|

काठमाडौं : फक्रिएको सुन्दर फूल कस्तो हुन्छ? हो‚ त्यस्तै फक्रिएको फूलजस्तै थिइ सुम्निमा। फूलजस्ती सुम्निमाको दैनिकी गोठालोमा बितिरहेको थियो।

एकदिन गोठालो गएको वेला उसले रातो फूल देखि। त्यो फूल पनि ऊजस्तै बिछट्टै सुन्दर र मनमोहन थियो‚ ऊ त्यो फूलमा साह्रै लोभिएकी थिइ। उसले त्यो फूल टिप्न खोजी तर घरगाउँमा सुनेको कुरा झल्याँस्स सम्झी 'बाटाका फूल विचार पुर्‍याएर मात्रै टिप्नु पर्छ।' उसका आफन्तले यसै भनेको पनि उसले धेरैपटक सुनेकी थिइ।

मन बुझाउन कत्ति प्रयास गर्दा पनि उसको मन मान्दै मानेन। अन्ततः उसले फूल टिपी। फूल हातमा लिएर बास्ना लिनासाथ ऊ एक्कासी बेहोस भएर ढली। उसको शरीर काम्न थाल्यो। उसको शरीर यसरी काम्न थाल्यो मानौं माघको चिसोमा ऊमाथि हिउँको वर्षा भइरहेको छ।

उसलाई ब्युँझाउन कसैले उसलाई पानी छम्किए‚ कसैले के गरे। उसलाई होसमा ल्याउन धेरै जनाले अनेक प्रयास गरे। यो दृश्य मञ्चमा हेरिरहँदा केही दर्शकको मन अत्तालिएको भाव उनीहरूको मुहारमा झल्किन्थ्यो। कोही अब के होला भनेर सोचमग्न देखिन्थे। किनभने यो दृश्य हाम्रै वाम्बुले राई समाजलाई प्रतिविम्बित गर्ने दृश्य थियो।

बेहोस सुम्निमालाई पानी छर्किएपछि उसको होस खुल्यो। हाम्रो समाजमा अझै पनि बिरामीलाई हत्तपत्त अस्पताल लैजाने कुरा प्राथमिकतामा पर्दैन‚ बरु धामीझाँक्रीलाई देखाउने परम्परा र प्रचलन छ। सुम्निमा बेहोस भएपछि परिवारले ज्वाम्चो (धामी)लाई जोखाना हेर्न लगाए।

जोखाना हेर्दै गर्दा धामीको दृष्टि सुम्निमाको सुन्दरतामा पर्छ। उसले बिरामी अर्थात सुम्निमालाई चिन्ता (धामी बसेको) राखी सेतो लुगाले शिरमा ओढाएपछि ठीक हुन्छ भनेर उनको परिवारलाई ढाढस दियो। त्यहीअनुसार चिन्ता बसाइयो।

वाम्बुले राईहरूमा कोही छिमेकी आफ्नो घरमा आए वा कुल/पितृ पूजा गर्ने वेला आएका छिमेकीलाई जाँडरक्सी खुवाउने संस्कार छ। यसैगरी चिन्तामा जाँडरक्सी खुवाइयो।

धामीले चिन्ता बस्दा र बसिसकेपछि पनि सुम्निमालाई हात लगाइरह्यो‚ सुम्सुम्याइरह्यो। तर पनि सुम्निमाले थाहा नपाएझैं गरेर धामीको सम्मानमा सहेरै बसिन्।

सुम्निमा आफ्नो धर्म संस्कृतिप्रति दृढ देखिन्थिन्। उनले नै मरेका आमाबुबालगायत अन्य पितृलाई फेली (मृत मानिसको आत्मालाई खुवाइने खाना, श्राद्ध) खुवाइन्।

चिन्ता सकिएपछि राति सबै आ-आफ्ना घरमा लागे। त्यसपछि धामी उनको कोठामा पस्यो र उनलाई जबरजस्ती करणी गर्ने प्रयास गर्‍यो। 

त्यसपछि सबैजना निदाइसकेपछि राति थाकेर सुतेकी सुम्निमालाई धामीले बलात्कार गरिछाड्यो। यो दृश्य तन्मयतापूर्वक नाटक हेरिरहेका दर्शकलाई भावविह्वल बनाउन पर्याप्त थियो।

सुम्निमाको चिच्याहट र रोदन कसैले सुनेन। बलात्कृत भएपछि उनी विक्षिप्तजस्तै भइन्। यसअघि पनि समाजमा कुनै महिला बलात्कृत भए समाजले महिलालाई न्याय नदिएको उनले देखेकी थिइन्।

एकपटक एकजना महिलाले आफ्नो बलात्कार भएको भनिरहँदा पनि समाजले वास्ता गर‍ेको थिएन। त्यस वेला उनलाई लागेको थियो- बलात्कारीले त ती महिलाको एकपटक बलात्कार गर्‍यो तर पिडित भएकी उनलाई न्याय नदिएर समाजले बारम्बार बलात्कार गरिरह्यो।

बलात्कार गरेपछि धामीले उनलाई अनेक डर देखाएर धम्की दिएर सुत्यो। तर उनी रातभर रुँदै बसिन्। सुम्निमाले आफूले अब के गर्ने कुनै मेसो पाइनन्। उनलाई थाहा थियो, आफू अन्यायमा परे पनि समाजले मलाई न्याय दिँदैन।

