वाम गठबन्धनबारे वामदेवको प्रस्तावमा प्रचण्ड-माधव सकारात्मक, ओली मौन

|

काठमाडौं : शेरबहादुरजी ज्योतिष विद्यामा बडो विश्वास गर्नुहुन्छ। यो असार महिना नेपालको राजनीतिमा उलटफेरवाला महिना छ। उहाँले उहाँको ज्योतिषीलाई बोलाएर सोधे हुन्छ। 

नेपालको राजनीतिमा उलटफेर भई समीकरणहरू भताभुङ्ग हुन्छ। एउटाले एउटा खाँबो बोकेर हिँड्ने, अर्कोले अर्को बलो बोकेर हिँड्ने हुनेछ। स्थानीय चुनावको एक महिनापछिको अवधि  ग्रहदशाका हिसाबले असाधारण छ। आफैँले भताभुङ्ग पार्नेखालको स्थिति छ। शेरबहादुरजीलाई म सुझाव दिन्छु। ज्योतिषीलाई बोलाएर सोध्नुस्। असार १७ गते कस्तो दिन छ?

आफू म ज्योतिषी होइन। ज्योतिषी बोलाएर सोध्नुस्, असार १७ गतेले के भन्छ? म चाहन्छु १७ गतेपछि यो गठबन्धन कायम होस्, अगाडि जाओस्। तर राजनीति दुई ध्रुवमा होस् भन्ने चाहन्छु। कुरा गर्नुपर्दा  १० ठाउँमा भन्दा एक ठाउँमा गर्न चाहन्छु।’

यो माथिको अभिव्यक्ति नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वैशाख १४ गते टेलिभिजनसँगको अन्तर्वार्ताका क्रममा दिएका हुन्। ज्योतिषीकाे कुरा भन्दै उनले पाँचदलीय गठबन्धन स्थानीय तहको निर्वाचनपछि सग्लो नहुने दाबी समेत गर्न भ्याए। 

ओलीले दुई पटक संसद विघटन गरेपछि बनेको नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनामोर्चाबीच गठबन्धन बनेको थियो।

जसले ओलीलाई सत्ताबाट मात्रै झारेन स्थानीय तहको चुनावमा पनि एमाले पहिलो दलबाट दोस्रोमा झर्‍यो। निर्वाचनअघि ओलीकाे एकमात्रै लक्ष्य थियाे गठबन्धन टुटाउने। तर उनी सफल भएनन्। त्यसकाे परिणाम वैशाख ३० काे स्थानीय तह निर्वाचनकाे नतिजाले भाेगिसकेका छन्।

उनले एकपटक मात्रै हाेइन बारबार पाँचदलीय गठबन्धनको आयु नै असार १७ गते भएको बताउँदै आएका थिए।  

‘देउवाजी ज्योतिषीमा धेरै विश्वास गर्नुहुन्छ। त्यसैले जेठ र असारको महिना कस्तो छ, बोलाएर सोध्नुहोस्। असार १७ गते कस्ता नक्षत्र र ग्रहहरु छन्, ज्योतिषीलाई बोलाएर हेर्नुहोस् भनेको छु, विचराहरुको सातो गएको छ होला’ वैशाख २४ मा विराटनगरकाे चुनावी सभालाई सम्बोधन गर्दै ओलीले भनेका थिए।

ओलीले भनेझैं असार १७ मा पाँच दलीय गठबन्धन विभाजनको अवस्थामा पुगेको छैन। तर, गठबन्धनका दलहरुप्रति अविश्वास भने बढ्दै गइरहेको सत्य हाे। 

आगामी प्रदेश र संघको निर्वाचनको सिट विभाजनमा कुरा नमिल्दा गठबन्धन विभाजन हुनसक्ने अवस्था देखिएको छ। तर गठबन्धनका दलहरू सम्मानजनक एकता खोज्दै गठबन्धन पनि जोगाएरै जानुपर्ने पक्षमा अडिग छन्। 

गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेसका नेताहरूले सभापति देउवालाई गठबन्धनविरुद्ध दबाव बढाइरहेका छन्। गठबन्धन गर्नै परे प्रतिनिनिधसभाको प्रत्यक्ष १ सय ६५ सिटमध्ये कम्तिमा एक सय सिट लिएर जानुपर्ने उनीहरुको अडान छ। त्यो अवस्था सहयात्री दलहरुले नमान्न सक्ने भएकाले गठबन्धनबाट बाहिँरिदा नै फाइदा पुग्ने भन्दै संस्थापनइतर पक्षले देउवामाथि दबाब बढाइरहेकाे छ।

