|

सुर्खेत : धामी, झाँक्री, सामाजिक अभियन्ताले जातीय छुवाछुत अन्त्यका लागि पहल गर्ने बताएका छन्।

भेरी नगरपालिकाका सबै वडाबाट सदरमुकाम आएका धामी, झाँक्रीले जातीय विभेद नगर्ने र गरेको थाहा पाए सचेतना जगाउन भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तोष निरौलाले बताए। भेरी नगरपालिकाको जातीय विभेद अन्त्य गर्ने भन्दै विभिन्न कार्यक्रम जारी राखेका वेला प्रहरीले समेत यसमा विशेष चासो देखाएको छ।

भेरी नगरपालिकाका उपप्रमुख सीता जैसीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सहभागी सबैले जातीय विभेद नगर्ने प्रतिबद्धतासमेत जनाएका छन्। नागरिक अगुवा राजेन्द्रविक्रम शाहले जातीय विभेद अन्त्य गर्न समाजको चेतनास्तर माथि उठ्नुपर्ने बताए।

समाज रहेका धामी, झाँक्री, सामाजिक अभियन्तासहित सबैले जातीय विभेद अन्त्यका लागि साझा अभियानका साथ अगाडि बढाउने साझा प्रतिबद्धता भएको प्रहरीको भनाइ छ। प्रहरीले यसअघि सबै वडामा जातीय विभेदबारे कार्यक्रम गरि सचेतना जगाउने काम गरिसकेको छ।

सबै वडामा कार्यक्रमपश्चात सदरमुकाममा वडाबाट आएका अगुवासँग छलफल गरि साझा प्रतिबद्धता व्यक्त गर्न लगाएको हो। जातीय विभेदका मुद्दा पछिल्लो समय न्यून संख्यामा आउने गरेको डिएसपी निरौलाले बताए। जाजरकोट भेरी नगरपालिका-४ रानागाउँका नवराज विक सहितका युवालाई कथित माथिल्लो जातकी युवतीसँग प्रेम गरेको भन्दै हत्या नै गरिएको थियो।

छुवाछुत तथा भेदभाव गरेको मानिने

जातीय भेदभाव तथा कसुर सजाय ऐन २०६८ अनुसार कसैले कुनै पनि व्यक्तिलाई प्रथा, परम्परा, धर्म, संस्कृति, रीतिरिवाज, उत्पत्ति, जात, जाति, वंश, समुदाय, पेशा वा व्यवसाय वा शारीरिक अवस्थाका आधारमा यस दफाबमोजिमको कुनै काम गरे वा गराएमा छुवाछुत तथा भेदभाव गरेको मानिनेछ भनी उल्लेख गरिएको छ ।

प्रवेश गर्न, उपस्थित हुन वा भाग लिन निषेध गर्ने वा कुनै किसिमले रोक, नियन्त्रण वा प्रतिबन्ध लगाएमा छुवाछुत तथा भेदभाव गरेको मानिने कानुनमा उल्लेख छ। व्यक्तिगत वा सामूहिक रूपमा सार्वजनिक स्थान वा समारोहबाट निष्काशन, सामाजिक बहिष्कार वा कुनै प्रकारको भेदभाव गर्ने वा त्यस्तो काममा प्रतिबन्ध लगाउने वा अन्य कुनै किसिमको असहिष्णु व्यवहार प्रदर्शन गरे छुवाछुत तथा भेदभाव गरेको मानिने पनि कानुनले भनेको छ।

कसैले कुनै पनि व्यक्तिलाई उत्पत्ति, जात, जाति, वंश, समुदाय, पेशा वा व्यवसाय वा शारीरिक अवस्थाका आधारमा सार्वजनिक सेवाको प्रयोग गर्न वा उपभोग गर्नबाट वञ्चित गरेमा छुवाछुत तथा भेदभाव गरेको मानिन्छ। कसैले जात वा जातिका आधारमा परिवारका कुनै सदस्यलाई बहिष्कार गर्ने, घरभित्र प्रवेश गर्न नदिने वा घर वा गाउँबाट निकाल्ने वा निस्कन बाध्य तुल्याउने काम गर्न वा गराएमा पनि छुवाछुत तथा भेदभाव गरेको मानिन्छ।

उजुर गर्न सकिन्छ

कानुनतः कसुर कसैले गरेको वा गर्न लागेको थाहा पाउने व्यक्तिले नजिकको प्रहरी कार्यालयमा तोकिएबमोजिम उजुर गर्न सक्नेछ। प्राप्त उजुरी सम्बन्धित प्रहरी कार्यालयले दर्ता नगरेमा वा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही नगरेमा सम्बन्धित व्यक्तिले सो कुराको उजुरी तोकिएबमोजिम राष्ट्रिय दलित आयोग वा स्थानीय तहमा समेत गर्न सक्नेछ।

कसुर गर्ने व्यक्तिलाई सजाय

जातीय छुवाछुत तथा भेदभाव कसुर गर्ने व्यक्तिलाई ३ महिनादेखि ३ वर्षसम्म कैद र ५० हजार रूपैयाँदेखि २ लाख रूपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। दफा ४ को उपदफा (८), (९), (१०), (११), (१२) वा (१३) बमोजिमको कसुर गर्ने व्यक्तिलाई १ महिनादेखि १ वर्षसम्म कैद वा ५ सय रूपैयाँदेखि १० हजार रूपैयाँसम्म जरिबाना वा दुवै सजायको व्यवस्था गरिएको छ।

छुवाछुत तथा भेदभाव गर्न मद्दत गर्ने, दुरुत्साहन गर्ने, उक्साउने वा त्यस्तो कार्य गर्न उद्योग गर्ने व्यक्तिलाई मुख्य कसुरदारलाई हुने सजायको आधा सजायको व्यवस्था भएको छ। दफा ४ बमोजिमको कुनै कसुरमा सजाय पाएको व्यक्तिले पुनः सोही दफाबमोजिमको कसुर गरेमा त्यस्तो व्यक्तिलाई पटकैपिच्छे उपदफा (१) को खण्ड (क) वा (ख) मा उल्लिखित सजायको दोब्बर सजाय हुनेछ। सार्वजनिक पद धारण गरेको व्यक्तिले उपदफा (१) बमोजिमको कसुर गरेमा निजलाई सो उपदफामा उल्लिखित सजायमा ५० प्रतिशत थप सजाय हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.