|

काठमाडाैं : इंग्ल्याण्डले लगातार तेस्रो टेस्टमा २७५ बढीको रन चेज गर्दै ऐतिहासिक जित निकालेको छ। सबै तीन टेस्टमा इंग्ल्याण्डले पहिलो पटक २ सय ७५ रन बढीको स्कोर चेज पहिलो पटक गरेको हो।

अन्तिम तथा तेस्रो टेस्ट इंग्ल्याण्डले ७ विकेटसहित सोमबार आफ्नो पक्षमा पार्‍यो। यसअघिका दुई टेस्टमा पनि इंग्ल्याण्डले सानदार जीत निकाल्दै किवी टीमलाई निराश पारेको थियो।

अंग्रेज टिमले लगातार तेस्रो टेस्टमा जीत निकालेसँगै न्युजिल्यान्ड विरुद्ध १८ वर्षपछि सिरिज क्लिनस्वीप गर्न सफल भयो। अन्तिम सिरिजमा जीतसँगै समग्रमा ३-० ले इंग्ल्याण्ड विजयी रह्यो। न्युजिल्यान्डले इंग्ल्याण्डलाई अन्तिम इनिङमा जितका लागि २ सय ९६ रनको लक्ष्य दिएको थियो।

उक्त लक्ष्य इङ्ग्लिस टिमले ३ विकेट गुमाएर पुरा गर्‍यो। अन्तिम दिन इंग्ल्याण्डले केवल १ विकेट मात्र गुमाएको थियो।

इंग्ल्याण्डको जीतमा जो रुटले सर्वाधिक ८६ रनको अविजित इनिङ खेले। उनलाई जोनी ब्यरस्टोले ७१ रन बनाएर अविजित साथ दिए। त्यस्तै ओली पोपले ८२ रन बनाएका थिए।

त्यसअघि न्युजिल्यान्डका लागि दोस्रो इनिङमा टोम ब्लन्डेलको ८८ रन सर्वाधिक रहेको थियो भने ओपनर टोम लाथमले ७६ तथा ड्यारी मिचेलले ५६ रन बनाएका थिए। कप्तान केन विलियमसनले ४८ रन बनाएका थिए।

अन्तिम टेस्टमा न्युजिल्यान्डले पहिलो इनिङमा ३ सय २९ रन बनाएको थियो। जवाफमा इंग्ल्याण्डले पहिलो इनिङमा ३ सय ६० रन बनाएर ३१ रनको अग्रता लियो। न्युजिल्यान्डले आफ्नो दोस्रो इनिङमा ३ सय २६ रन बनाउँदै इंग्ल्याण्डलाई जितका लागि समग्रमा २ सय ९६ रनको लक्ष्य दिएको थियो।

जुन लक्ष्य इंग्ल्याण्डले सहज रुपमा पूरा गर्‍यो।​ इंग्ल्याण्डले न्युजिल्यान्ड विरुद्ध सातौँ पटक टेस्ट सिरिज क्लिनस्वीप गरेको हो। यसअघि १९५५, १९६३, १९६५, १९७८, १९८३ र २००४ मा किवी टीम विरुद्ध इङ्ग्लिस टिमले सिरिज क्लिनस्वीप गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.