|

काठमाडौं : रवि लामिछानेको पार्टीले घण्टी चुनाव चिह्न नपाउने भएको छ। टेलिभिजनको जागिर छाडेर राजनीतिक पार्टी खोलेका लामिछानेको दलले माग गरेको घण्टी चुनाव चिह्न अर्कै दलको नाममा रहेको निर्वाचन आयोगले जनाएको छ।

अर्कै दलले लिएको चुनाव चिह्न लिएर लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी दर्ताका लागि निर्वाचन आयोगमा गएका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीको नाममा दल दर्ता नगर्न यसअघि नै आयोगमा उजुरी परिसकेको छ। दल खोलेर राजनीतिमा लागेको घोषणा गरेका लामिछानेले विवाद आए दलको नाम परिवर्तन गर्ने बताएका छन्।

दलको नाममा मात्रै नभएर लामिछानेले माग गरेको चुनाव चिह्नसमेत अर्कै दलको नाममा रहेको पाइएको हो। आयोगमा दर्ता भएको राष्ट्रवादी पार्टीको चुनाव चिह्न घण्टी नै रहेको आयोगले जनाएको छ। आयोगका उपन्यायाधिवक्ता गुरु वाग्लेले कुनै एउटा दलको नाममा दर्ता भएको चुनाव चिह्न अर्को दलले पाउन नसक्ने जानकारी दिए।

राष्ट्रवादी दल अन्य कुनै दलमा गाभिएर १ वर्ष बितेको र अर्कै चुनाव चिह्न लिएको अवस्थामा मात्र सो चिह्न लामिछानेको दलले पाउन सक्ने उपन्यायाधिवक्ता वाग्लेले बताए। उनका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले घण्टी चुनाव चिह्न पाउने या नपाउने विषय छानबिनकै क्रममा छ।

गत असार ७ गते घोषणा गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीको नाम नै फेर्न दबाब झेलिरहेका लामिछानेमाथि आफूले रोजेको चुनाव चिह्नमा पनि बाधा आइपरेको हो। दलको नामविरुद्ध परेका २ वटा उजुरीबारे पनि आयोगले अध्ययन गरिरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.