नेताहरू भन्छन् : अभियानमा लाग्नु राम्रो भए पनि उद्देश्य बुझ्नुपर्छ

|

काठमाडौं : नेकपा एमालेका पूर्वनेता वामदेव गौतमले नयाँ पार्टी घोषणा गरेपछि राजनीतिक वृत्तमा नयाँ बहस शुरु भएको छ। उनले कम्युनिष्ट पार्टीलाई एकताबद्ध गर्ने भन्दै नेकपा एकता राष्ट्रिय अभियानको मंगलबार घोषणा गरे। 

उनले आफूले गठन गरेको पार्टीको महत्वपूर्ण कार्यभार नै नेपाल कम्युनिष्ट पार्टी नेकपालाई फेरि पुनर्गठन गर्नु भएको उनको भनाइ छ। 

आगामी निर्वाचनमा विभाजित कम्युनिष्ट पार्टीहरू नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लाई एकीकृत हुन नसकेको अवस्थामा कार्यगत एकतामा आउन वातावरण सिर्जना गर्ने उनको दाबी छ।

 ‘कार्यगत एकतामा जाने अवस्था सृजना हुँदा उपरोक्त ३ पार्टीसहित राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी समेतको बृहत वामपन्थी चुनावी मोर्चा निर्माण गर्ने कामलाई महत्वका साथ हामीले गर्ने कामको सूचीमा समावेश गरेका छौँ‚’ उनले भनाइ थियाे। 

नेकपा विभाजन कारण आफू नभएर त्यसको सबैभन्दा धेरै जिम्मेवारी केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै लिनुपर्ने बताए। 

‘सचिवालयको म वरिष्ठ सदस्य थिएँ। मैले निष्पक्ष तरिकाले कहिले केपीको त कहिले प्रचण्डको आलोचना गर्थेँ। मैले जुन आलोचना गर्थेँं‚ त्यो तथ्यमा आधारित हुन्थ्यो। बाहिरबाट हेर्दा पार्टी छ, भित्रबाट हेर्दा छैनको अवस्थामा थियो र सोहीअनुसारको सुझाव मैले दिने गर्थेँ‚’ उनको भनाइ छ, ‘अब देख्दै जानुस्, मैले जुन पार्टीको आज शिलान्यास गरेको छु, मैले उद्घाटन गर्ने बेलामा नेपाल चकित हुने अवस्था सिर्जना हुनेछ।’

नेकपा विभाजनपछि नेकपा एकता अभियान चलाएका थिए। तर उनकाे अस्थिर स्वभावकै कारणले सफल भएनन्। 

नेकपा एकता जाेगाउन असफल भएका उनी एमाले पनि विभाजन भएपछि मौन रहे। एमाले फुटेपछि माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग नजिक भएपनि राजनीतिक भूमिकामा अग्र स्थानमा थिएनन्। 

शनिबार नेकपा एकता राष्ट्रिय अभियानको घोषणा गरेका गौतमले मंगलबार त्यसलाई पार्टीमा रुपान्तरण गर्ने घोषणा गरे। उनले आफू नेतृत्वको पार्टी घोषणा गरेको यो पहिलो घटना भने होइन। 

यसअघि ०५३ सालमा एमालेले  संसदबाट महाकाली सन्धी अनुमोदन गरेपछि त्यो सन्धीलाई राष्ट्रघातीको संज्ञा दिँदै २०५४ सालमा पार्टी विभाजन गरेका थिए। 
एमालेको छैटौं महाधिवेशनपछि पार्टी फुटाएर नेकपा माले गठन गरे। एमालेबाट विद्रोह गरेर बाहिरिएका गौतम २०५६ सालक‍ो आम निर्वाचनमा पराजित भए।

प्रतिनिधिसभाका २०५ सिटमा उनी नेतृत्वको नेकपा मालेले एक सिट पनि ल्याउन सकेन। निर्वाचनबाट पार्टीको अस्तित्व जोगाउन नसकेपछि २०५८ सालमा उनी एमालेमै फर्किएका थिए। 

सधैँ अस्थिर

नेता गौतमले कम्युनिष्ट एकताको लागि आफ्नो पार्टीले पहल गर्ने उद्घोष गरे पनि उनीमाथि लागेकाे अस्थिर पात्रकाे ट्याग नहटेकै कारण नेताहरूले विश्वास गर्न सकेका छैनन्। उनले नेकपा विभाजनमा ओली र प्रचण्डलाई दोष देखाएर आफू पन्छिन खोजे पनि अधिकांश नेताहरू गौतमकै कारण पार्टीमा विग्रह आएको आरोप लगाउँछन्। 

