|

डडेल्धुरा : डडेल्धुरामा देउडा लयमा गीत गाउँदै र धान रोप्दै १९औँ राष्ट्रिय धानदिवस मनाइएको छ। जिल्ला सदरमुकामको अमरगढी नगरपालिका–३ डोटी घटाल (साउद गाउँ)मा किसानको खेतमा गएर कृषि ज्ञानकेन्द्र र अमरगढी नगरपालिकाले धान दिवस मनाइएको हो।

धान रोप्ने वेला खेतका आलीमा देउडा लयमा गीत गाउँदै रमाउँदै धानदिवस मनाइएको अमरगढी नगरपालिका–३ का वडाध्यक्ष तीर्थ ऐरले बताए। ‘मानो रोपेर मुरी फलाउने’ दिनका रूपमा आज धानदिवस मनाइने गरिन्छ।

दहीच्यूरा खाँदै देउडा लयमा गीत गाउँदै धानदिवस मनाइएको हो। वर्षामा हिलाम्मे भएको शरीरमा ऊर्जा दिने भएकाले दहीच्यूरा खाने चलन रहेको छ।

‘धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने नाराका साथ राष्ट्रिय धान दिवस मनाइएको कृषि ज्ञानकेन्द्र डडेल्धुराका प्रमुख रामचन्द्र भट्टले जानकारी दिए।

भट्टका अनुसार डडेल्धुरामा ६ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ। असार १५ गतेसम्म जिल्लामा ६५ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको उनको भनाइ छ।

‘मौसम अनुकूल हुँदै छ, असारको अन्तिम वा साउनको पहिलो सातासम्म सबै ठाउँमा रोपाइँ सकिन्छ। चिसो ठाउँ भएका कारण कृषकले चाँडो बीउ राख्ने गरेका छन्। जेठभित्र रोपाइँ सक्ने परम्परागत चलन छ’, उनले भने, ‘जलवायु परिवर्तनका कारण समयमा पानी पर्दैन। त्यसैले किसानले बीउ राख्न हतार गर्नु हुँदैन।’

जेठमै रोपाइँ गरिसक्ने भए पनि यसपालि पानी नपर्दा रोपाइँ ढिलो शुरु भएको कृषक जगदीश बोहराले बताए। खोलानालामा पानी नहुँदा बोरिङको पानीले रोपाइँ गरिरहेको उनको भनाइ छ।

धानदिवसमा स्थानीय जनप्रतिनिधि, जिल्ला समन्वय समिति प्रमुख, कृषि ज्ञानकेन्द्रका कर्मचारी, अमरगढी कृषि शाखाका प्रतिनिधि र स्थानीय कृषकको सहभागिता रहेको थियो।

वि.सं २०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तरराष्ट्रिय धान वर्ष घोषणा गरेपछि नेपालमा वि.सं २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार विसं २०६२ असार १५ गतेदेखि राष्ट्रिय धानदिवस मनाउन शुरु गरिएको थियो।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.