|

भवानी बराल

मानिसलाई सबैभन्दा प्यारो लाग्ने चिजवस्तु केही छ भने त्यो स्वतन्त्रता हो। यसै मेसोमा दलहरुबाट स्वतन्त्र हुनेको लहर यतिखेर चलेको छ।

स्थानीय निर्वाचनमा दुई दर्जन बढी पालिका प्रमुख र सयौं जनप्रतिनिधिमा स्वतन्त्रको हैसियत देखिएपछि स्वतन्त्र हुनेको बाढी आएको हो।

यो बाढी कहाँनेर पुगेर रोकिन्छ अहिले नै अड्कल काट्न मुस्किल छ। तर, राजनीतिक दलमा भने स्वतन्त्रको बाढीले दललाई अन्तरिम र तदर्थ बनाउँदै लगेको आभास हुन्छ। भनिन्छ, दलीय व्यवस्थामा राजनीतिक दलको विकल्प राजनीतिक दल नै हो।

यद्यपि, युवा पुस्तामा देखिएको स्वतन्त्रको लहर थामी नसक्नु गरी चलेको छ। रवि लामिछानेले त स्वतन्त्रको लोकप्रिय लहर ‘क्वाइन’ गर्न पार्टीको नाममा स्वतन्त्रको फुर्को नै टाले।

आउँदो संघ र प्रदेशको निर्वाचनलाई ताकेर स्वतन्त्रको हैसियत बनाउन उम्मेद्वारको लर्को लागेको छ। ठूला शहरमा मात्र हैन मोफसलमासमेत स्वतन्त्र अभियान राजनैतिक दललाई विझाउने हदको हुँदैछ।

स्वतन्त्रताको परिभाषा

नेपाली शब्दकोशहरुले अरु कसैको बन्धन, दबाब, अधीनमा नरही आफ्नै तन्त्र वा शासनमा रहने र त्यसै माध्यमले स्वयम् सोचीबुझी काम गर्न सक्ने वा पाउने स्वाधीनतालाई बुझाउँछ भनेर परिभाषा गरेका छन्।

कुनै नियम, विधि र प्रतिबन्धबाट मुक्त हुनु स्वतन्त्र हुनु हो। स्वतन्त्र नागरिक, स्वतन्त्र चिन्तन र स्वतन्त्र मतदान यसको विशेषता हो। अरू कसैसँग सम्पर्क नभएको, अलग, भिन्न हुनु यसको चरित्र हो।

यो परिभाषाको आधारमा गत निर्वाचनमा भाग लिने स्वतन्त्र उम्मेद्वार मध्ये बालेन शाह (काठमाण्डु) र हर्कराज राई (धरान) खाँट्टी स्वतन्त्रमा पर्छन। बाँकी स्वतन्त्रहरु दलीय राजनीतिको चपेटमा परेका प्रतिक्रियात्मक स्वतन्त्र हुन्।

राजनीतिक बनाऊँ पार्टी स्वतन्त्रता

स्वतन्त्रता आधुनिक युगको राजनीतिक दर्शन हो। देश, राज्य मात्र हैन जनसमुदायको स्वतन्त्रताको लागि बनाइने यो प्रणाली हो। व्यक्ति, समुदाय वा संस्थाले गर्ने कुनै पनि काममा प्रतिबन्ध नहुनु नै स्वतन्त्रता हो।

स्वतन्त्रता स्वशासनसँग पनि सम्बन्धित छ। तर नेपालको सन्दर्भमा पहिलो र दोस्रो जनान्दोलनले पार्टी स्वतन्त्रतालाई मात्र स्वतन्त्रताको अर्थमा परिभाषित गर्‍यो।

राज्यका संरचनाहरुमा पार्टीले प्रतिनिधित्व गर्ने बाँकी जनसमुदायले अनुमोदन मात्र गर्ने। सुरुका कालखण्डहरुमा पार्टी स्वतन्त्रता व्यवस्थित थियो। तर पछिल्ला कालखण्डमा पार्टी स्वतन्त्रता पनि खुम्चिँदै माथिल्ला कमिटी र निश्चित उपल्ला नेताहरुमा सीमित भयो।

पार्टी स्वतन्त्रता मात्र नेताको स्वतन्त्रतामा खुम्चियो। पार्टीका विचार, नीति, सिद्धान्त खोपीमा पुगे। नेताको एकल सोच, विचार, चिन्तन, निर्णय प्रभावी हुन थाले। जनअधिकारको रक्षाको लागि स्वतन्त्रता कार्यान्वयन भएन। महँगी, भ्रष्टाचार, अभावसंगै कानूनी राज्यको कमी खड्कियो।

त्यहीँदेखि स्वतन्त्रताको खोजी सुरु भयो। पार्टीका आम कार्यकर्ता अलग–थलग हुने क्रम सुरु भयो। सबैभन्दा पहिले पार्टीका समर्थक, शुभेच्छुक पछाडि सरे। यसपछि कार्यकर्ता निरास र पलायन हुँदै गए। यसै मेसोमा कथित स्वतन्त्रले फँडा उठायो।

आफ्नो शासन प्रबन्ध आफैँ गर्न पाउनु राजनैतिक स्वतन्त्रता हो। पार्टीले जनताको राजनैतिक स्वतन्त्रताको लागि सहजीकरण मात्र गर्नु पर्दथ्यो। तर पार्टीले सहजीकरण गर्नुको साटो शासन गर्न थाल्यो। पार्टीका नीति, सिद्धान्त विपरित पार्टीका व्यक्तिले शासन प्रबन्ध गरे।

यसैको उप–उत्पादन अहिलेको स्वतन्त्रको माहोल हो। पार्टी स्वतन्त्रता र राजनैतिक स्वतन्त्रताको मूलमर्म खुट्याउन नसक्ता वा सोअनुसार राजनीतिक स्वतन्त्रता व्यवस्थित नगर्दाको परिणाम अहिलेको परिघटना हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.