त्यसैले उनी धामीलाई मार्ने निर्णयमा पुगिन्। मस्त निन्द्रामा रहेको धामीलाई उनले आफ्नो सलले घाँटीमा कसेर बेरिन् र हत्या गरिदिइन्।

उनले यसअघि पनि कुनै महिलाको जब बलात्कार हुन्छ‚ समाजले उनैलाई दोषी ठान्छ र नकारात्मक नजरले हेर्ने गरेको देखेकी थिइन्। त्यसैले त आफूले आफैँलाई सिध्याउने निर्णयमा सुम्निमा पुग्छिन्।

अन्ततः जहाँ उनको बलात्कार भएको थियो‚ त्यही ठाउँमा सलले झुन्डिएर उनले आफ्नो अन्त्य गर्छिन्। यसपछि नाटक हलमा अन्धकार छाउँछ र निस्तब्ध पनि हुन्छ।

जब हल फेरि उज्यालो भयो, सेतो लुगामा बेरिएका सुम्निमा र धामीको शव भुइँमा राखिएको थियो। आफन्तहरू शोकाकूल थिए। हृदयविदारक गीत बज्छ। आफन्तहरू रोइरहे।

केही दर्शकका आँखाबाट समेत आँशु रसायो।

छिमेकी र आफन्तले दुवै शव वाम्बुले राई संस्कारअनुसार मृत्यु संस्कार गरे। किरात वाम्बुले राई जातिको मृतकलाई प्रायः गाड्ने चलन छ। राई समुदायमा तीन प्रकारको मृत्यु संस्कार रहेको छ- पहिलो बाल्यकालीन मृत्यु (ङाचा)‚ दोस्रो प्राकृतिक मृत्यु (सिन्ठो) र तेस्रो अप्राकृतिक वा अकाल मृत्यु (लान्ठो) मा गरिने संस्कार।

जस्तै कसैको झुन्डिएर वा लडेर मृत्यु भयो भने यस्तो मृत्युलाई अप्राकृतिक मृत्यु अर्थात लान्ठोमा गनिन्छ र त्यहीअनुसार मृत्यु संस्कार गरिन्छ।

सुम्निमाको मृत्यु पनि लान्ठोमा नै परेकाले यहीभित्र परि सुम्निमा। यसरी मृत्यु भएकालाई फेली दिन नमिल्ने भएकाले मलामीले चिहान खनेर धामीले भनेअनुसार मृत्यु संस्कार गरे। सुम्निमाको पनि गरे। अन्तिममा मुन्धुमी, आफन्त र मलामीले शवमा फलाक्दै भने, ‘सुम्निमा तिम्रो भाग्य यस्तै रहेछ, जहाँ गए पनि खुशी रहनु।’ यो दृश्यपछि नाटक सकिन्छ।

नाटकमा केवल समाजको चित्रमात्र छैन। वाम्बुले राई समुदायको सामाजिक जीवन, भाषा, दैनिकी, संस्कृति पनि देखाउन खोजिएको छ। यसमा वाम्बुले राईको सांस्कृतिक तथा ऐतिहासिक जीवन आकर्षक तरिकाले प्रस्तुत गरिएको छ।  

थापागाउँस्थित कुञ्ज थिएटरमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको बहुभाषिक नाट्य उत्सव २०७९ मा मंगलबार मञ्चन भएको किरात राई वाम्बुले भाषाको ‘सुम्निमा’ नाटकले नारीमाथि हुने शोषण देखाइएको थियो।

कविराज राई र रुपेश लामाको निर्देशन/परिकल्पनामा प्रस्तुत नाटकले एउटा ग्रामीण किरात समुदायको पितृसत्तात्मक सोच एउटी निर्दोष नारीमाथि थोपर्दाको प्रतिविम्बित गरेको छ।  

जुद्ध राईको कथामा नाटक तयार भएको हो। नाटकलाई श्रृष्टि राई, विपिन राई, मोहन राई, रक्की राई, स्वागत राई, निलेश राई, प्रेरणा राई, एलिना राई, नरेश राई, श्रृष्टि राई र असन राईले मञ्चमा जीवन्तता दिएका थिए। 

सुम्निमाको भूमिकामा श्रृष्टि राई थिइन् भने धामीको अभिनय मोहन राईले गरेका थिए। यसैगरी, बाजेको भूमिका विपिन राई, बजुको भूमिका श्रृष्टि राईले निर्वाह गरेका थिए। सुम्निमालाई मन पराउने कम्फेको अभिनय रुक्के विवश राई, पाठोमा निलेश राई, धामीको चेलामा अशन राईले अभिनय गरेका थिए। सुम्निमाको साथीमा एलिना राई, प्रेरणा राई, धने गाउँको साथीमा स्वागत र नाक्सो बाजेको भूमिकामा नरेश राई थिए।

रुपेश लामाको मञ्ज परिकल्पना, मञ्च निर्माण नाटक परिवारको, प्रकाश परिकल्पना इँगिहोपो कोइँच सुनुवारको रहेको थियो भने प्रकाश परिचालन देविन चौधरीले गरेका थिए। ध्वनी संयोजन कविराज राईले गरेका थिए भने व्यवस्थापन सीता राईको रहेको थियो। गीत एलिना राईले गाएकी थिइन् भने वेशभूषा लिम्बुज कलेक्सनले जुटाएको थियो। नाट्य समूहलाई मञ्चमा आवश्यक सामग्री (प्रप्स) वाम्बुले राई समाज नेपालले उपलब्ध गराएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.