|

काठमाडौँ: ललितपुर महानगरपालिका- १, कुपण्डोलमा रहेको मतदान केन्द्रमा अपांग मतदाताको लागि ह्विलचियरको व्यवस्था गरिएको छ। हिँड्न नसक्ने वृद्धवृद्धा र अपांग मतदाताका लागि ह्विलचियरको व्यवस्था गरिएको भारत मुजफ्परपुर घर भई हाल कुपण्डोलमा औषधि व्यापार गर्दै आएका समाजसेवी सुनील कन्दुइले बताए। 


९७ वर्षका मतदाता विष्णुप्रसाद न्यौपानेले सोही मतदान केन्द्रमा व्यवस्था गरिएको ह्विलचियरमा बसेर मतदान गरे। नयाँ पुस्ताका लागि मतदान गर्न आएको उनको भनाइ थियो। 

९१ वर्षकी गंगा थापा मगरले पनि सोही ह्विलचियरमा आएर मतदान गरिन्। राम्रोसँग सुन्न नसक्ने उनलाई छोराले साथ दिएका थिए। ​

१ नम्बर वडा कार्यालयमा रहेको मतदान केन्द्रमा ६० वर्षकी अपांग डा. शान्ति परियार थापाले ह्विल चियरमा आएर भोट खसालिन्। उनी भने विगत एक वर्षदेखि ह्विलचियरमै हिँड्ने गरेकी रहिछन्। भोट हालेर आउँदा उनको अनुहार उज्यालो थियो। देशको व्यवस्था राम्रो हुने विश्वासमा भोट हाल्न आएको बताइन्। भोट हाल्न पाउँदा खुसी लागेको थापाले बताइन्।  

जापानमा ह्विलचियरमा हिँड्नेहरूका लागि निकै राम्रो सुविधा भएको भन्दै उनले थपिन्, 'हाम्रो नेपालमा ह्विलचियरमा हिँड्नेहरूका लागि सडकको कुनै व्यवस्था छैन। अब बन्ने सरकारले यो व्यवस्था गरे हुन्थ्यो।' बाटोमा हिँड्दा ह्विलचियरमा हिँड्नेका लागि कुनै सार्वजनिक शौचालय नभएको हुनाले आफूलाई समस्या भएको बताउँदै उनले भनिन्, 'अब बन्ने स्थानीय सरकारले अपांगहरूका लागि शौचालयको व्यवस्था गर्नुपर्छ।'

सोही मतदान केन्द्रमा भोट हाल्न आएका नरेश खड्काको हात प्लाष्टर गरिएको थियो। उनको हात केही दिन अगाडि मोटरसाइकल दुर्घटनामा परी भाँचिएको भए पनि उनी २० वर्षपछि हुन लागेको स्थानीय तह निर्वाचनमा भोट हाल्न पाउँदा दंग थिए। नरेशले पार्टीगतभन्दा पनि राम्रो उम्मेदवारलाई भोट दिने बताए।
सो मतदान केन्द्रमा दुई हजार ४५६ जनाले भोट हाल्दै छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.