‘संविधानले भनेजस्तो समाजवादतर्फ जान समाजवादी कार्यक्रम चाहिएन?’

|
फाइल फोटो

काठमाडौं : सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले दुईतिहाइ बहुमत प्राप्त केपी ओली नेतृत्वको सरकारले अपेक्षाअनुसार काम गर्न नसक्दा जनतामा निराशा छाएको दाबी गरेका छन्। 

६४ औं संसद दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ओली नेतृत्वको तत्कालीन नेकपाको सरकारले समृद्धिको खोक्रो नारा लगाए पनि त्यसका लागि आवश्यक नीति तथा कार्यक्रम ल्याउन नसकेको आरोप लगाएका हुन्। 

‘दुईतिहाई बहुमतको सरकार बन्यो नि। नेकपाले दुईतिहाई बहुमत ल्यायो। तर त्यो दुई तिहाई बहुमतको सरकारबाट जे अपेक्षा गरिएको थियो। त्यो हुन सकेन। अव यो दुई तिहाईको सरकारले गर्ला भन्ने आम जनताले आशा गरेका थिए तर माछोमाछो भ्यागुतो भयो। केही पनि भएन। एउटा उद्योग पनि बनेन। अगाडि बढेन’ उनले भने। 

मुलुकलाई समृद्ध बनाउन समाजवादी नीति तथा कार्यक्रम आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि गहन छलफल चलाई दिन पूर्व सांसद मञ्च, नेपाललाई आग्रह गरे। संविधानले समाजवादी बाटोतिर जान निर्देश गरेपनि सरकार र राजनीतिक दलहरुले सोही अनुसारको नीति तथा कार्यक्रम ल्याउन नसकेको उनको निष्कर्ष छ। 

‘निर्वाचनका परिणामहरू अहिले सबै दलले पढ्नुपर्ने एउटा ग्रन्थको रुपमा हाम्रो सामू आएका छन्। त्यसको अनुभवहरु के हुन? शिक्षाहरू के हुन? आगामी निर्वाचन पनि आउँदैछ। त्यो निर्वाचनमा पनि सोचौं। हामीले यो देशमा जनवादी क्रान्ति सम्पन्न गर्‍यौं, अब संविधानले भनेजस्तो समाजवादतर्फ जाने हो भने त समाजवादी कार्यक्रम चाहिएन?’ उनले प्रश्न गर्दै भने, ‘समाजवादी नीति चाहिएन? त्यो समाजवादी नीति तथा कार्यक्रम कस्तो हुन्छ त? अब नेपालमा। त्यसबारेमा हामीले गहन ढंगले छलफल गर्दै भविष्यको नेपालको परिकल्पना गरेर अगाडि बढ्नुपर्ने हुन्छ। पूर्व सांसद मञ्चले पनि यसबारेमा सोचोस्। एउटा बहस गराउनुहोस् नै तपाईंहरू।’

नयाँ संविधान निर्माण भएपछि बनेका सरकारहरुले आफ्नै भूगोल अनुरुपको एउटा पनि उद्योगधन्दा स्थापना गर्न नसकेको भन्दै असन्तुष्टिसमेत व्यक्त गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.