'संगीतको स्पष्ट ज्ञान नभएसी सिर्जनामा ह्रास आउनु स्वाभाविक हो'

|

काठमाडौं : नेपाली लोक सांगीतिक दुनियाँमा तीन वर्ग देखिएका छन्। पहिलो वर्ग जो आवश्यकताभन्दा छिटो भोलिका लागि भन्दै संगीतलाई नै परिवर्तन गरिदिन्छन्।

दोस्रो वर्ग जसले लोकसंगीत धेरै परिवर्तन हुनुहुँदैन भनिठान्छ। पुरानै ढर्रामा चलिरहन मन पराउने उनीहरूका सिर्जना पनि पुरानो शैलीमा छन्।

तेस्रो वर्गले मौलिकतालाई बचाउँदै हिजो र भोलिलाई हेरेर आज लोकसंगीत क्षेत्रमा पुलको काम गरिरहेको छ। यो वर्ग संक्रिय भइञ्जेल कसैले पनि लोकगीतलाई भत्काउन सक्दैन भन्ने आम बुझाइ छ।

नेपाली लोकदोहोरी क्षेत्रमा कैयौँ सर्जकहरू काम गरिरहेका छन्। आफ्ना सिर्जनामा मिहिनेत गरेका छन्। तीनैमध्ये एक हुन् रोइला गायक शिरिष देवकोटा। उनी 'खेली' (जसलाई रोइला भन्ने गरिन्छ) रोइला गायकको रूपमा परिचित छन्।

अहिले विभिन्न किसिमका लोकगीतहरू बजारमा छन्। कुनै लोकगीतका नाममा भद्दा गायन पनि आइरहेका छन्। कोही वर्षौंदेखि हाम्रा सामाजिक तथा सांस्कृतिक महत्वका गीतमा मिहिनेत गरिरहेका छन्।

अहिले लोक तथा दोहोरी गीतको बहार आएको छ। हरेक चोक तथा गल्लीमा लोक गीत घन्किन थालेका छन्। तर, कतिपयले नेपालका पुराना मौलिक गीतहरू हराउँदै गएको चिन्ता व्यक्त गरेका छन्।

गायक देवकोटासँग नेपाली मौलिक गीत र रोइलासँग विशेष रहेरे थाहाखबरले कुराकानी गरेको छ।

किन हराउँदै जाने रहेछन् हाम्रा मौलिक गीत?

मौलिक गीतहरू हराउनुको मुख्य दोषीका रूपमा अहिले व्यावसायिकतालाई दिने, आधुनिकतालाई दिने, नयाँ पुस्तालाई नै दिने देखिन्छ।

अर्को कुरा व्यवसायमा जे चल्छ त्यसैमा व्यापार गर्नुपर्छ भन्ने पनि मान्यता देखिन्छ। भेल छोप्नेहरुलाई हिजो मौलिक गीत के थिए? भोलि के हुन्छ मतलव भएन।

पुराना गीत चल्दैन भन्ने आम धारणा पनि बनिदियो। कलाकार सिर्जनशील हुन सकेनन्। मौलिक सिर्जनशीलता हुन नसकेपछि हाम्रा मौलिकता विस्तारै लोप हुँदै गए।

नयाँ पुस्ता वा व्यावसायिकताको नाममा मौलिक गीत हराएका हुन् भन्ने आधार हो?

म यसमा पनि सहमत छैन। नयाँ पुस्तालाई मौलिकतालाई भुले भन्ने कुरा  सान्दर्भिक हुँदैन। किनभने उनीहरू मौलिकतासँग परिचित नै हुन पाएनन्।

हिजो बुबा हजुरबुबाहरूको काखमा बसेर मौलिक गीत सुन्ने पुस्ता थियो। तर, आधुनिकताले गाउँबाट मान्छे हराए। मान्छेसँगै  गीत गाउने आँगन हराए। आँगन मात्र हराएन, गीतमा आवश्यक पर्ने मौलिक बाजा हराए। जसले गर्दा नयाँ पुस्ताले हाम्रा मौलिक संस्कृतिलाई महसुस गर्न पाएनन्।

यो विडम्बना बनिदियो।  उनीहरूलाई गीतको संरचना थाहा छ: तर, कुन बेला कस्ता गीत गाइन्छ भन्ने थाहा छैन। स्पष्ट ज्ञान नभएसी सिर्जनामा ह्रास आउनु स्वाभाविक हो। नयाँ पुस्तालाई नै पूर्ण दोषी देखाउनु गलत हो।

नयाँ पुस्ताले मौलिकता भोग्न पाएनन् भन्ने कुरामा सहमत छु। उता अग्रज पुस्ताले मौलिक गीत संरक्षण गरेकै हुन्। कतै न कतै कमजोरी भएको छ नि?