पार्टीमा ओली र प्रचण्ड-माधव नेपाल समूहबीच शक्ति संघर्ष चलिरहेको बेलामा नेता गौतम सधैं अस्थिर बनिरहे। पार्टीभित्रको शक्ति-संघर्षमा उनी कहिल्यै पछि हटेनन्। कहिले ओली खेमा त कहिले प्रचण्ड-माधव समूहको कित्तामा पुग्थे। पाटीभित्रको विवाद समाधान गर्न मध्यमार्गी भूमिका निर्वाह गरेको बताए पनि उनले नेताहरूबीचको संघर्षभित्र व्यक्तिगत स्वार्थसँग जाेडेर खेलेको आरोप लाग्यो।

शक्ति संघर्षकै क्रममा उनले ओलीलाई ‘कम्फर्ट जोन’मा पुर्‍याउन भूमिका खेलेका थिए। ओलीकै कारणले उनलाई राष्ट्रियसभा सदस्यसमेत बन्न सफल भए। त्यसो त उनले घुमाउरो पारामा आफ्नै कारणले पार्टी विभाजन भएको स्वीकार नगरेका पनि होइनन्। 

‘धेरैजसोले वामदेवकै कारण विभाजित भयो भने आरोप लाग्यो। मैले पनि गल्ती गरेकै हो। वामदेव लागेको भए पार्टी जोगाउन सकिन्थ्यो भन्नुभयो। यो साँचो हो, म लागेको भए पार्टी विभाजन हुँदैनथ्यो। म आत्मालोचित भएको छु‚’ उनको भनाइ छ। 

सिंहदरबारको भोक! 

नेकपा विवादमा पनि आफ्नो शक्ति बढाउने दाउका खेलेको गौतम २०७४ सालको निर्वाचनमा बर्दिया क्षेत्र १ बाट कांग्रेसका सञ्जय गौतमसँग पराजित भएका थिए। उपप्रधानसहित गृह मन्त्रालयसम्मको जिम्मेवारीमा सम्हालिसकेका गौतमको सिंहदरबार प्रवेशको रहर अझै मरेको छैन। 

प्रत्यक्षबाट पराजय बेहोरेका गौतमले राष्ट्रियसभा हुँदै फेरि सिंहदरबार प्रवेशको वातावरण मिलाउँदै थिए। तर पार्टी नै विभाजन भएपछि उनकाे याेजना विफल बन्याे। नेकपाको आन्तरिक विवादमा ९ जनाको सचिवालयमा निर्णायक बनेर खेलेका गौतमलाई ओलीलाई ‘कम्फर्ट जोन’मा पुर्‍याएपछि प्रधानमन्त्री बगाउनेसम्मको ‘कार्ड फ्याँके’का थिए।

त्यही कुरालाई स्मरण गर्दै शनिबार भेलालाई सम्बोधन गर्दै उनले भनेका थिए ‘०७७ पुस ४ गते ओली र प्रचण्डबीच वार्ता भइरहेको वेलामा मलाई बोलाउनुभयो। ओलीले म पार्टी एकताको लागि के त्याग गर्नुपर्छ गर्छु एकता जोगाऔँ भन्नुभयो। तपाईंहरूले मेराविरूद्ध राखेको आरोप फिर्ता लिनुस्। दुई पदमध्ये एक पद छाड्छु भन्नुभयो तर प्रचण्डले अस्वीकार गर्नुभयो।’ 

त्यसबेला ओलीले आफूलाई पार्टीभित्रबाटै मोर्चाबन्दी भएपछि वामदेव गौतमलाई निर्वाचन गराएर भए पनि प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका थिए। 

‘ओलीले मलाई लगाएको आरोप फिर्ता लिनुपर्छ भन्नुभयो। प्रधानमन्त्री छाड्ने विषयमा छलफल भए पनि आरोपपत्र फिर्ता लिन सक्दिनँ भन्नुभयो। प्रचण्डले फिर्ता लिएको भए पार्टी विभाजन हुँदैनथ्यो‚’ उनको बुझाइ छ।  

