|

काठमाडौं : १५ असार बुधबार रातको करिब १० बजेको समयमा पर्सा प्रहरीमा फोनको घण्टी बज्यो। फोनमार्फत जिल्लाकै बहुदरमाई नगरपालिका ७ विश्रामपुर छप्कैयाकी एक बालिकाको शव गोप्य रुपमा अन्येष्टि गर्न लागेको खबर प्रहरीले पायो।

प्रहरीलाई सुँइकोसम्म नदिई जलाइएका बालिका थिइन्, बहुदरमाइ न.पा. ७ विश्रामपुर छप्कैयाका श्यामबाबु कलवारकी १४ वर्षीया छोरी महिमा कुमारी।

प्रहरीलाई मात्रै होइन छरछिमेकलाई समेत सुँइको नदिई परिवारकै सदस्यहरुले बालिकाको शव बहुदरमाइ नगरपालिका ७ स्थित ढोङ्गी खोलाको मसानघाट पुर्‍याएर जलाउन सुरु गरेका थिए। ती बालिकाले विष सेवन गरी आत्महत्या गरेकाे सूचना प्रहरीले पाईसकेको थियो। लगत्तै जिल्ला प्रहरी कार्यालय पर्सा र इलाका प्रहरी कार्यालय पोखरियाबाटसमेत खटिएका प्रहरी टोली घटनास्थलतर्फ लागे।

प्रहरीको संयुक्त टोली राति करिब पौने ११ बजे मसानघाटमा पुग्दा चितामा आगो दनदनी बल्दै थियो। त्यही आगोमा जल्दै थियो बालिकाको पार्थिव शरीर। जल्दै गरेको शव प्रहरीले बाँसको सहायतामा चिताबाट निकालेका प्रहरी नायव उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए। उनका अनुसार चिताबाट निकाल्दा शव घाँटीमाथिको भाग र खुट्टामुनिको भाग जलिसकेको थियो।

डिएसपी कार्कीका अनुसार लगभग ५० प्रतिशत जलिसकेको अवस्थामा शव निकालिएको थियो। ‘असार १५ गते दिनभरी जसो झरी परिरहेको थियो। तर त्यसबेला पानी परेको थिएन।’ डिएसपी कार्कीले भने, ‘चिसोले शव जल्दैन भनेर चिनी हाल्ने र पेट्रोल छर्किने गरिएको रहेछ।’

प्रहरीले बाँसको प्रयोगगरी चिताबाट निकालेको जल्न बाँकी रहेको शव मुचुल्का गरी पोष्टमार्टमका लागि नारायणी अस्पताल वीरगञ्जमा पठायो। मलामी गएकाहरु भने प्रहरीलाई देख्ने बित्तिकै भागे। घटनाको प्रारम्भिक अनुसन्धानका लागि प्रहरीले मृतक बालिकाकी आमा ४० वर्षीया आशादेवी, मृतककी दिदी १८ वर्षीया किशोरी र मृतककी ठूलीआमा ५० वर्षीया उर्मिला देवीलाई घटनाको भोलिपल्ट बिहीबार नै नियन्त्रणमा लिएको थियो।

अनुसन्धानका क्रममा नियन्त्रणमा लिएका तीनै जनाको घटनामा संलग्नता देखिएकाले उनीहरुविरुद्ध कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

शव लैजान प्रयोग गरिएको ना ४२ प ७६९७ र ना २१ प ६८७ नं. को मोटरसाइकल ढोङ्गी खोलाको पुलमा रोकी राखेको अवस्थामा प्रहरीले बरामद गरेको छ। साथै घटनामा संलग्न अन्य ८ व्यक्तिहरुको पहिचान भइरहेकाले उनीहरुको तीब्र खोजी भइरहेको डिएसपी कार्कीले जानकारी दिए। फरार रहेकाहरुमा मृतक बालिकाकी बुबासहित उनका साथी तथा बालिकाकी नातेदारहरु छन्। फरार रहेका व्यक्ति सबै पुरुष रहेका कार्कीले बताए।