पक्कै पनि कमजोरी भएको छ।  स्थापित सर्जकहरूसमेत मौलिक गीतमा संरक्षणमा नलागेर नयाँ चिजमा आकर्षित भएपछि कमजोरी सुरु भएको छ।  यसैक्षेत्रबाट स्थापित हुने र जीविकोपार्जन गर्नेले यसको संरक्षणमा पनि उत्तरदायित्व बहन गर्नुपर्छ।

व्यावसायिक गीत गाउने सर्जकले १० वटा गीत निर्माण गर्दा हराउँदै गएका मौलिक गीतमध्ये एउटा भए पनि मौलिक गीतको संरक्षणमा मिहिनेत गर्नुपर्छ।

हिजो आमाले घाँस काट्दा गाएका गीत, गोठालो जाँदा गाइने गीत निकालौं। पार्टी भञ्याङ चौतारीमा गाइने गीत वा होस् हाम्रा सांस्कृतिक तथा महत्वका गीतका बारेमा गम्भीर भएर लगानी गर्न जरुरी छ। जसले पुस्ता हस्तातन्तरण हुँदा हामीले यी गीत छोडेर जान सकियोस्। 

कतिपय सर्जकहरूले दर्शक एडभान्स भइसके त्यसकारण व्यावसायिक हुँदै गीत पनि एडभान्स बनाउनुपर्छ भन्ने गरेको सुनिन्छ। कुनै पनि गीत दर्शकको अपेक्षाअनुसार बन्छन्? कि त्यो सर्जकको आफ्नो रोजाइको कुरा हो?

कुनै बेला यस्तो समय थियो। शहरमा दोहोरी वा लोक गीत सुन्दा झ्याल ढोका थुनेर सुन्नुपर्थ्यो। अहिले लोक गीतको बजार हेर्नुस् त। जहाँ पनि लोक गीतले आफ्नो स्थान बनाएको छ। शहरमा व्यस्त गल्लीदेखि सपिङ मलमा पनि लोक गीत घन्किन्छन्। 

नयाँ दर्शकले पुराना गीत  सुन्दैनन्। नयाँ मात्र सुन्छन् भन्ने कुराको तुक छैन। एउटा कुरा के भने दर्शक श्रोताहरू त रचनाकारले जस्ता गीत ल्याउँछन् त्यहीअनुसार सुन्छन्। कुनै सर्जकले सिर्जना गर्नुपूर्व नै दर्शकले धारणा बनाएका हुँदैनन्।

हामीले गर्ने सिर्जनामा कति मिहिनेत छ भन्ने कुरा मुख्य हो। जबसम्म सर्जकको गीत वा शब्दमा दर्शकले आफ्नोपन भेट्दैन तबसम्म त्यो गीत उसले मन पराउँदैन। यो दुनियाँमा आफ्नोपन मन नपराउने व्यक्ति मैले भेटेको छैन। नत्र बजारमा आएका मौलिक गीतहरू सफलताको सिढी चढ्न सफल हुँदैन थिए।

अहिलेका नयाँ पुस्ताले त पुन: मौलिकतालाई जोड दिएको कुराबाट पक्कै तपाई बेखबर हुनुहुन्न होला है?

नयाँ पुस्ताले मौलिकतालाई जोड दिइरहेका छन्। म आफैँले पनि अन्य कुनै गीत गाएर पनि पेट पाल्न सक्थेँ। तर, कम्तीमा मैले मेरा हजुरबुबा, बुबा आमाले गाउँमा गाएको वा बजाएका गीतहरूलाई आफ्नो सिर्जनामा ल्याएँ।

किनभने कुनै पनि सिर्जना बचाउन सर्जकको पहिलो ठूलो हात हुन्छ भन्ने लाग्छ। भलै मबाट यसका लागि गरेको मिहिनेत के कति भयो म जान्दिनँ। मैले रोइला, (खेली) का गीतहरू निकाले। 

अहिले पनि धेरै सर्जकहरू मौलिक गीत निकालिरहेका छन्। उनीहरूले आफ्नो तर्फबाट मिहिनेत गरेको कुरामा मेरो सम्मान छर

मौलिक गीतको संरक्षणमा काम पनि भएका छैनन् त?