ओलीले प्रधानमन्त्रीको आश्वासन दिनासाथ गौतमले दोहोरो भूमिका नखेलेको भए नेकपा नै विभाजनको अवस्था नै नआउने वातावरण बन्न सक्ने माओवादी केन्द्रका नेता हरिबोल गजुरेलको  बुझाइ छ।

उनी भन्छन्, ‘उहाँलाई प्रधानमन्त्रीको महत्वाकांक्षाले दोहोरो भूमिकामा देखिनुभयो। विवादको क्रममा कहिले कता कहिले कता नगरेको भए समस्या नै आउँदैनथ्यो।’

‘विश्वास नै छैन’

नेकपा विभाजनको कारण देख्ने नेताहरू नेता गौतमले कम्युनिष्टहरूलाई एकताबद्ध गर्न सक्छन् भन्नेमा विश्वस्त बन्न सकेका छैनन्। कम्युनिष्ट एकताको नाममा उनको उद्देश्यप्रति ख्याल गर्नुपर्ने नेता गजुरेल बताउँछन्। 

उनी भन्छन्, ‘उहाँले एकताबद्ध गर्छु भन्ने कुरालाई हामीले सकारात्मक रुपमै लिनुपर्छ। मिलाउँछु भनेर लाग्नेलाई नराम्रो भन्न मिल्दैन। तर यसअघिको उहाँको भूमिकालाई हेर्दा उद्देश्यप्रति सजग हुनुपर्छ।’

अस्थिर चरित्र भएका गौतमले कम्युनिष्ट पार्टीलाई एकताबद्ध गर्छन् भन्ने उनलाई विश्वास छैन। 

‘नेकपाको विवादको क्रममा कहिले ओलीतिर कहिले प्रचण्ड-माधव समूहमा उहाँ लाग्नुभयो। उहाँले आफ्नो अडान एउटै राख्नुभएको भए अहिलेको परिस्थिति नै नआउन सक्थ्यो। त्यसैले उहाँले पहिला महत्त्वाकांक्षा त्याग्न सक्नुपर्छ‚’ उनले भने।

कम्युनिष्ट एकताको विकल्प नभएको भन्दै पार्टीमा आवाज उठाउने एमाले नेता रघुजी पन्त पनि गौतमको प्रयासलाई सकारात्मक कोणबाट हेर्छन्। 

उनी भन्छन्, ‘उहाँले पहिला पनि एकता अभियान भनेर चलाउनुभएको थियो। अहिले पार्टी नै घोषणा गरेर आउनुभएको छ। उहाँको प्रयास कतिको सफल होला त्यो समयले देखाउला।’ 

नेपालको परिपेक्षमा कम्युनिष्टहरू एकताबद्ध हुनुको विकल्प नभएकाले शीर्ष नेताहरू गम्भिर हुनुपर्ने उनको बुझाइ छ। 

‘कम्युनिष्टहरू मिल्नुपर्छ’ 

कम्युनिष्ट पार्टीलाई एकताबद्ध गर्न भन्दै नेता गौतमले नयाँ पार्टी घोषणा गरे पनि नेकपा एकीकृत समाजवादी पार्टी उनीप्रति विश्वस्त बन्न सकेको छैन। 

वामदेवको अभियानप्रति एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडा भन्छन्, ‘कम्युनिष्टहरू छरिएर रहनुहुँदैन भन्नेमा हाम्रो एकमत छ तर उहाँ (वामदेव) पनि पनि गठबन्धनमै आउनुहुन्छ भन्ने लाग्छ। हामीले उहाँको प्रयासलाई अन्यथा सोचेका छैनौँ।’

उनले वाम ध्रुवीकरणको विषयमा छलफल गरिरहेको बताए। कम्युनिष्ट पार्टीहरूलाई एकताबद्ध हुन उनले आह्वान गरे। 

‘कम्युनिष्टहरू सबै मार्क्सवादी छन्। तर त्यसमा संघीयता नमान्नेहरू पनि छन्। हामीले वामपन्थी कम्युनिष्ट एक ठाउँमा ल्याउन पहल गर्न तयार छौँ। हामी कसैको नेतृत्त्वकर्ता नभएर सहयात्रा गर्न तयार छौँ‚’ उनले भने। 

चुनावमा गठबन्धनको गरेरै जाने पक्षमा रहेको प्रष्ट पारे। मार्क्सवादी, लेनिनवादी विचारलाई मन पराउनेलाई समेटेर जाने प्रयास गरिरहेको उनकाे भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.