|

भोजपुर : व्यवसायिक अकबरे (डल्ले) खुर्सानी खेती भोजपुरका कृषकको रोजाइमा परेको छ। बजारमा माग राम्रो भएपनि खुर्सानी खेतीमा कृषकको आकर्षण बढेको हो।

यहाँका विभिन्न ठाउँमा कृषकहरुले व्यवसायिक रुपमा अकबरे खुर्सानीको खेती गरिरहेका छन्।  विषेश गरेर भोजपुरको पौवादुङमा गाउँपालिकाले यसको पकेट क्षेत्र निर्धारण नै गरेर कृषकलाई यसको खेतीमा प्रोत्साहन गरेको छ। 

गएको सिजनमा गाउँपालिकामा खुर्सानी बिक्रीबाट रु. ६ करोड ५० लाख बढी रकम भित्रिएको गाउँपालिकाका कृषि शाखा प्रमुख बर्तेन्द्र राईले बताए। प्रमुख राईले भने,‘हाम्रो गाउँपालिकाको निकै राम्रो आम्दानीको श्रोतको रुपमा अकबरे लिएका छौँ। गएको सिजनमा गाउँपालिकामा रु. ६ करोड ५० लाख रकम खुर्सानी बिक्रीबाट भित्रिएको छ।’

गत वर्ष तीन रोपनीमा खेती हुँदै आएकोमा त्यसमा बृद्धि भएर अहिले चार हजार पाँच रोपनी क्षेत्रमा अकबरे खुर्सानीको खेती भइरहेको गाउँपालिकाको कृषि शाखाले जनाएको छ। खुर्सानी खेती गर्न इच्छुक कृषकलाई गाउँपालिकाले अनुदानसँगै प्राविधिक सहयोगसमेत गर्दै आएको छ। 

गाउँपालिकामा गएको सिजनमा तीन लाख ५० हजार किलोग्रामको हारहारीमा खुर्सानी उत्पादन भएको गाउँपालिकाको भनाइ छ। खेतीमा विस्तार भएकोले यस वर्ष उत्पादनमा अझ बृद्धि हुने गाउँपालिका शाखा प्रमुख राईले जानकारी दिए।

 राईले भने,‘हामीले यहाँ खुर्सानीको पकेट क्षेत्र नै छुट्याएर खेतीमा लगानी गरेका छौँ। गाउँपालिकाले आर्थिक तथा प्राविधिक सहयोग गरेपछि कृषकमा थप उत्साह थपिएको छ। यो सिजनमा एक हजार पाँच सय बढी क्षेत्रमा थप विस्तार भएको छ। विगतको सिजनमा भन्दा यस वर्ष उत्पादनमासमेत बृद्धि हुने देखिन्छ।’

गाउँपालिका भित्रका १५० जना बढी कृषकले यसको व्यवसायिक खेती गर्दै आएका छन्। आलो खुर्सानी उत्पादनको शुरुको चरणमा रु. ३५० देखी चार सयसम्म र धेरै उत्पादन भएपछि रु. १५० देखि २५० सम्ममा बिक्री हुने स्थानीय कृषकको भनाइ छ। 

किसानले उत्पादन गरेको खुर्सानी ठेकेदारले घरमा नै आएर लैजाने गरेका छन्। यहाँको खुर्सानी,  धरान, विराटनगर, झापा, काठमाण्डौ लगायत ठाउँमा जाने गरेको किसानहरुको भनाइ छ। गाउँपालिकाले कृषिमा प्रोत्साहनमुलक कार्यक्रम ल्याएपछि खेती विस्तारमा उर्जा मिलेको कृषक निराजन श्रेष्ठले बताए।  कृषक श्रेष्ठले भने,‘ खुर्सानी खेतीबाट राम्रो आम्दानी गरिरहेको छु। उत्पादन भएको खुर्सानी किन्न ठेकेदार घरमै आँउछन्। पछिल्लो समय अलि खुर्सानीमा जरा कुहिने रोगले सताएको छ। गाउँपालिकाको तर्फबाट राम्रो प्राविधिक सहयोग पाएका छौँ।’

गाउँपालिका खुर्सानी, अण्डा तथा तरकारीमा आत्मनिर्भर रहेको गाउँपालिकाले जनाएको छ। कृषिबाट नै कृषकको आर्थिक अवस्थामा सुधार ल्याउने लक्ष्यले यस क्षेत्रमा लगानी बढाएको गाउँपालिकाको भनाइ छ। ६ ओटा वडा रहेको गाउँपालिकाको भूगोललाई यसको विशेषताको आधारमा छुट्याएर माटो र हावापानी सुहाउँदो खेती लगाउनको लागि प्रोत्साहनमूलक कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए। 

अध्यक्ष राईले भने,‘ हामीले दुरदर्शी योजनाका साथ कृषिसँगै भौतिक तथा शैक्षिक क्षेत्रमा लगानी गरिरहेका छौँ। हामीले यहाँको कुन ठाउँमा कस्तो बाली खेती गर्न सकिन्छ भनेर पकेट क्षेत्र निर्धारण गरेका छौँ। यसैको आधारमा लगानी गछौँ। अहिले आएर कृषकहरुले निकै राम्रो आम्दानी लिदै आएका छन्।’

गाउँपालिकाले वडा न. ३ च्याङग्रे ४ बास्तिम, ५ सानोदुम्मा, ६ ठुलोदुम्मामा अकबरे खुर्सानी, मौरीपालन र एभोकाडोको खेतीको पकेट क्षेत्र निर्धारण गरिएको छ। त्यस्तै  वडा न. २ तिवारी भञ्याङको सडक भन्दा माथिदेखि वडा नं १ श्यामशिलाको वडा कार्यालय मुनीको भूगोललाई आलु, बन्दाकोबी र काउलीको खेतीको पकेट क्षेत्रको रुपमा विकास गर्ने योजनाका साथ काम गरिरहेको छ।

वडा नं १ श्यामशिलाको माथिल्लो भेगमा किवी खेतीको पकेट क्षेत्र निर्धारण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नवीन भट्टराईले जानकारी दिए। 

प्रमुख प्रशासकिय अधिकृत भटट्राईले भने,‘ हामीले कृषिमा प्राथमिकताका साथ काम गरिरहेका छौँ। त्यसको परिणाम पनि देखिन थालेको छ। हालको गाउँपालिकाको राम्रो आम्दानीको श्रोतको रुपमा खुर्सानीलाई लिन सकिन्छ। कृषिका अन्य क्षेत्रमा पनि काम भइरहेको छ। श्यामशिला क्षेत्रमा गाउँपालिकाको आर्थिक सहयोगमा कृषकहरुले व्यवसायिक रुपमा किवी खेती गरिरहेका छन्। किवीको बिक्रीबाट अबको केहि वर्षमा राम्रो आम्दानी भित्रिन्छ।’

यो क्षेत्रलाई हामीले किवी पकेट क्षेत्रको रुपमा विकास गरिरहेका छौ। अहिले यहाँ दुई दर्जन बढी कृषकले किवीको व्यवसायिक खेती गरिरहेका छन्। कतिपय कृषकले लगाएको किवी फलसमेत दिन थालेको छ। अरु खुर्सानीका तुलनामा अकबरे खुर्सानीलाई स्वास्थ्यको लागि लाभदायक मानिन्छ। अकबरे खुर्सानीले रगतमा चिनीको मात्रा घटाउनुका साथै यसले हाडजोर्नी लगायतका दुखाइ पनि कम गर्ने स्वास्थ्यकमीले बताउने गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.