'गिरिजाबाबुले कसैले नसोचेको काम गर्नुभयो'

|

धेरै कुराहरू सम्झिन गाह्रो भयो। खासगरी तिथि मितिहरू याद हुन्न, कुरो पनि पुरानो भयो। कतिपय पुराना कुराहरू याद गर्न घटनाहरू, सन्दर्भहरू जोडेर जानुपर्छ।

यसरी विचार गर्दा  कुरो वि. स २०४८ पछिको हो। नेपाली कांग्रेसको सरकारले पहिलोपटक हरेक गाउँ विकास समितिलाई १५ हजार अनुदान दिएको थियो जरुरत मन्द नागरिकको वडामा सामूहिक रूपमा उपयोग गर्ने गरी १/२ वटा हाते चापाकल (ट्युबेल) जडान गर्नका लागि।

गाउँ पंचायतको रूपान्तरण ‘गाउँ विकास समिति’ को रूपमा भएको थियो। सम्भवतः केन्द्रबाट विषयगत अनुदानको रूपमा गएको यो पहिलो अनुदान थियो।सरकारको चाहना थियो कि यस रकमको कार्यान्वयन गाविसका तत्कालीन सचिव (सरकारी कर्मचारी) बाट होस्।

तर, भर्खरै बन्दै गएको एमालेले सर्वदलीय समितिको कुरो उठायो। यसरी सर्वदलीय समिति बनेमा सबै गाविसमा आफ्नो संगठनको विस्तार हुनसक्ने उसको धारणा रहेको हुनुपर्छ।

वि.स २०३८ सालतिर नेपाली कांग्रेसको प्रशिक्षण कार्यक्रमहरूमा सहभागी हुनका लागि बिपी कोइरालाको देश दौडाहाअन्तर्गत बिपीले कैयौं ठाउँहरूमा विकास योजनाहरूका बारेमा बोल्नुभएको थियो।

पहिलो प्रशिक्षण कार्यक्रम झापाको बिर्तामोडमा सिके प्रसाईंको आयोजनमा भएको थियो। यसरी देश दौडाहाको क्रममा स-साना प्रवचन कार्क्रमहरूमा बिपीले अनेकौ ठाउँमा समाजवादी अर्थतन्त्रको गम्भीर परिकल्पनाहरू बारे बोल्नुहुन्थ्यो। सायद यी कुराहरू कतै पुस्तिकाको रूपमा प्रकाशित पनि छ, तर आजका पुस्ताले खोजीनीति गरी पढदैनन्।

यसै क्रममा बिपीले भन्नु भएथ्यो, 'दक्षिण एशिया खासगरी नेपालमा यहाँका मानिसहरूमा देखिने रोगहरूमा ८०% रोगहरू दूषित खानेपानीको उपयोगबाट हुने गर्दछ।' उहाँले भारत बम्बईका एक प्रख्यात चिकित्सकको रायलाई उद्धृत गरेर तेसो भन्नुहुन्थ्यो।  र जोड दिनुहुन्थ्यो कि यदि सरकारले आम जनतालाई शुद्ध खानेपानी मात्र उपलब्ध गराउन सक्यो भने नेपालका ८०% मानिसहरू विशेषतः दूषित खानेपानी खानाको कारणले हुने पेटको रोगबाट मुक्त हुन सक्छन्।

गिरिजाप्रसाद कोइराला त्यसबेला साथै रहनुहुन्थ्यो। मसमेत हामी कति जना पनि सँगै हुन्थ्यौँ। कुरो सानो थियो, पंचायती शासनले अञ्चल अस्पताल र कतै कतै जिल्ला अस्पताल खडा गरेको थियो।

 विराटनगर र राजविराजमा अञ्चल अस्पताल थियो। अञ्चल भने उत्तरमा सोलु र ताप्लेजुंगसम्म फैलिएको थियो। अञ्चल अस्पतालको लाभ भने बढीमा मोरङ र सप्तरीका मानिसहरूलाई पुग्ने स्थिति थियो।

बिपीको मुखबाट मैले पहिलो पटक पाँच बेडको पिएचसी (प्राईमरी हेल्थ सेन्टर) को कुरा यस्तै मिटिङमा सुनेँ। केही गाँउहरूमा स्वास्थ्य चौकीहरू खुल्न थालेको थियो। जहाँ अनमी स्तरका १/२ जना कर्मचारी हुन्थे। बिपीले यौटा जिल्लामा ५/७ गाँउहरू समेटेर १/१ पिएचसी बनाउनुपर्ने विचार राख्नुहुन्थ्यो।

उहाँले यस्तो केन्द्रमा एमबिबिएस भन्दा तल अध्ययन गरेको स्वास्थ्य प्राविधिक रहने र यस्तो केन्द्रहरूमा कमसे कम साधारण औषधिहरू, रगत-खकार-दिसा,पिसाब जाच्ने सुविधा र घाउ खटिराको सानो सर्जरीको सुविधा हुनैपर्ने व्यवस्थामा जोड दिनुहुन्थ्यो।  यस्तै खालका मानिसको आँखा नलाग्ने प्रकारका स-साना कुराहरू गर्नुहुन्थ्यो।

हामी चितवन पार गर्यौ। अहिलेको नारायणी नदीको पुलको ३/४ सय मिटर उत्तरपट्टि ठुल्ठूला डुंगामा मिनी बस र सानो चार पांग्रे मोटर जिपहरू पार गरिन्थ्यो। हाम्रो दौडाहाले जहीँतहीँ उम्लेका पञ्चहरूको विरोधको सामना गर्नुपर्थ्यो।

