प्रदेश लोक सेवा आयोग भन्छः बद्‌मासी भएको छैन

|

धनगढी : सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले वन रक्षक पदमा गत चैत १२ गते आवेदन खोल्यो।

आयोगले तहविहीन वन रक्षक पदमा १ सय ६७ जना माग गरेको थियो। लोक सेवा आयोगले वन रक्षक, नेपाल वन, जनरल फरेस्ट्रीमा खुला, महिला, आदिवासी, जनजाति, मधेशी, दलित, अपांग, पिछडिएको क्षेत्रबाट आवेदन माग गरेको थियो। सबैभन्दा धेरै खुलातर्फ ९२ जना वन रक्षक मागेको थियो भने सबैभन्दा थोरै पिछडिएको क्षेत्रतर्फ ३ जना वन रक्षक माग गरिएको छ।

१ सय ६७ पदका लागि ३५ हजार १८ जनाको आवेदन परेको प्रदेश लोक सेवा आयोगका सूचना अधिकारी हिरालाल चौधरीले बताए। उनले वन रक्षकको प्रयोगात्मक परीक्षा अहिले जारी रहेको बताए।

तर वन रक्षकका लागि आवेदन दिएकाहरूले भने लोकसेवाकै प्रयोगात्मक परीक्षा स्वच्छ नभएको र अस्वस्थ भएको बताएका छन्। लोकसेवाले लिने परीक्षामा समेत गडबडी र जालझेल भइरहेको उनीहरूको गुनासो छ। उनीहरूले आर्थिक लाभमा कर्मचारी र सुरक्षा निकायका अधिकारीले बदमासी गर्दै आएको बताएका छन्।

दौड, पौडी तथा रुख चढेका परीक्षार्थीहरूलाई पक्षपात गरिएको गुनासो छ। नतिजामा रुख नचढेका परीक्षार्थीलाई उत्तीर्ण गरिएको, पास मात्र भएकालाई राम्रो र राम्रोलाई अति राम्रो लेख्ने गरिएको बताएका छन्।

नाम नखुलाउने शर्तमा एक परीक्षार्थीले भने, ‘मैले रुख चढ्न सकिनँ‚ म फेल भएको थिएँ। तर मलाई पास गराउनुपर्ने भए ५० हजार रूपैयाँ दिनु भन्दै रकम माग गरे। ५० हजार दिए पास हुने रहेछ।’ घुस खाएर पास गराइदिन्छु भन्ने बिचौलियाको लोकसेवामा समेत बिगबिगी रहेको उनको दाबी छ।

उनीजस्तै एक अर्का परीक्षार्थीले भने, ‘पैसा मागेको त मैले देखिनँ। तर फिजिकलमा आफ्ना मान्छेलाई बढी नम्बर दिइएको छ। पास भएकालाई गुड, गुड निस्किएकाहरूलाई एक्सिलेन्ट निकालिएको छ।’ परीक्षार्थीहरूले अत्तरियामा शुरुको भन्दा दौडको दूरीसमेत बढाएको गुनासो गरेका छन्।

वन रक्षकका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेकाले आवेदन दिएका छन्। उनीहरूको अहिले प्रयोगात्मक परिक्षा हुँदैछ। कक्षा ८ उत्तीर्ण गरेकाले आवेदन दिन पाउने उक्त पदमा ठूलो संख्यामा आवेदन परेकाले छनोटमा समस्या देखिएको बताइएको छ।

प्रयोगात्मक परीक्षामा रकम लिएको र उत्तीर्ण  भएकाहरूको नतिजामा बदमासी गरेको गुनासो गरिएका बेला प्रदेश लोक सेवा आयोगले भने उक्त आरोप अस्वीकार गरेको छ। प्रदेश लोक सेवा आयोगले प्रयोगात्मक परीक्षामा कुनै प्रकारको बदमासी नभएको तर्क गरेको हो।

प्रदेश लोक सेवा आयोगका सूचना अधिकारी चौधरीले बदमासीको सम्भावना नभएको जिकिर गरे। उनले भने, ‘त्यस्तो सम्भावना छ र? देख्नु हुन्छ? नचाहिने कुरा। कुनै मन्त्रीले, प्रधानमन्त्रीले भनेर पनि हुँदैन। हजारौं मान्छेका बीचमा हुने जाँचमा फेल भएकालाई कसैले पास बनाउन सक्छ?’

लोक सेवा आयोग सुदूरपश्चिमले सबै आवेदकहरूको प्रयोगात्मक परीक्षा लिन सकेको छैन। लिखित परीक्षाका लागि सूचनासमेत सार्वजनिक गरेको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.