|

काठमाडाैं : शुक्रबार राति साढे १२ बजे दिलमाया सुनारको फेसबुकबाट आधा दर्जन टिकटकसहित एउटा लामो स्टाटस सार्वजनिक हुन्छ। जसको अन्तिम पाँच हरफमा लेखिएको हुन्छ, 'यो दुनियाँ धेरै स्वार्थी छ। म आफ्नो इच्छाले यो कदम उचालेकी छु र कसैलाई दोष छैन। कसैले खोजी नीति पनि नगर्नु। मलाई पोस्टमार्टम पनि नगर्नु, मसित पैसा छैन। थोरै सुन छ, त्यो बेचेर पैसा मेरो छोरालाई दिनु। घरबेटीहरूलाई कसैले केही नगर्नु। अरसलाई पनि कसैले केही नगर्नु र मेरो लास जसरी हुन्छ घरसम्म पुर्‍याइदिनु। अप्ठ्यारोमा मेरो छोरालाई हेरिदिनु। 

छोरा, चिन्ता नगर्नु है। मेरी आमा सानैमा मरेको हो भनेर मन बुझाउनु। सबैले मलाई कायर भन्नुहुन्छ होला। तर मलाई बाँच्न अति गाह्रो भयो। कति वेला के हुन्छ थाहा छैन मेरो जीवन र..'

सुसाइड नोट जस्तो देखिने स्टाटससँग सार्वजनिक गरिएको टिकटक भिडियो पनि उस्तै मार्मिक छन्। दुईवटा भिडियोमा दिलमाया रोइरहेकी छन्। दुईवटा भिडियोमा उनकै दोहोरी गाइरहेको भिडियो छ। अन्य भिडियोमा पनि उनी जीवनदेखि विरक्तिएको देखिएकी छन्। 

शनिबार बिहानसम्म उनको स्टाटसले एउटा तरंग पैदा गर्‍यो। उनका नजिकका मान्छेले खोजी नीति गर्दै उनको डेरासम्म पुग्दा दिलमायाले संसार छोडिसकेकी थिइन्। उनको शरीर बिस्तारामा लडिरहेको थियो। 

लोकदोहोरी गायिकाको रूपमा चिनिन चाहेकी दिलमायाले लामो समय दोहोरी साँझमा दोहोरी गाइन्। सानै उमेरमा विवाह भएर, छोटो समयमै श्रीमान्‌सँग अलग्गिएर बसेकी उनी आफू र छोराको जीवन सहज बनाउने आशामा दुईपटक विदेश पनि गइन्। 

विदेशमा सोचे जस्तो काम र कमाइ नभएपछि उनले नेपाल आएर दोहोरी साँझमा काम गर्न थालिन्। अब बाँचुन्जेल यही पेशा गर्छु, आफू मरेपछि पनि बजिराख्नको लागि थोरै भए पनि गीत रेकर्ड गराउँछु भन्ने सोचेकी उनलाई कोरोनाका कारण भएको लकडाउनमा चरम आर्थिक संकट भएको थियो। 

लामो समयदेखि पाठेघर र मृगौलाको समस्यासँग जुध्दै आएकी उनी काठमाडौंमा एक्लै बस्थिन्। गत वर्ष लकडाउनकै समयमा बिमारले थला परेकी उनलाई केही व्यक्तिले आर्थिक सहयोग पनि गरेका थिए। धेरै वर्ष एक्लै बसेपछि पोहोर साल उनले दोस्रो विवाह गरेकी थिइन्। 

तर, विवाहपछि उनका श्रीमान्‌ले धेरै मानसिक तनाव दिने गरेको उनका नजिकका मान्छे बताउँछन्। विवाहपछि उनलाई काम गर्न पनि बन्देज लगाइएको थियो। पछिल्लो ६,७ महिनादेखि काम नगरी बसेकी उनले बीचमा पनि एकपटक आत्महत्याको प्रयास गरेकी थिइन्। 

प्रहरी घटनाको अनुसन्धानको क्रममा छ। शुक्रबार राति सार्वजनिक स्टाटस र भिडियोले आत्महत्याको संकेत गरे पनि दिलमायाको मोबाइल नभेटिनु, कोठाको चावी नभेटिनु, श्रीमान्‌ राति अबेरसम्म कोठामा देखिनु र लासको अवस्थाले यो हत्या पनि हुन सक्नेमा प्रहरीले अनुसन्धान गरिरहेको छ। 

दिलमायाले गत वर्ष तिहारमा राजु परियारसँग आफ्नो पहिलो गीत रेकर्ड गराएकी थिइन् भने केही महिनाअघि राष्ट्रिय लोकगीत प्रतिष्ठानमा आयोजनामा भएको दोहोरी प्रतियोगितामा दिलमाया उत्कृष्ट गायिकाको रूपमा पुरस्कृत भएकी थिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.