साउन १५ गतेभित्र अध्यक्षको निर्वाचन गर्न निर्देशन

|

धनगढी : नेकपा एमाले कैलाली जिल्ला कमिटीका अध्यक्ष रतन थापाले निर्वाचनमा असहयोग गरेको पुष्टि भएको भन्दै जिम्मेवारीबाट अलग गरिएको छ। एमाले सुदूरपश्चिम प्रदेश कमिटीको सोमबार बसेको बैठकले थापालाई अध्यक्षको जिम्मेवारीबाट हटाउने निर्णय गरेको जनाएको हो।

उनलाई अध्यक्ष पदबाट हटाउने निर्णय गरेसँगै उपाध्यक्ष दुर्गा जोशीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय पनि गरिएको छ। थापालाई कारबाही गर्न एमालेको जिल्ला कमिटीले प्रदेश कमिटीमा सिफारिस गरेको थियो।

प्रदेशले जिल्ला कमिटीलाई साउन १५ गतेभित्र अध्यक्षको निर्वाचन गर्न निर्देशन दिएको बताइएको छ। नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले कैलालीका पार्टी अध्यक्षबाट हटाइएका रतनबहादुर थापाले पार्टी नेतृत्वविरुद्ध बोलेको बताएका छन्।

भट्टले मङ्गलवार प्रदेश कमिटीले गरेको कारबाहीबारे सञ्चारकर्मीलाई धनगढीमा संक्षिप्त प्रतिक्रिया दिँदै स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेको र नेतृत्वविरुद्ध जथाभाबी बोलेको बताए।

तर, अझै उनलाई रूपान्तरण हुने अवसर रहेको उनले बताए जिल्ला कमिटीले पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गर्न सिफारिस गरे पनि थापालाई रूपान्तरण हुने अवसर दिनुपर्ने भन्दै प्रदेश कमिटीले अध्यक्ष पदबाट मात्र हटाएको भट्टले दाबी गरे।

'पार्टीले त्यो तहको नेता उत्पादन गर्न निकै खर्च गरेको हुन्छ। सकेसम्म पार्टीको विधि मात्र हेर्नुभन्दा व्यक्तिबाट कमी कमजोरी हुन्छ त्यो कमजोरीलाई सच्याउने अवसर दिनुपर्छ र उसलाई रूपान्तरण हुने अवसर दिनुपर्छ,’ भट्टले भने।

उनले थापालाई गरिएको कारबाहीले पार्टीलाई क्षति नभएर थप बलियो बनाउने दाबी गरे। पार्टी सिद्धान्त नमान्ने, अराजकता देखाउने प्रवृत्तिका व्यक्तिले थापाको कारबाहीलाई सिकाइको रूपमा लिनुपर्ने तर्क उनको भनाइ छ।

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.