|

बागलुङ : पश्चिम बागलुङका बाटोघाटा अहिले पशुचौपाया र गोठालाले भरिएका छन्। खासगरी निसीखोला गाउँपालिका ५ र ६ का विभिन्न ठाउँमा भेडाबाख्रा, गाईभैँसी र गोठाला भेटिन्छन् । बाटोघाटो, जंगलका बिच र चौतारामा गोठालेले भारी बिसाइरहेका हुन्छन्।

कतिले ठेका भाँडा, कतिले खर्चपर्च त कतिले भर्खरै जन्मिएका पाठापाठी, पाडापाडी र बाच्छाबाच्छी लिएर हिँडेका हुन्छन्। यसरी यात्रा गरेर पुग्ने उनीहरूको गन्तव्य निसेल ढोर (लेक) हो। उनीहर" दर्जनौँ धुरी डाँडा काटेर निसेल ढोर पुग्छन्। निसेल ढोर पुग्न उनीहरुलाई दुईदेखि तीन दिन लाग्छ। 

आफ्नै कला, संस्कृति, मौलिक परम्परा र खाम भाषा बोल्ने यहाँका स्थानीय घुम्ती बसाइँ गर्छन्। उनीहरू असार लाग्ना साथ निसेल ढोर उक्लिने गर्छन् भने हिउँद लाग्दासाथ बेसी (निसी भल्कोट) झर्छन्। एउटै परिवारले सयौँको संख्यामा पशुचौपाया पाल्ने भएकाले घाँसका लागि पनि उनीहरू लेक जान्छन्। यहाँका एक परिवारले कम्तीमा पनि १२\१५ वटा गाई, भैँसी र भेडाबाख्रा पालेका हुन्छन्।

हिउँदको समय बेसी र वर्षातको समय लेकमा बस्ने यहाँका स्थानीय अब असोज ५ तिर मात्रै बेसी झर्छन्। उनीहरू असार २० सम्म लेक पुगिसकेर आफ्ना दैनन्दिन सुरु गर्छन्। 

निसेलढोरमा वर्षातको समयमा आलु खन्ने, स्याउ कुटाउने, पशुचौपाया चराउने र अन्य उत्पादनमा लाग्छन्। उनीहरू सिसेल ढोरसँगै त्यसभन्दा माथिको क्षेत्र बुकीसम्म चरिचरनका लागि पुग्ने गर्छन्।

उनीहरु ढोरमा मुख्यतः आलु, स्याउ खेतिमै सक्रिय हुन्छन् भने त्यससँगै सिमी, फापरलगायत उत्पादनमा समेत उनीहरू लाग्छन्। बर्खाभरी ढोरमा उत्पादन गरेका वस्तुहरूलाई हिउँद लाग्ने बित्तिकै भरिया लगाएर निसी, भल्कोटमा झार्ने गर्छन्। निसी भल्कोटबाट सामान्य भारीसहित निसेल ढोर पुग्न करिब ९\१० घण्टा पैदल यात्रा गर्नु पर्छ भने खर्चपर्च बोकेर जाँदा दुईदेखि तीन दिन लाग्ने स्थानीय चन्द्रसिं बुढा मगर बताउँछन्।

‘धेरै धुरी डाँडा काटेर जानु पर्छ, रित्तै जाँदा ९\१० घण्टामै पुग्न सकिन्छ, तर हामी कहिले पनि रित्तै जाने गरेका छैनौँ, भारी र पशुचौपाया लिएर जान्छौँ,’ उनले भने ‘भारी बोकेर जाँदा गाह्रो हुन्छ, अझ गाईवस्तु लिएर जाँदा त झन् धेरै समय लाग्छ।’  भारी बोकेर जाँदा जंगलको बीचमा बास बस्नु पर्ने उनको भनाइ छ। बुढा मगरले बर्खाको समयमा जंगलमा यात्रा गर्दा अत्यन्तै कष्ट हुने भन्दै पछिल्लो युवा पुस्तामा लेक जाने चलन कम हुँदै गएको बताउँछन्।

पुर्खादेखि नै वर्षातको समयमा लेक जाने र हिउँद झर्ने गर्दै आएको स्थानीय गिर मगरले बताए। उनले धेरै पशुचौपाया हुँदा औलमा बाह्रै महिना पाल्न नसक्ने हुँदा लेकतिरै जानु पर्ने अवस्था आएको उनको भनाइ छ। ‘बाह्रै महिना गाईभैँसी र भेडाबाख्रा यहाँ पाल्न सकिन्न, औलमा त्यति धेरै घाँस पनि हुन्न त्यसले गर्दा ढोर नै जानु पर्छ’ मगरले भने, ‘ढारमा लाग्यो भने जता छोडे पनि हुन्छ, चौपायालाई बुकी (ढोरको अग्लो डाँडा) छोड्यो, आफू आफ्नो काममा लाग्यो।’ 

उनले बाह्रै महिना एकै ठाउँमा बस्दा बारीमा मल पुर्‍याउन पनि गाह्रो हुँदा लेकबेसी गर्नुपर्ने बताउँछन्। भल्कोटदेखि निसेल ढोरसम्म मोटर बाटोले जोडिएपछि स्थानीयलाई धेरै सहज हुने उनको भनाइ छ। पर्यटन, कृषि, जडिबुटी र पशुपालका हिसाबले अत्यन्तै सम्भावना बोकेको निसेल ढोर निसीखोलासँग सिधा सडकले नजोडिँदा पछाडि परेको छ।

निसेल ढोर सडक सञ्जालले जोडिए यहाँका स्थानीयलाई लेक जान र औल झर्न सहज हुनुको साथै ढोरमा उत्पादन हुने आलु, स्याउ, सिमी लगायतका उत्पादनलाई बजारसम्म पुर्‍याउन र निसी भल्कोटबाट ढोरसम्म यात्रा गनै निकै सहज हुने देखिन्छ। ढोरपाटन नगरपालिका ९ ढोरपाटन उत्तरगंगा हुँदै मोटरबाटोले जोडिए पनि त्यो सडकले निसी भल्कोटबासीलाई अपायक र धेरै फेरो पर्छ। निसीसँग सिधा सडक सञ्जालले ढोरपाटन जोड्नका लागि स्थानीयले माग गर्दै आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.