तर ०७४ सालकाे निर्वाचनकाे नतिजाले बिच्किएका देउवा गठबन्धनविरूद्व जाने पक्षमा छैनन्।गठबन्धनकाे विराेध गर्ने नेताहरूलाई उनी ०७४ सालमा एमाले-माओवादी मिल्दाको अवस्थालाई हेर्न सुझाउँछन्। 

‘ओलीको भनाइको अर्थ छैन’

यता, आगामी निर्वाचनसम्म गठबन्धनलाई लानुपर्छ भन्नेमा कांग्रेस स्पष्ट भएकाले ओलीको भविष्यवाणीको अर्थ नभएको कांग्रेस प्रवक्ता प्रकाशशरण महत बताउँछन्। 

‘उहाँले कसरी कसको भविष्णवाणी गर्नुहुन्छ,त्याे उहाँकाे कुरा हाे। ओलीजीले गठबन्धन टुटाउने प्रयास अहिले मात्रै हाेइन पहिल्यैदेखि  गर्नुभएकाे हाे। अहिलेसम्मको उहाँकाे प्रयास सफल हुन पनि सकेको छैन। हुन्छ जस्तो पनि लाग्दैन’ उनले दाबी गर्दै भने। 

ओलीकै प्रतिगमनकाे कारणले गठबन्धन बनेको भएकाले त्यसको उद्देश्य पूरा भइनसकेको उनकाे बुझाइ छ। 

‘ओलीजी नै संविधान र लोकतन्त्रविरुद्ध गएपछि गठबन्धन बनेको हो। गठबन्धनका हरेक नेताहरु ओली प्रवृत्तिविरुद्ध जानुभएको छ। त्यसैले गठबन्धन टुट्छ भन्ने लाग्दैन’ उनले भने, ‘स्थानीय तहको नतिजाका कारण केहि दलहरूले असन्तुष्टि जनाउनुभएकाे हाे। हामीले त्यसबारे समीक्षा गरिरहेका छौँ। सहमतिकै आधारमा अघि बढ्छौँ।’

त्यसो त ओली ओलीको गठबन्धन टुटाउनका लागि षड्यन्त्र असफल भएपछि हावादारी भबिष्यवाणाी गरेको माओवादी केन्द्रका नेता हरिबोला गजुरेल दाबी गर्छन्। 

‘उहाँले गठबन्धन टुटाएर आफूलाई पहिलो शक्ति स्थापित गराउने लक्ष्य राख्नुभएको थियो। त्यो सफल भएन। उहाँको गफबारे टिप्पणी गर्नुपर्छ जस्तो लाग्दैन’ उनले भने, ‘गठबन्धनप्रति हामी इमानदार छौँ। स्थानीय तहको निर्वाचनले पनि त्यो पुष्टि गरिसकेको छ। हामी गठबन्धनलाई आगामी निर्वाचनसम्म मात्रै नभएर ओली प्रवृत्तिको अन्त्य नभएसम्म लानुपर्छ भन्ने पक्षमा छौँ।’ 

तर माओवादीका नेता वर्षमान पुन भने सिट बाँडफाँड सम्मानजनक नहुने हो भने कांग्रेसको पछि लागिरहनु आवश्यक नरहेकाे बताउँछन्।

वामदेव इन्ट्री !

गठबन्धन टुटाउने ओलीको पटक-पटकको प्रयास बिफल बनिरहेका बेलामा ‘कम्युनिष्ट एकता’ भन्दै वामदेव गौतमको ‘इन्ट्री’ भएको छ। साविक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवादमा एकता अभियान थालेका गौतमले अहिले नेकपा एकता राष्ट्रिय अभियान पार्टी नै घोषणा गरेर कम्युनिष्टहरूलाई एकताबद्ध बनाउन लागिपरेका छन्। 

मंगलबार दल घोषणा गरेका नेता गौतमले आफ्नो पार्टी निर्माणको कामै पूरा नगरी कम्युनिष्ट घटकका शीर्ष नेताहरुसँगको भेटवार्तालाई तिव्रता दिन थालेको छन्। बिहीबार नै गौतमले एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालसँग भेटवार्ता गरे। 

साविक नेकपा पार्टी विभाजनपछि आ-आफ्नै नेतृत्वको पार्टी चलाइरहेका तीनै जना अध्यक्षलाई भेटेर गौतमले पार्टी एकता नभए, वाम गठबन्धन र त्यो पनि सम्भव नभए चुनावी तालमेलको प्रस्ताव राखेको नेकपा एकता राष्ट्रिय अभियान पार्टीका  प्रवक्ता निमाकान्त पाण्डेले बताए। 

