|

काठमाडौं : विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आफूलाई संयुक्त राष्ट्रसंघभन्दा पनि अझ स्वायत्त निकायका रुपमा मान्छ। अर्थात संयुक्त राष्ट्र संघमा प्रभावशाली देशहरूको शक्ति हाबी हुन सक्छ तर विश्व फुटबलको सर्वोच्च निकाय फिफालाई कुनै पनि देशले दबाब दिन सक्दैन साथै कुनै देशका कानुनको अधिनमा राख्न सक्दैन।

त्यसैले हरेक देशका फुटबल संघको अन्तरराष्ट्रिय सम्बन्ध फिफाको निर्देशन र फिफाअन्तर्गतका निकायबाटै सञ्चालित हुन्छ। अर्थात नेपाली फुटबलको सर्वोच्च निकाय एन्फामा जोसुकै निर्वाचित भए पनि अन्तरराष्ट्रिय फुटबलको नियमनकारी निकाय फिफाको गाइडलाइनभन्दा बाहिर जान सक्दैन। 

यो प्रसंग यहाँ किन पनि आएको हो भने अहिले नेपाली फुटबलमा भोलन्टियर प्रशिक्षकका रुपमा एएफसीमार्फत कतार सरकारको सहयोगमा अब्दुल्ला अल-मुताइरी मुख्य प्रशिक्षक रहेका छन्। त्यसैले निर्वाचनअघि जतिसुकै ठूला कुरा गरे पनि पंकजविक्रम नेम्बाङले अन्तरराष्ट्रिय सम्बन्धलाई मध्यनजर गर्दै अल-मुताइरीविरुद्व सहजै निर्णय गर्न सक्दैनथे र सकेनन् पनि।

उनको हातमा सबै चिज हुन्थ्यो भने उनले पहिलो बैठकको पहिलो निर्णय जसरी क्लोज क्याम्पबाट हटाइएका खेलाडीलाई राष्ट्रिय टिममा बोलाउने भनेर गरे त्यसरी नै प्रशिक्षक बर्खास्तगीको निर्णय पनि गर्ने थिए।

प्रशिक्षकको विषयमा एन्फाले महासचिव किरण राईलाई ‘अन्तराष्ट्रिय सम्बन्धलाई ध्यानमा राख्दै छलफल गर्न’ निर्देशन दिएको छ। यसको अर्थ अल-मुताइरीलाई हटाउन अन्तरराष्ट्रिय परामर्श गरेर ग्रिन सिग्नल आएमा मात्र एन्फाले थप निर्णय गर्नेछ। यसका लागि राईले विदेश विभाग प्रमुखमा नियुक्त गरिएका नविन पाण्डेमार्फत प्रशिक्षक हटाउने विषयमा अन्तरराष्ट्रिय लबिङ गरिरहेका छन्‚ भलै अहिलेसम्म सार्थक परिणाम आएको छैन।

एन्फाको नयाँ नेतृत्वले आफू शक्तिमा आएसँगै अल-मुताइरीले राजीनामा दिने विश्वास लिएको थियो। तर कथा उसले भने जसरी अघि नबढ्दा अहिले एन्फालाई प्रशिक्षक अल-मुताइरी घाँडो बनेका छन्। तर अल-मुताइरीमाथि पनि नैतिक प्रश्न र दबाब त्यतिकै थियो र छ। अल-मुताइरी अहिले सामाजिक सञ्जालमार्फत एन्फाको नयाँ नेतृत्त्वको परीक्षण गरिरहेका छन्। अर्थात स्टाटस लेख्दै त्यसको प्रतिक्रिया हेर्दै डिलिट गर्दै केटाकेटीपन देखाउँदै यसमा रमाइरहेका छन्।

अल-मुताइरीको नैतिकता परीक्षण

अल-मुताइरीका ठाउँमा यदि कोही नेपाली प्रशिक्षक हुन्थ्यो भने आफूइतरको व्यक्ति नेतृत्त्वमा आउनासाथ राजीनामा दिन सक्थ्यो। अर्थात क्रिकेटमा तत्कालिन कप्तान पारस खड्काले समर्थन गरेको विनयराज पाण्डे नेतृत्व क्यानको निर्वाचनमा पराजित भएसँगै उनले सार्वजनिक नगरे पनि चतुरबहादुर चन्दलाई सजिलो बनाउन कप्तानबाट राजीनामा दिएका थिए‚ भलै उनी खेलाडी हुन्।