अहिले म गाउँ तथा शहरमा युवाहरू पुन: एकीकृत हुन थालेका छन्। उनीहरूले आफ्ना मौलिक गीतहरू संरक्षण अभियानमा लागिरहेका छन्। अग्रज दाई दिदीहरू पनि यस कार्यमा लागिरहनु भएको छ। नारायण रायमाझी तथा हरिदेवी कोइरालाहरू निरन्तर यस कार्यमा लागिरहनु भएको छ। मौलिक गीतहरू संरक्षणको अभियानमा राज्य पनि लागिरहेको छ। यस मानेमा चाहिँ सुखद संकेतहरू देखिएका छन्।

रोइला गायकको रूपमा परिचित हुनुहुन्छ। हामी यसैतर्फ लागौँ। के हो रोइला?

नेपाली लोकसंगीतको एउटा विधा हो, रोइला गीत। विशेषत यो समूहमा गाउन मिल्छ। यसकारण रोइला दोहोरी विधामा पर्छ। यसलाई ‘ख्याली’ वा ‘चुड्का’ भनेर पनि आम मान्छेले बुझ्ने गरेका छन्।

मेरो बुझाइमा रोइला, ख्याली, चुड्काका फरक–फरक परिभाषा पाइन सक्छ।  तर, यिनका शैलीहरू भने उस्तै–उस्तै हुन्।

रोइला र भजनमा प्रयोग हुने वाद्यवादन उस्तै छन्। शैली उस्तै छ। रोइला गाउने  बेला र अवस्था त हुन्छ होला

यसमा पनि भजन जस्तै  खैंजडी, मजुरा, मादलको प्रयोग हुन्छ। पूजाआजा, स्वस्थानी, सप्ताहलगायत विभिन्न धार्मिक कार्यक्रमपश्चात् भजनबाट गाइन्छ। अनि कार्यक्रम टुंग्याइन्छ। भजन त भगवानका स्तूतिगान वा विषयमा मुख्य रूपमा गाइन्छ।

तर, भजन गाउँदै गर्दा समय परिस्थितिले गायन विषयान्तर हुँदै जान्छ। जब त्यो  विषय मायाप्रेम वा अन्य कुनै विषयमा प्रवेश गर्छ। अनि सुरु हुन्छ : रोइला वा ख्याली।

यी गीत विशेषत: कहाँ बढी प्रचलित छन्?

कालीगण्डकी आसपासका क्षेत्रमा रोइला लोकप्रिय रहँदै आएको छ।  लुम्बिनी, गण्डकी र धौलागिरी क्षेत्र (तत्कालीन अञ्चल)मा प्रचलित छ। जातीय हिसाबले हेर्नुपर्दा विशेषगरी आर्य समुदायले गाउने गीतका रुपमा रोइलालाई लिन सकिन्छ। कालीगण्डकी आसपासमा मगर र गुरुङ समुदायमा पनि रोइला लोकप्रिय रहेको छ।

रोइला रेकर्डको हिसाबले चर्चामा भए पनि समग्रमा यसको मौलिकता पनि हराउँदै गएको कुरामा सहमत हुनुहुन्छ?

गीत रेकर्डिङ मात्र पनि गीत संरक्षण आधार होइन्। यो एउटा डिजिटल संग्रह भने हो। हामीले गीत रेकर्ड सँगसँगै सामाजिक संस्कार पनि जोगाउन जरुरी छ। हामीले गीत सँगसँगै सामाजिक संस्कार पनि हस्तान्तरण गर्नुपर्छ। सके जस्ताको त्यस्तै, सकिँदैन समय अनुसार केहि थपघट भएर पनि हस्तान्तरण हुनुपर्छ।  यो केवल सर्जकको हातको कुरा मात्र पनि होइन्। यसमा राज्य वा समाज पनि गम्भीर हुनुपर्छ।

अघिल्लो पुस्ताले हामीलाई मौलिक गीतहरू मिहिनेत गरेर बनाइदिएका छन्। उनीहरू लय बनाइदिए। शब्द बनाइदिए। भाव बनाइदिए। कुन बेला कस्ता गीत गाउने भन्ने कुरा पनि बनाइदिए। समग्रमा हाम्रो पहिचान स्थापित गरिदिएका हुन्।

उनीहरूले त्यसरी सबै व्यवस्थापन गरेर छोडेको हिरालाई अहिले अलिकति बुझेको पुस्ताले अगाल्न नसकेको सत्य हो। यो संगीतका लागि ठूलो अभिशाप हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.