बागबजारमा देखिएको हैजाको केस गम्भीर

|

काठमाडाैं : इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक चुमनलाल दासले हैजाबाट बच्न आम नागरिक नै सजग रहनुपर्ने बताएका छन्।

सोमवार सिंहदरबारमा बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उनले हैजाबाट बच्न आम नागरिक र सरोकारवाला निकायहरु सजग रहनुपर्ने आवश्यकता रहेको बताए।

उनले अहिलेसम्म महाशाखाले परीक्षण गरेको ३ ठाउँको पानी प्रदूषित देखिएको बताए। तीन ठाउँमध्ये ललितपुरको सानेपा र काठमाडौंको बागबजार, डिल्लीबजारमा गरिएको पानी परीक्षणमा प्रदूषित पानी फेला परेको जानकारी दिए।

निर्देशक दासले कोटेश्वर र बल्खुको पानीको स्याम्पल लिइसकेको र परीक्षणका क्रममा रहेको बताए। त्यस्तै उनले बूढानीलकण्ठ नगरपालिकाले महाशाखाको सहयोगमा गरेको परीक्षणमा पनि प्रदूषण फेला परेको बताए।

​उनले हैजा र झाडापखालाबाट बच्न नागरिक आफैँले सजग र सतर्क रहनुपर्ने आवश्यक भएकाे बताए। सरकारले यसको न्यूनीकरणका लागि आवश्यक काम गरिरहेको पनि बताए। उनले नागरिकले पानी उमालेर खाने, क्लोरिन, पीयूष हालेर खाएमा पनि हैजाबाट बच्न सकिने बताए।

​त्यस्तै उनले यसका कतिपय लक्षण नदेखिने भएकाले सामान्य शंका लागेमा पनि स्वास्थ्य परीक्षण गराउन सुझाव दिए। निर्देशक दासले बागबजारमा देखिएको हैजाको केस गम्भीर प्रकृतिको रहेको बताए।

उनले सरकारले हैजा फैलिनबाट रोक्न विभिन्न कदम चालिरहेको र अस्पतालहरुलाई तयारी अवस्थामा बस्न पनि भनेको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.