|

जनकपुरधाम : धनुषामा एक महिलाको मृत्युपछि परिवारमा माइती र घरले आपसमा आरोप प्रत्यारोप लगाएका छन्।

जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्था निवासी नेहा देवीको निधनप्रति दुवै परिवारले आशंका व्यक्त गरेका छन्।

आइतबार बिहान घरको आँगनमा रहेको हातेकल छेउमा ढलेको अवस्थामा भेटिएकी नेहालाई उपचारार्थ जनकपुरधामस्थित जानकी हेल्थ केयर अस्पतालमा ल्याई पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।

महोत्तरीको गौशाला माइती भएकी उनको हत्या गरिएको हुन सक्ने माइती पक्षले आरोप लगाएको छ।

महोत्तरी गौशाला नगरपालिका वडा नम्बर २ का बासिन्दा नेहाका दाइ विजयकुमार साहले बहिनीको हत्या भएको दावी गर्दै घटनाको छानबिन गर्न माग गरेका छन्।

मृतकका श्रीमान्‌को भने बेग्लै पीडा छ। मृतक नेहाका श्रीमान् जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्थाका बासिन्दा विष्णुदेव साहले करिब ४ वर्षको वैदेशिक रोजगारपछि आफू गत चैतमा घर आएको बताए। आफू स्वदेश फर्किएपछि नेहाले आफूसँग नबस्ने भन्दै दैनिकजसो घरमा झैझगडा गर्ने गरेको बताए।

उनले आफूसँग राम्रो सम्बन्ध नरहेको अवस्थामा केही दिनअगाडि मात्र नेहाको पेटमा बच्चा रहेको सुन्दा आफूलाई आश्चर्य समेत लागेको जानकारी दिए।

आफूलाई पीडा हुने यस्तो समस्या सासू, ससुरा र जेठान सबैलाई सुनाएको र त्यसको कसैले कुनै सुनुवाइ नगरेको उनको भनाइ छ। नेहालाई उनका अभिभावकले माइती गौशाला लगेका थिए। गत शुक्रवार मात्रै उनका माइतीले कुर्था ल्याइपुर्‍याएको साहको भनाइ छ।

यस्तो अवस्थामा आफूमाथि गलत आरोप लगाइरहेको उनले दावी गरेका छन्।

उता नेहाको दाइले भने मृतकको पेटमा रहेको बच्चा कसको हो भन्ने पत्ता लगाउन प्रहरीलाई आग्रह गर्दै दोषीलाई कडा कारबाही गर्नुपर्ने बताए।

धनुषा प्रहरीले अस्पताल ल्याउनुअगावै नेहाको मृत्यु भइसकेकाले घटनाको छानबिन भइरहेको जानकारी दिएको छ।

शवको पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लग्ने तयारी भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.