|

काठमाडौं : नेपाल चेम्बर अफ कमर्सले चीनसँगको व्यापार सहजीकरणका लागि नवनियुक्त राजदूत विष्णुपुकार श्रेष्ठलाई आग्रह गरेको छ।

चेम्बरका पदाधिकारीहरूले राजदूत श्रेष्ठसँग आज (शुक्रबार) भेटवार्ता गरी नेपाल चीन व्यापार सहजीकरण गर्ने विषयमा छलफल भएको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ।

चीनका लागि नवनियुक्त राजदूत श्रेष्ठसँगको भेटमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले दुई मुलुकबीच भन्सार सहजीकरणमार्फत नेपालको निर्यात बढाउनुपर्नेमा जोड दिए। उनले नेपालबाट कृषि, हस्तकलाका सामान, मूर्तिजन्य वस्तुको निर्यात प्रवर्द्धन गर्न भन्सारमा उच्चस्तरीय प्रयोगशाला निर्माण गर्नुपर्ने बताए। ग्वाङझाउ तथा ल्हासास्थित महावाणिज्य दूतावासलाई नेपाल चीन व्यापार सहजीकरणका लागि क्रियाशील बनाउनुपर्ने अध्यक्ष मल्लको भनाई छ।

नेपाल चीनबीच केरुङ भएर हुने व्यापारका अनावश्यक खर्च आयातकर्ताले बेहोर्नु परेकोले व्यावसायीक लागत अत्यधिक बढ्न गएकोप्रति अध्यक्ष मल्लले राजदूत श्रेष्ठको ध्यानाकर्षण गराएका चेम्बरले जनाएको छ। सीमा नाकामा हुने अनावश्यक खर्च हटाउन र भन्सार तथा परिवहन प्रक्रिया सहज बनाउन पनि उनले आग्रह गरे।

चिनियाँहरूको विश्व भ्रमण गर्ने प्रवृत्ति बढको सन्दर्भमा त्यसको फाइदा नेपालले पनि लिन सक्नुपर्ने अध्यक्ष मल्लको भनाइ छ। नेपालको पूर्वाधार विकासमा चिनियाँ लगानी भित्र्याउने पहल गर्नसमेत उनले राजदूत श्रेष्ठलाई आग्रह गरेका छन्। नेपालको कृषि उत्पादकत्व वृद्धि गर्न प्रविधि हस्तान्तरणको पहल गर्न उनले जोड दिए।

नवनियुक्त राजदूत श्रेष्ठले आफ्नो कार्यकालमा दुई मलुकबीचको आर्थिक र कूटनीतिक सम्बन्ध उच्चस्तरमा लैजान आफूले अधिकतम पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको चेम्बरले जनाएको छ। राजदूत श्रेष्ठले भन्सारमा व्यापार सहजीकरण गरि नेपालमा उत्पादित वस्तुको निर्यातका लागि पनि पहल गर्ने आश्वासन दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.