|

बागलुङ : ढोरपाटन नगरपालिका वडा नम्बर ९ डम्मरेखोला र घैतानगाउँका स्थानीयको घर अगाडि धारा छन्।

धारामा पानी नआएको महिनौँ भयो। गाउँबाट निकै टाढा रहेको मुहानबाट ल्याएकाे धारामा नियमित पानी आउँदैन। जसकारण यहाँका सयौँ नागरिक घण्टौँ लगाएर पानी बोकेर ल्याउने बाध्यतामा छन्।

वर्षाैंदेखि खानेपानीको अभाव भोगिरहेका डम्मरेखोलाका स्थानीयहरुको समस्या सरकारले देखेन। स्थानीयलाई शुद्ध पानी पिउन र सरसफाइ गर्न निकै समस्या भइरहेको छ।

संघीय सरकारले वि.सं. २०७२/०७३ मा खानेपानी आयोजना सुरु गरे पनि अहिलेसम्म यस गाउँमा खानेपानी आउन सकेको छैन। कूल ६ करोड ९८ लाख १६ हजार १९५ रुपैयाँको लागतमा सुरु भएको खानेपानी योजना अन्तरगत विभिन्न गाउँमा सम्पन्न भए पनि यस गाउँमा बल्ल ट्यांकी निर्माण गर्ने चरणमा रहेको छ।

लामो समयदेखि खानेपानीको समस्या भोगिरहेका स्थानीयमा आयोजना सुरु भएपछि केही आश त पलाएको छ तर क्रमागत रुपमा बजेट छुट्टिँदा कहिलेसम्म सम्पन्न हुन्छ भन्ने निश्चित छैन।

खानेपानीको समस्या हुँदा बालबालिकालाई विद्यालय समयमै पठाउन नसकेको स्थानीय कुमार सुनारले बताए। उनले आफूहरुले वर्षौंदेखि खानेपानीको समस्या भोग्दै आएको भन्दै अझै अहिलेसम्म समस्या भोग्नु पर्ने निश्चित नभएको बताए।

‘धेरै वर्ष भयो हामी खानेपानीको लागि भौँतारिएको, अहिलेसम्म खानेपानी सहज रुपमा उपभोग गर्न पाएका छैनौँ, धेरै पहिले गाउँमा पानी ल्याइयो, घर–घरमा धाराहरु पनि बनाइयो तर अहिले सबै धारामा पानी आउँदैनन्, सरकारले खानेपानीको योजना त सुरु गरेको छ, तर कहिले आउने हो थाहा छैन,’ सुनारले भने।

‘योजनाको काम कहिले हुन्छ, कहिले हुँदैन, यो हिसाबले त पानी आउन त धेरै समय लाग्ने देखिन्छ, कहिले बजेट भएन भन्छन् कहिले के भन्छन्।’ उनले थपे।

स्थानीय भविसरा विकले वर्षैंदेखि आफूहरुले खानेपानीको समस्या भोग्दै आएको सुनाउँदै गाउँमा खानेपानी आयोजनाको काम भए पनि आउने निश्चित नभएको बताइन्। उनले गाउँमा पानीको अभाव हुँदा पशु चौपायालाई समेत खुवाउन समस्या हुने गरेको भन्दै घण्टौँ लगाएर खोलामा लैजानुपर्ने अवस्था रहेको बताइन्।

‘मान्छेले त टाढाबाट ल्याएर भए पनि पानी खाएका छौँ, चौपायालाई बोकेको पानी खुवाउन सकिन्न, धेरै समय लगाएर खोलामा लगेर खुवाउनु पर्छ, पशुलाई पानी खुवाउन लैजाँदा धेरै समय लाग्छ। त्यसले गर्दा घरको अन्य कामहरु छुट्छन्,’ विकले भनिन् ‘सरकारले छिटै धारोमा पानी ल्याइदिन सके हामीलाई धेरै ठूलो राहत मिल्ने थियो, कसैले सुनेन, देखेन हाम्रो समस्या।’

२२ घर परिवार रहेको डम्मरेगाउँमा खानेपानीको समस्या हुँदा बसाइसराइ गर्नुपर्ने अवस्था आएको स्थानीय बताउँछन्। ६ वर्ष अगाडि सुरु भएको उक्त आयोजना अहिलेसम्म जम्मा १५ प्रतिशत काम सकिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङका इन्जिनियर विक्रम प्रसाद शाहले बताए। बोवाङ क्षेत्रमा यो आयोजना १६ स्थानमा संचालनमा रहेको उनले जानकारी दिए।

यो सबै योजनाबाट ढोरपाटन नगरपालिका वडा नम्बर ८ र ९ का पाँच हजार नागरिक लाभान्वित हुने शाहले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.