विष पिएर छट्पटाउँदा समेत लगेनन् परिवारले अस्पताल

प्रहरीका अनुसार बालिकाको गाउँकै फरक धर्मका युवकसँग प्रेम सम्बन्ध रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। जुन सम्बन्ध परिवारका सदस्यहरुलाई खड्किरहेको थियो।

बालिका र ती युवकबीच प्रेमीले नै उपहार दिएको मोबाइलबाट लुकिछिपी बातचित गर्ने गरेका थिए। बालिकाको प्रेम सम्बन्ध अभिभावकले थाहा पाएपछि मोबाइल खोसेर बालिकामाथि कुटपिट समेत भएको प्रहरीले जनाएको छ।

प्रहरी नियन्त्रणमा रहेका तीनैजनाले सोधपुछका क्रममा बालिकाको प्रेम सम्बन्ध रहेकोमा परिवार असन्तुष्ट रहेको बताएका छन्। प्रारम्भिक बयानमा उनीहरुले सोही विषयमा घर परिवारका सदस्यहरु मिली बालिकालाइ निर्घात कुटपिट गरेका र घरबाट बाहिर आउन जानमा समेत कडाई गरेका बताएका डिएसपी कार्कीले बताए।

यद्यपि प्रेममा परेकी बालिकाले युवकलाई फोन गरेर आफ्नो अवस्था बारे बताइन् र भेट्नसमेत बोलाईन्। ३/४ दिन अघि ती युवक आफ्नी प्रेमिकालाई भेट्न बालिकाकै घर नजिक आइपुगे। आफ्ना प्रेमीलाई भेट्न ती बालिकापनि अभिभावकहरुको आँखा छलेर लुकिछिपी गइन्।

‘भेटघाटकै क्रममा बालिकाकी आमा आशादेवीले सुइँको पाइन् र उनीहरु समातिए।’, डिएसपी कार्कीले भने, ‘ती युवक भने आफू बालिकाको प्रेमी नभई उनको साथी भएको र बालिकाको खबर बुझ्न आएको भनेर फुत्किन भ्याए।’

त्यस घटनापछि बालिकामाथि निर्घात कुटपिट भएको र थप कडाइ गरिएको हिरासतमा रहेकी परिवारकै एक सदस्यले बयान दिइन्।

उनको बयान अनुसार १५ असारमा बालिकाले आफ्नै पसलमा बेच्न राखिएको विषादी खाइन्। बालिकाले विषादी पिएको कुरामा बेखवर थिएनन् परिवारका सदस्यहरु।

विष पिएर छट्पटाएकी बालिकालाई कोठा भित्र नै थुनेर राखिएको थियो। बालिका त्यही पटक पटक बान्ता गर्ने पानी पिउने बान्ता गर्ने गरिरहेकी थिईन्। बालिकाकी दिदीले प्रहरीलाई दिएको बयानमा भनेकी छन्, ‘बहिनीले विष खाई भनेर बुबालाई खबर गर्‍यौँ। कसैलाई नभन्नु म आउँदैछु भनेर फोन राख्दिनुभयो। तर बुबा आइपुग्दा बहिनी मरिसकेकी थिई।’

मृतककी दिदी, आमा र ठूलीआमाले दिएको बयान अनुसार कोठामा थुनेर राखेकै कारण ती बालिकाको मृत्यु भएको अनुमान प्रहरीले गरेको छ। मृत्यु भएलगत्तै परिवारका सदस्यहरुकै योजनामा गोप्यरुपमा शव दुइ मोटरसाइकलमा राखेर मसानघाट पुर्‍याई जलाइएको खुलेको डिएसपी कार्कीले स्पष्ट पारे।

प्रेम सम्बन्धका आधारमा किशोरीलाई पटक पटक निर्घात कुटपिट गर्नु, विष सेवन गरिसकेको थाहा हुँदाहुँदै अस्पताल नलगी घरमै थुनेर राख्नु, गोप्य रुपमा शवको अन्त्येष्टि गर्नुले बालिकाको आत्महत्या नभई हत्या भएको हुन सक्ने आशंका समेत प्रहरीले गरेको छ।

घटनाबारे प्रारम्भिक अनुसन्धान सुरु भएपनि थप अनुसन्धान तीब्र पारिएको डिएसपी कार्कीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.