|

काठमाडौं : यतिवेला म्यानपावर व्यवसायीलाई आफ्नो लाइसेन्स जोगाउनै कठिन हुने देखिएको छ। सरकारले वार्षिक सयजना कामदार वैदेशिक रोजगारीमा पठाउने व्यवसायीको मात्र कम्पनी नवीकरण गर्ने भएसँगै २ सयभन्दा बढी व्यवसायीको कम्पनी नवीकरण नहुने अवस्था आएको वैदेशिक रोजगार विभागले जनाएको छ।

वैदेशिक रोजगार संशोधित ऐन २०७४ ले वार्षिक सयजनाभन्दा थोरै कामदार वैदेशिक रोजगारीमा पठाउने म्यानपावर कम्पनी नवीकरण नहुने व्यवस्था गरेको छ। 

गत वर्ष असार १४ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार कोरोना भाइरसका कारणले वैदेशिक रोजगार ऐन र नियमावलीको व्यवस्था कार्यान्वयन गर्न बाधा परेकाले आव ०७६/७७ र आव ०७७/७८ मा वार्षिक रूपमा न्यूनतम सय जना कामदार नपठाएका म्यानपावरको आव ०७८/७९ का लागि नवीकरण गराउन आएमा नवीकरण गर्न विभागलाई पत्राचार गरिएको थियो। 

२०७७ साल असार २९ गते मन्त्रिपरिषद्ले गरेको बाधा अड्काउ फुकाउ आदेशमा लगातार २ वर्षसम्म वार्षिक सयजना कामदार पठाउन नसकेका म्यानपावरलाई इजाजतपत्र नवीकरण गर्न दिने निर्णय गरेको थियो। यो निर्णय आव ०७८/७९ सम्म लागू हुनुपर्ने हो।

तर यो चालू आवमा पनि सयजना कामदार पठाउने म्यानपावरलाई मात्र विभागले इजाजतपत्र नवीकरण गर्ने भनेपछि व्यवसायीहरू विरोधमा उत्रिएका छन्।

हाल कोरोना महामारी नियन्त्रणमा आएकाले पुरानै प्रावधान अर्थात सयजनाभन्दा बढी कामदार पठाउने कम्पनी मात्र विभागले नवीकरण गर्ने भएको छ। विभागको तथ्यांकअनुसार ७ सय ५६ वटा म्यानपावर कम्पनीमध्ये २ सय ४८ वटाभन्दा धेरै म्यानपावरले सयजना कामदार वैदेशिक रोजगारीमा पठाउन सकेका छैनन्।

एकसय कामदार पठाउन नसक्ने व्यवसायीको इजाजत खारेज गर्ने भएको छ। कोरोना महामारीको प्रभाव घटेसँगै वैदेशिक रोजगारी लयमा फर्किएको छ। जसका कारण वैदेशिक रोजगार ऐनमा भएको व्यवस्थाअनुसार नै म्यानपावर कम्पनीले लाइसेन्स नवीकरण गर्न सूचनासमेत जारी गरिएको वैदेशिक रोजगार  विभागका महानिर्देशक शेषनारायण पौडेलले  जानकारी दिए। अब वैदेशिक रोजगार ऐनअनुसार नै अगाडि बढ्ने पौडेलको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.