उनले त्यो नगरेको भए पनि कसैले केही भन्दैन थियो। उनले सार्वजनिक रुपमा व्यक्ति विशेषलाई आलोचना गरेका थिएनन्। तर उनले नैतिकता देखाउँदै क्यानको नेतृत्वलाई काम गर्न सहजता प्रदान गरे। विस्तारै उनले केही वर्ष सक्रिय खेल जीवन बिताउने अवसर हुँदाहुँदै संन्यास नै लिए।

तर फुटबलमा अल-मुताइरी यस्ता जब्बर पात्र बने जो असफल हुँदाहुँदै पनि सर्वाधिक चर्चामा छन् र समर्थकको नजरमा अझै पनि आफू एक्लो हिरोका रुपमा स्थापित हुने निरन्तर प्रयासमा छन्। तत्कालिन वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङको नामै लिएर राजीनामाको धम्की दिएका उनले नेपाली फुटबलमा पटक-पटक स्टन्ट मात्रै गरेनन्‚ नेपाली फुटबललाई कहिल्यै नपरेको विवादमा पुर्‍याए। फुटबलमा वर्षौं पसिना बगाएका खेलाडीमाथि अपमानजनक व्यवहार गरे। एसिया कप छनोटमा लज्जास्पद नतिजा दिलाए। त्यसको जिम्मा त लिए तर राजीनामा दिएनन्।

त्यसपछिका घटनाक्रमले अल-मुताइरीले नेपाली प्रशिक्षकको रुपमा रहने नैतिक आधार झनै गुमाएका छन्। अर्थात उनले निरन्तर आलोचना गरेका पंकजविक्रम नेम्बाङ एन्फा अध्यक्षमा निर्वाचित भए। त्यसलगत्तै उनले राजीनामा दिनुपर्ने तर त्यसो गरेनन्। पंकजले अल-मुताइरीलाई चिढ्याउन र राजीनामा दिन उक्साउन पहिलो बैठकबाटै अल-मुताइरीले हटाएका १० खेलाडीलाई राष्ट्रिय टिममा बोलाए तर पनि उनले राजीनामा दिएनन्। 

सामाजिक सञ्जालमा परीक्षण

सामाजिक सञ्जालमा राम्रो फलोअर्स बनाएका अल-मुताइरीले नेम्बाङ अध्यक्षमा निर्वाचित हुनासाथ सामाजिक सञ्जाल इन्स्टाग्राममा स्टोरी पोस्ट गर्दै लेखे ‘नेपाल सधैं मेरो हृदयमा रहनेछ तर सबै कथाको अन्त्य हुन्छ। माया र सहयोगका लागि हार्दिक कृतज्ञता।’ उनले नेपाली फुटबलको उज्जवल भविष्यको कामना गर्दै नेपाली प्रशंसकलाई पनि धन्यवाद दिए।

त्यसपछि धेरैले अनुमान गरे अब उनी नेपाल फर्कने छैनन्। उनले राजीनामा दिनेछन्। तर उनले उक्त पोस्ट सामाजिक सञ्जालमा आफ्नो ‘लोकप्रियता’ जाँच्ने मापकका रुपमा हालेका थिए। केही समयपछि नै उक्त पोस्ट हटाए। अनि फेरि केही दिन चुपचाप बसे।

उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमा अर्को एउटा स्टोरी सेयर गरेका छन्। जहाँ उनले आफ्नो पुरानै लवजमा ‘वान टिम जय नेपाल’ को नारा लेख्दै अबको लक्ष्य भन्दै ‘फिफा विश्वकप छनोट २०२६, एसिया कप छनोट २०२७ र साफ कप २०२३’ लेखेर सेयर गरे। यसबाट उनी पुनः नेपाल फर्कने स्पष्ट संकेत गरेको छ।

एन्फाले पनि तत्काल उनी फर्किने या नफर्किने तय नभए पनि सकारात्मक रहेको बताएको छ। यसको अर्थ अल-मुताइरी अझै नेपाली फुटबललाई परीक्षण गर्न नेपाल आउने सम्भावना छ। उनी नेपाली राष्ट्रिय टिम समाल्न आए अनौठो हुने छैन तर उनले नेपाली फुटबलमा ‘इगो’को लडाइँ जारी राख्नेछन्। जसले नेपाली फुटबलको अधोगति थामिने छैन अझ बढ्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.