पर्वत : पर्वतमा आयोजित ११ औँ राष्ट्रपति रनिङ शिल्डमा आयोजकले आफू अनुकूल विद्यालयलाई विजेता बनाउन खोजेको भन्दै विद्यार्थीहरूले आफूले प्राप्त गरेका पदक तथा प्रमाणपत्र खेलमैदानमा नै फ्याँकेका छन्।
जिल्ला खेलकुद विकास समिति पर्वतको आयोजनामा सशस्त्र प्रहरी बलको खेल मैदानमा भएको खेलमा चार सय मिटर छात्रा दौडबाट विवाद शुरु भएको हो। सदरमुकाम कुश्मामा रहेको नारायण माध्यमिक विद्यालयका विद्यार्थीले आफूहरू उक्त दौडको विजेता बनेको भए पनि अन्तिम दिन पुरस्कार वितरण समारोहमा भने फलेवास नगरपालिकाको भवानी विद्यापीठ विद्यालयलाई प्रथम घोषणा गरेर आफूहरूलाई तेस्रो घोषणा गरिएको बताएका छन्।
‘चार सय मिटरको रिलेमा हामी चारजना थियौँ। त्यो रिलेमा हामी नै प्रथम भएका हौँ। रेफ्रीले पनि खेल मैदानमा नारायण मा.वि प्रथम भएको सुनाउनुभयो तर अन्तिम दिन नतिजा सुनाउने वेला हामीलाई तेस्रो भएको भनेर बोलाइयो’, खेलमा सहभागी विद्यार्थी खुसी भारतीले भनिन्, ‘आयोजकले कसैलाई सिधै रनिङ शिल्ड दिन मन लागेको थियो भने हामी आएर यो घाममा मुटु फुट्ने गरी घाममा दौडेको अर्थ के भयो? खेलाडी बनाउने बहानामा हाम्रो भविष्यमाथि खेलबाड गरिएको छ।गीत गाएको भए पनि भाव फरक रहेछ अङ्क दिइयो भन्नु, यो त दौड हो, दौडेको कुरा प्रस्ट देखिन्छ।’
खेल भएकै वेला समय टिपेको कागज नै नदेखाई जबरजस्ती रूपमा घोषणा गरिएको खेलमा सहभागी विद्यार्थीले आरोप लगाएका छन्। जुन इभेन्टको खेल भयो त्यही वेला नतिजा प्रकाशन नगरी गोप्य राखेर अन्तिममा एकैपटक आफू अनुकूल हुने गरी घोषणा गरिनुले आफूहरूमाथि अन्याय भएको उनीहरूको तर्क छ।
जुन इभेन्टको खेल सकिन्छ त्यही वेला आफू सहितका अन्य विद्यालयहरूले पनि नतिजा माग गर्दा अहिले हेर्न नमिल्ने भन्दै लुकाउने गरिनु, जिल्लाका सीमित विद्यालयलाई मात्र सहभागिताका लागि पत्र पठाउनु, मध्य असारमा खेल आयोजना गर्नु लगायतका कारणले पनि खेलमा स्वार्थ लुकेको देखिने विरोधमा उत्रिएका बिद्यार्थीहरूको दाबी छ।
सबै इभेन्टको हिसाब गर्दा आफूहरू दोस्रो स्थानमा आउनुपर्ने भए पनि तेस्रोमा राखिएको भन्दै उनीहरूले आफूहरूलाई दिइएका केही पदक र प्रमाणपत्र समेत आयोजक जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको पुरस्कार वितरण समारोहको मञ्च र खेल मैदानमा नै फ्याँकिदिएको बताए।
यसबारे कुरा गर्दा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हर्कमान गुरुङले खेलका आयोजकले कुनै पनि नियत राखेर चलखेलको काम नगरेको बताउँदै बिद्यार्थीहरूले कुरा नबुझेका कारण नाराबाजी गर्नुका साथै समितिको कार्यालयअगाडि धर्ना बसेको बताए। आफूहरूको उद्देश्य भनेको नै प्रदेशमा पठाउनका लागि जिल्लाबाट उत्कृष्ट खेलाडी छनोट गर्नु रहेकाले उत्कृष्टलाई प्रोत्साहन गरिने उनको भनाइ छ।
‘हामी त जिल्लाको वेस्ट प्लेयर खोजी गरेर प्रदेशमा पठाउन खोजिरहेका छौँ। राम्रा खेलाडी खोजिरहेका हामीले खेलाडीमाथि यस्तो चलखेल गर्ने भन्ने हुँदैन’, उनले भने, ‘त्यो रिलेमा आठवटा विद्यालयका बिद्यार्थी दौडिएका थिए। नारायण मा.वि. ले ८ सेकेन्ड ७१ मिलिसेकेण्डमा दौड पूरा गरेको हो। पहिलो भएको भवानीले ७ मिनेट ३१ सेकेन्ड ३४ मिलिसेकेण्डमा पूरा गरेको छ।’
यसबारेमा आफूले प्रमुख जिल्ला अधिकारीलाई भेटेर सबै कुरा बताउने र आन्दोलित विद्यालयका प्रतिनिधिहरूलाई पनि राखेर कुरा बुझाउने अध्यक्ष गुरुङले बताए। प्रतियोगिताका सबै इभेन्टको हिसाब गर्दा फलेवास नगरपालिकाको भवानी विद्यापीठ मा.वि. पहिलो, जनता मा.वि. दोस्रो र नारायण मा.वि तेस्रो स्थानमा रहेको उनको भनाइ छ।
यस पटकको खेलबाट छानिएका उत्कृष्ट सातजना विद्यार्थीलाई प्रदेशमा सिफारिस गरिनेछ। उनीहरूले एथ्लेटिक्सतर्फका सबै प्रकारका दौड, ज्याभलिङ थ्रो, सट पुट, लङ जम्प, हाई जम्प र ट्रिपल जम्पमा प्रतिस्पर्धा गर्ने छन्। प्रदेशबाट बजेटको समस्या देखाउँदै कम खेलाडी मागिएका कारण उत्कृष्ट रहेका सबै विद्यार्थीलाई प्रदेशमा पठाउन नसकिने अध्यक्ष गुरुङले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।