ तिमिसित हुनेछ।

बहिनी हर्ष आमालाई गाली नगर्नू अनि आमा बाँच्दासम्म मेरो कमी हुन नदिनू।  मेरो गीत जहाँ छ जति छ बजारमा ल्याइदिनू जसले भए पनि। म थाकेँ। धेरै थाकेँ। अब म बाँच्न सक्दिनँ। यो दुनियाँ धेरै स्वार्थी छ।

म आफ्नो इच्छाले यो कदम उचालेकी छु। कसैलाई दोष छैन। कसैले खोजी नीति पनि नगर्नू  र  मलाई पोष्टमार्टम पनि नगर्नू, मसित पैसा छैन। मसित थोरै सुन छ। त्यो सुन बेचेर मेरो छोरालाई दिनू। घरबेटीहरूलाई कसैले केही नगर्नू। अरसलाई पनि कसैलाई केही नगर्नू। मेरो लास जसरी हुन्छ घरसम्म पुर्‍याइदिनू। अफ्ठेरोमा मेरो छोरालाई हेर्दिनू। छोरा चिन्ता नगर्नू है।

यही सम्झिनू मेरो आमा सानैमा मरेको हो भनेर मन बुझाउनू। सबैले मलाई कायर भन्नुहुन्छ होला र मलाई बाँच्न अति गाह्रो भयो। कति बेला के हुन्छ थाहा छैन मेरो जीवन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.