उनले भने, ‘हाम्रो पहिलो प्राथमिकता भनेको नै नेकपा पुनर्गठन गर्नु हो। त्यही प्रस्ताव उहाँ (वामदेव गौतम)ले ओली, प्रचण्ड र माधवजीसमक्ष राख्नुभएको छ। हामीले त्यसबारे उहाँहरुको जवाफपछि हामी थप कदम चाल्छौँ।’

गौतमको प्रस्तावमा प्रचण्ड र नेपालले सकारात्मक प्रतिक्रिया दिएको भएपनि ओलीले स्पष्ट जवाफ नदिएको उनकाे भनाइ छ। 

‘स्थानीय तहको निर्वाचनमा कम्युनिष्टहरु एक भएर जान सकेको भए कांग्रेस पहिलो दल हुँदैनथ्यो। यहाँ कम्युनिष्टहरुको घर झगडाले कांग्रेसलाई फाइदा पुगेको छ। त्यसैले नेताहरु गम्भीर भएर लागे हाम्रो अभियान सफल हुन्छ’ उनले भने। 

बन्नसक्छ कांग्रेस बाहेकको गठबन्धन !

त्यसो त ओलीको भविष्यवाणी गरेजस्तै गठबन्धनमा भाँडभैलो नभएको होइन। कांग्रेसबाहेक माओवादी, एकीकृत समाजवादीसहित साना दललाई गठबन्धन अत्यावश्यक छ। स्थानीय तहकाे निर्वाचनमा साेचजस्ताे परिणाम ल्याउन नसकेकाे एमालेलाई पनि गठबन्धन टुटाउनैपर्ने बाध्यता छ।

स्थानीय तहको निर्वाचनमा कांग्रेस पहिलो दल बनेपनि अन्य दलहरूले सोचजस्तो परिणाम ल्याउन नसकेको भन्दै सन्तुष्ट बन्न सकेका छैनन्। 

प्रचण्डले आगामी निर्वाचनको नतिजालाई केन्द्रमा राखेर पूर्वमाओवादी एकतालाई जोड दिइरहेका छन्। जसपाबाट अलग हुने अवस्थामा पुगको डा. बाबुराम भट्टराई, नेत्रविक्रम चन्द्र विप्लव ‘नेतृत्व’को नेता कार्यकर्ता, मोहन वैद्यलगायतका पूर्व माओवादी धारका नेतालाई एकजुट बनाउने अभियानमा प्रचण्ड लागेका छन्। 

गठबन्धनबारे सोचेजस्तो परिणाम ल्याउन नसकेको एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पनि वाम एकताको प्रशंग बारम्बार उठाइरहेका छन्। त्यति मात्रै नभएर गठबन्धनभित्र कांग्रेसले सम्मानजनक भागबण्डा नगरे माओवादी, एकीकृत समाजवादी र जसपाको छुट्टै गठबन्धन गर्नेबारे पनि गृहकार्य थालिएको छ। 

देउवालाई गठबन्धन छाड्न पार्टीभित्रबाटै दबाव बढिरहेको बेलामा प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवबीच पछिल्लो पटक शुक्रबार पनि भेटवार्ता भएको छ। तीन नेताबीच आगामी गठबन्धनबारे छलफल भएको स्रोतको दाबी छ। स्थानीय तहको निर्वाचनपछि एमालेलाई टक्कर दिन कांग्रेसबाहेकको गठबन्धनको प्रयास भइरहेको छ। 

त्यसो त कांग्रेसबाहेकको गठबन्धन बनाउनेबारे शीर्ष नेताहरुबीच छलफल चलेको हुनसक्ने बताउँछिन् एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री। 

‘गठबन्धनबारे शीर्ष तहमा छलफल भएको हुनसक्छ। तर हामीले कांग्रेससहितको गठबन्धन नै गर्नुपर्छ भनिरहेका छौँ। आजसम्मको पार्टीको निर्णय गठबन्धनमा जानुपर्छ। तर सम्मानजनक हुनुपर्छ भन्ने नै हो’ उनले भनिन्, ‘गठबन्धनभन्दा बाहिर पार्टीले मात्रै नभएर व्यक्तिहरूले पनि सोचेजस्तो लाग्दैन। पार्टीको परिस्थिति पनि गठबन्धनभन्दा बाहिर सोच्ने खालको छैन।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.