|

तुलसीपुर :  जिल्लामा बाह्रौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ। शुक्रबार तुलसीपुर उपमहानगरपालिका- १७ स्थित बेलझुण्डी रङ्गशालामा शुरु भएको हो। प्रतियोगिताको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा शहरी विकासमन्त्री डिल्लीबहादुर चौधरीले खेल क्षेत्रको स्वामित्व र अपनत्व लिन प्रदेश सरकार तयार रहेको बताए।

उनले खेल क्षेत्रमा अझै पनि केन्द्रीकृत अधिकारको विकेन्द्रीकरण हुन नसकेको भन्दै संघीय संरचनाले अधिकार जमाइरहेको र त्यसलाई जबर्जस्त रुपमा तोडेर खेल क्षेत्रको अधिकार प्रदेश सरकारले लिने पनि बताए।

उनले भने, ‘खेल क्षेत्र एउटा टिम बिल्डिङको क्षेत्र भएकाले यसले राष्ट्रिय एकतालाई समेत मजबुत बनाउने गर्छ। बेलझुण्डी रङ्गशालाको जीर्णोद्धार तथा निर्माण भइसकेका संरचनाको संरक्षणमा प्रदेश सरकारले कार्यविधि बनाएर स्वामित्व लिन थालेको छ। अब यो रङ्गशाला र जिल्ला खेलकुद विकास समितिको पनि स्वामित्व हामीले लिनेछौं।’

उनले जीर्णोद्धार भवन मर्मतका लागि प्रदेश सरकारले आवश्यक बजेट विनियोजन गर्ने र खेल क्षेत्रमा संघीयता कार्यान्वयनमा ल्याउन र जिल्ला समन्वय समितिको काम कर्तव्य र अधिकारलाई थप प्रभावकारी बनाउन प्रदेश सरकार लागिसकेको पनि उल्लेख गरे। त्यस्तै कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिकाकी कार्यवाहक मेयर स्यानी चौधरीले उपमहानगरले खेल क्षेत्रमा आवश्यक मात्रामा बजेट विनियोजन गर्दै आएको बताइन्।

उनले उपमहानगर क्षेत्रमा रहेका खेल संरचनाहरूको स्वामित्व लिन पनि आफूहरू तयार रहेको बताइन्। उनले भनिन्, ‘खेल क्षेत्रलाई जोगाउन अब स्थानीय सरकार लाग्नुपर्छ। यो रङ्गशालालाई खेलाडीहरूको कुम्भ मेलाका रूपमा स्थापित गर्ने हामीले तयारी गरिसकेका छौं।’  

यस्तै लुम्बिनी प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव जयप्रकाश भट्टराईले दाङ जिल्ला पछिल्लो समयमा खेलजगत् अग्रगामी लक्ष्यमा पुग्न नसकेको बताए। उनले अझै पनि खेल क्षेत्रमा संघीयता आइनसकेको भन्दै खेलकुद क्षेत्रमा देखिएको केन्द्रीकृत अभ्यासलाई संघीयताको संरचनामा ल्याउनुपर्ने बताए।  

उनले यहाँको खेल जगत्‌ले प्रदेश, राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलमा पनि दाङ जिल्लाले आफ्नै पहिचान बनाइसकेको बताए। यस्तो खेल क्षेत्रको कुम्भ मेला हुने स्थानमा खेल क्षेत्र भने उत्साहित बन्न नसकेको पनि उनको भनाइ थियो। यस्तै उनले प्रदेशस्तरीय खेलकुद प्रतियोगिता पनि दाङमै हुने पनि बताए। यही असार २४ गतेदेखि २६ गतेसम्म प्रदेशस्तरीय खेलकुद प्रतियोगिता दाङमा सञ्चालन हुने उनको भनाइ थियो।

३ दिनसम्म सञ्चालन हुन जिल्लास्तरीय प्रतियोगितामा विभिन्न ६ विधाका खेलमा खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। प्रतियोगितामा भलिबल, एथ्लेटिक्स, कराते, कवड्डी, तेक्वान्दो खेल हुने भएका छन्।

वार्षिक आयोजना हुने राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता कोरोना भाइरसको संक्रमणका कारण विगत दुई वर्ष आयोजना हुन सकेको थिएन। प्रतियोगितामा उसु समावेश भए पनि जिल्लामा खेल मैदान अभावका कारण उसु भने हुनेछैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.