बडो हल्ला थियो, बिपीले चढ्ने डुंगालाई जिप र साथीहरू समेत नारायणीमा डुबाउने योजना छ रे! आज चितवनमा कृष्णलाल सापकोटा, टेक बहादुर गुरुङ, सायद एकजना धनाढ्य (सुभाष प्रधानको पिताजी), मुक्तिलाल चुके, मैया देवी दिदी, एकनाथ भाट हालैका चर्चित जग्गनाथ पौडेल र अहिले सम्झना नरहेका धेरै धेरैले बिपीको सुरक्षा साथ नारायणी पार गराउने अभिभारा लिए।

अहिलेको कांग्रेसले सायद यी मध्येका धेरैलाई कारबाही गरेर गैरकांग्रेसी बनाएका छन्। हामी राति नवलपुरमा सूर्यभक्त अधिकारीको घर (यौटा काठको सानो मचान जस्तो घर र बाँकी कटेरोहरू) मा बस्यौँ। म र वीरेन्द्र दाहाल गिरिजा बाबुको कटेरोमा थियौँ। अनिद्रामा रहनुभएका गिरिजा बाबुले मलाई अह्राउनुभयो, 'जेपी यस भ्रमणका बेला सान्दाजुले बोल्ने गर्नुभएका विभिन्न विषयका कुराहरू, उहाँका विचारहरूलाई टिपोट गर। सान्दाजु, बिमार हुनुहुन्छ। शायद अब बाँकी जीवनमा प्रजातन्त्र हेर्न पाउनुहुन्न। तर, प्रजातन्त्र त आउँछ नै। हामीले उहाँले देखाएका विचारहरूलाई अगाडि बढाउनुपर्छ।'

मैले यौटा खास काम पाएँ

मलाई बिपीले भनेको याद छ। उहाँले कार्यकर्तासँगको कुराकानीमा भन्नु भा’थ्यो, 'म विराटनगरमा ५/१० बिघा खेती भएको, परेको खण्डमा उपचार खर्चको स्वयंले जोहो गर्नसक्ने मानिस हुँ। तर, म बम्बईमा क्यान्सरको उपचार गराउन जाँदा खर्च ब्यहोर्न सकिनँ।

जेपी, जय प्रकाश नारायणले केही रकम दिएर, केही रामनाथ गोयन्का (इन्डियन एक्सप्रेस पत्रिकाका मालिक) को सहयोगबाट अस्पतालको बिल तिर्न सकेँ। आम नेपाली कसरी सक्छन्? हामीले प्रिभन्टिभ हेल्थ सिस्टममा जानुपर्छ। एक/दुई ठूला अस्पताल भए पुग्छ।'

एक कार्यक्रमा वीपीसहित गणेशमान सिंह

कालान्तरमा गिरिजा बाबु प्रधानमन्त्री हुनुभयो। उहाँको दिमाग एक प्रकारले पूर्व पोषित (प्रिअकुपाइड) थिएन। खाली थियो, देशको विकासका बारेमा, जनकल्याणका नीतिहरूका बारेमा केही मन परेका सम्झनाहरू थियो। जब गिरिजाबाबु प्रधानमन्त्री हुनुभयो र कसैले ध्यान न दिएको स-साना कुरालाई ज्यादै महत्व दिनुभयो।

विश्व बैंकका प्रतिनिधिसँग भेट्दा देश भरमा गरी पहिलो चरणमा २० वटा ‘पिएचसी’ माग्नुभयो। बेलायतका राजदूतसँग ‘बेलीब्रिज’ माग्नुभयो। यो बेलिब्रिजले त्यसबेला बेलाको ठूलो विध्वंशकारी बाढीको बेला मुलुकको यातायातलाई सुचारु राख्न ठूलो मद्दत गरेको थियो। ठूला ठूला एयरलाइन्स भन्दापनि हेलिकोप्टर सेवा संचालन गर्न निजी क्षेत्रलाई पहिले अनुमति दिनुभयो।

यसलाई उहाँले रेस्क्युसँग जोड्नुभयो। कति सानो कुरा, आज कसैको आँखा नै लाग्ने, देशका हरेक गाविसलाई खानेपानीका निम्ति ट्यूबेल जडान गर्न १५ हजार अनुदान दिने व्यवस्था गर्नुभयो। उहाँले त्यस देश दौडाहाको क्रममा वीपीले बोल्नु भएको दुषित खानेपानीको कारणबाट देशमा ८०% मानिसलाई पेटको रोग लाग्छ, यो मसिनो जस्तो लाग्ने कुरालाई बिर्सन सक्नुभएन।

पिएचसीलाई भुल्नु भएको थिएन। ठूला ठूला र विपूल वैदेशिक लगानीका साथ, विदेशी महिलाहरूका लागि ‘सेरोगेसी’ सन्तान जन्माउने अनुमति दिई नेपाललाई ‘हेल्थ टुरिज्म’ को अर्थशास्त्र पढनु भएको थिएन-गिरिजा बाबुले!

पूर्व सञ्चारमन्त्री जेपी गुप्ताले फेसबुकमा राखेको  'यसरी संझिन मन लाग्यो गिरिजा दाजुलाई ९९ औं जन्म दिवशमा' लाई सम्पादनसहित  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.