सुधारगृहको क्षमता न्यून

|

धनगढी : कैलालीमा प्रत्येक वर्ष लागुऔषध प्रयोगकर्ताको संख्या वृद्धि हुँदै गएको पाइएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीको तथ्यांकअनुसार चालू आर्थिक वर्षमा मात्रै जिल्लामा २ सय ७३ जना लागुऔषध प्रयोगकर्ता पक्राउ परेका छन्।

आर्थिक वर्ष ०७६/७७ मा कैलालीबाट १ सय ६१ जना लागुऔषध प्रयोगकर्ता प्रक्राउ परेका थिए। त्यो वेला जिल्लामा ९८ ओटा मुद्दा दर्ता भएका छन्। आर्थिक वर्ष ०७७/७८ मा भने त्यो संख्या केही घटेको देखिएको छ। उक्त आर्थिक वर्षमा ९१ मुद्दा दर्ता भएका छन् भने १ सय ३२ जना पक्राउ परेका छन्।

तर चालू आर्थिक वर्षमा पक्राउ पर्ने तथा मुद्दाको संख्या ह्वातै बढेको छ। चालू आवमा लागुऔषधका १ सय ७१ मुद्दा दर्ता भएका छन् भने २ सय ७३ जना पक्राउ परेका छन्।

खुल्ला सीमा नाका, बेरोजगारी, परिवारको बेवास्तालगायत कारणले युवा लागुऔषधको लतमा फस्ने गरेका प्रहरीले जनाएको छ। लागुऔषध सेवन गर्नकै लागि पहिलो प्रयोगकर्ताले साथी थप्दै जाँदा कैलाली–कञ्चनपुर लागुऔषधको अखडा बन्न थालेको प्रहरीले बताएको छ।

एकजना सेवनकर्ताले आर्थिक स्रोत जुटाउनका लागि ५ जनालाई उक्त दुर्व्यसनमा संलग्न गराउँदै आएका छन्। यसरी नै ५ जनाले २५ लाई जोडिरहेको प्रहरीको अनुसन्धानले देखाएको छ।

जिल्लामा लागुऔषधका प्रयोगकर्ताको संख्या वृद्धि हुँदै आएकाले समुदायबाट प्रयोगकर्ता बाहिर ल्याउने र सुधार केन्द्रमा राख्ने नीति स्थानीय तहको छ।

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले प्रहरी प्रशासनले मात्रै लागुऔषध प्रयोगको दलदल कम गर्न नसक्ने बताएका छन्। ‘कोभिडमा कन्ट्याक्ट ट्रेसिङ्ग भनिन्थ्यो, समुदायबाट संक्रमितलाई अलग गर्ने। जबसम्म त्यो हामीले गर्दैनौं, त्यो वेलासम्म यो दुर्व्यसन कम हुँदैन‚’ उनले भने, ‘समुदायबाट प्रयोगकर्तालाई तानेर, कसलाई काउन्सिलिङ चाहियो? कसलाई औषधि चलाउनुपर्ने हो? त्यो बुझ्नुपर्छ। योबारे हामी सम्झौता पनि गर्दैछौं। यो पटक नीति तथा कार्यक्रममा पनि राखेका छौं।’

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठोरले लागुऔषध प्रयोगकर्ताका लागि उपचार आवश्यक हुने बताएका छन्। उनले भने, ‘पक्राउ गरेर मात्र हुँदैन। डिमाण्ड र सप्लाई छ। डिमाण्ड बढेकाले सुधार केन्द्रसँग सम्झौताको योजना बनाएका छौं‚’ उनले भने।

कैलालीमा ब्राउनसुगर, नाइट्रोभेट, स्पास्मो, कोरेक्स, चरेसलगायत लागुऔषधको प्रयोग तथा व्यापार हुँदै आएको छ। प्रहरीको सक्रियता न्यून र खुल्ला सिमानाका कारण प्रत्येक वर्ष ठूलो संख्यामा युवा लागुऔषधको लतमा फस्ने गरेका छन्। जिल्लामा सुधार केन्द्र खुल्ने क्रम पनि जारी छ। तर सरकारी स्तरबाट प्रभावकारी काम नभएकाले प्रयोगकर्ताले गाउँछिमेकका अन्य युवालाई पनि लागुऔषधको जालोमा फसाउँदैछन्।

कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा भन्छन्, ‘मूल सप्लाई गर्ने को हो त? सेवन गर्ने मान्छेलाई भन्दा पनि बिक्रेता को हो? कहाँ बसेर गर्दैछ? त्यसको खोजी गर्ने हो। त्यो अहिलेसम्म पनि पत्ता लागेको छैन। सामान्य ओसारपसार गर्नेहरूमा मात्र प्रहरी प्रशासनको ध्यान गएको छ।’

कैलाली र कञ्चनपुरमा आधा दर्जनभन्दा बढी सुधारगृह सञ्चालनमा छन्। धनगढीको रिचमण्ड फेलोसिपले पनि कुलतमा फसेका युवाहरुलाई परामर्श तथा उपचार गर्दै आएको छ। धनगढीमा पहिरो आरम्भ नामक सुधारगृह पनि सञ्चालनमा छ। अत्तरियामा उग्रतारा सुधारगृह सञ्चालनमा छ।

तर निजी क्षेत्रबाट सञ्चालनमा रहेका सुधारगृहको क्षमता न्यून छ। सरकारले कुलतमा फसेका युवाहरुका लागि कुनै कार्यक्रम नल्याएकाले उनीहरूको लत छुटाउन समस्या हुने गरेको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.