|

काठमाडौं : लाइभ दोहोरीको नाममा गाइने अभद्र र असामाजिक गीतप्रति आफूहरूको ध्यानाकर्षण भएको लोक दोहोरी प्रतिष्ठानका अध्यक्ष रमेश बीजीले बताएका छन्। शुक्रबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै लाइभ दोहोरीमार्फत समाजमा विकृति फैलाउने खालका गीतले आफूहरूको ध्यानाकर्षण भएको जनाएका हुन्। 

स्टाटसमा उनले लेखेका छन्, 'प्रत्यक्ष दोहोरीका नाममा केही व्यावसायिक यूट्यूबहरूमार्फत प्रस्तुत गरिएका असामाजिक अभद्र र असामाजिक गीत र कलाकारहरूका बारेमा लोक दोहोरी गीत संगीतका सम्पूर्ण शुभचिन्तक सर्जक स्रष्टाहरुको दुखेसो गुनासो र आक्रोशप्रति प्रतिष्ठानको ध्यान अवश्य गएको छ। अझै सम्मानित स्रष्टाहरू नै सम्मिलित भएको ठाउँमा त्यस प्रकारको निर्लज्जता अत्यन्तै दुःखद छ।' 

संस्थाका तर्फबाट बारम्बार अनुनय विनय गर्दा पनि बेवास्ता गरेका र असामाजिक रूपमा प्रस्तुत भएका कलाकारहरूलाई पत्र पठाई प्रतिष्ठानको कार्यालयमा बोलाएर स्पष्टीकरण माग्ने तयारी भइरहेको पनि उनले बताएका छन्। 

कोही एक व्यक्तिको कमजोरीका कारण संस्थालाई आरोप नलगाउन आग्रह गर्दै उनले लेखेका छन्, 'कृपया कसैले लोभ लालच र व्यक्तिगत स्वार्थका कारण गरेका कमी कमजोरीका कारण संस्थाप्रति विष वमन नगर्नु हुन पनि सादर अनुरोध गर्दछु।'


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.