पार्टीको नाम परिवर्तन गरे मात्र रवि लामिछानेसँग संवाद गर्न सकिन्छ

|

स्थानीय तहको निर्वाचनमा काठमाडौ महानगर र धरान उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएपछि आगामी प्रदेश र संघको निर्वाचनमा देशभर स्वतन्त्र उम्मेदवार बन्ने होडबाजी सुरु भएको छ। संघीयता लागू भइसकेपछि अर्थात् संविधान २०७२ जारी भएपछि भएको स्थानीय तहको दोस्रो निर्वाचनमा आठ हजार ७१ जनाले स्वतन्त्र उम्मेदवारी दिएका थिए भने ३८७ जना निर्वाचित भएका छन्।

त्यसयता कुनै पनि राजनीतिक दलमा नलागेका र अन्य क्षेत्रमा सक्रिय युवा शक्ति स्वतन्त्र उम्मेदवारीको घोषणा गर्न प्रतिस्पर्धा नै गरिरहेका छन्  यही बीचमा चर्चित सञ्चारकर्मी रवि लामिछानेले त राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता नै गरेका छन्। लामिछाने मात्र होइन देशभर स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने तयारीमा रहेका र घोषणा गरिसकेकाहरु केहीले शनिबार राजधानीमा पहिलो भेला गरेर स्वतन्त्रहरूको गठबन्धन नै गर्ने निष्कर्ष निकालेका छन्।

अभियानमा देशभरबाट २७ हजार व्यक्ति आबद्ध भएको दाबी गरिएको छ। यो अभियानको आगामी यात्रालगायतका विषयमा केन्द्रित रहेर थाहाकर्मी जगत भण्डारीले स्वतन्त्र अभियानका संयोजक डम्बर साहुसँग गरेको कुराकानी–

तपाईँहरूले हिजो राजधानीमा राष्ट्रिय भेला गरेर आगामी ५ वर्षका लागि खुला तर संगठित दबाब समूहका रूपमा एउटा गठबन्धन मार्फत स्वतन्त्र अभियानलाई अघि बढाउने भन्नुभएको रहेछ।  अब राजनीतिक दल नै खोल्ने तयारीमा जुट्नुभएको हो ? 

होइन। बिल्कुल होइन। हामीले हिजो स्थानीय तहको निर्वाचनको वेलामा पनि कुनै दलसँग सहकार्य थिएन र दल खोल्ने योजना पनि थिएन। अहिले पनि छैन। यद्यपि हिजोको भेलामा त्यस्ता प्रस्ताव नआएका होइनन् नयाँ पार्टी खोल्नुपर्ने धारणा आएका थिए ती एजेण्डामा व्यापक छलफल गर्नुपर्ने त छँदैछ। तर अधिकांश साथिले स्वतन्त्र नै भएर अघि बढ्नुपर्ने धारणा राख्नुभएको छ। त्यसैले हामी दल खोल्ने तयारीमा छैनौँ। 

आगामी चुनावमा गठबन्धन गरेर जाने भन्नुभएको छ नि यो कसरी सम्भव छ?

गठबन्धन भन्दा पनि सहकार्यको कुरा गरेका हौँ। स्थानीय तहको चुनावमा हामी स्वतन्त्र अभियानले 'ब्रिज'को रूपमा काम गर्योँ। त्यसले स्वतन्त्रप्रति आकर्षण बढाउन वा जित्न सहयोग गर्‍यो नै। त्यसबेला स्वतन्त्रको ‘मुमेन्ट’ चलिसकेपछि अहिले नियोजित, सुनियोजित होलान्। कतिपयले एजेण्डा लक्ष्य, सिद्धान्त दर्शन र विचारले पनि चलाइएका होलान् त कतिपय निहित स्वार्थले पनि खोलिएका होलान त्यसको लेखाजोखा र हिसाब किताब छैन। जे उद्देश्यले खोलेको भए पनि यदि उहाँहरूको उद्देश्य ‘क्लियर’ छ, संविधान र कानूनअनुसार चल्न तयार छन् भने जो कसैसँग सहकार्य वा गठबन्धन हुनसक्छ भनिएको हो। 

तपाईँहरुले जुन उद्देश्य राखेर अभियान चलाइरहनुभएको छ। त्यस्तै उद्देश्य राखेर रवि लामिछानेले निर्वाचन आयोगमा राजनीतिक दल नै दर्ता गर्नुभएको छ नि! त्यसमा तपाईँहरू सामेल भए भैगो नि! 

रवि लामिछानेजीलाई देशको कानुन र संविधानले दिएअनुसार पार्टी खोल्ने अधिकार छ। पाउनुहुन्छ। 

उसो भए उहाँको पार्टीविरुद्ध निर्वाचन आयोगमा तपाईहरुले उजुरी किन हाल्नुभयो त ?

हाम्रो विमति के हो भने देशभर स्वतन्त्रको माहोल चलेका वेला, सामाजिक सञ्जाल, रेडियो–टीभी पत्रपत्रिका जताततै हरेक चोक–चोक गल्लीगल्लीमा स्वतन्त्रको बारेमा ‘डिबेट’ भइरहेको बेला उहाँले निर्वाचन आयोगमा गएर पार्टी दर्ताका लागि निवेदन दिनुभयो। उहाँले यी सबै स्वतन्त्रका नाममा राजनीति गर्नुपर्छ भनेर भ्रम फैलाइदिनुभयो। त्यसमा हाम्रो आपत्ति हो। अहिले कस्तो स्थिति आयो भने कोही व्यक्ति  ‘म स्वतन्त्र हुँ’ भन्छ भने उसले म रवि लामिछानेको पार्टीको होइन भनेर स्पष्टीकरण दिनुपर्ने अवस्था आयो । यसरी अन्योल सिर्जना गर्नु हुँदैन भन्ने कुरा हो हाम्रो ।

दोस्रो कुरा उहाँले राजनीतिक बेइमानी गर्नुभयो भन्ने हो। अहिले जुन स्वतन्त्रको माहोल बनेको छ। त्यो रविजीले बनाएको होइन। अहिले काठमाडौंमा बालेन शाह र धरानमा हर्क साम्पाङजस्ता आठ हजार व्यक्तिको जुन चर्चा छ त्यसमा हाम्रो रगतपसिना र लगानी लागेको छ। दूधको तर निकाल्न खोजेजस्तो गर्नुभयो त्यो अहंकार हो। यसरी भ्रम सिर्जना गर्न मिल्दैन भन्ने हाम्रो धारणा हो। 

यी आरोप तपाईँहरुलाई लगायो भने के हुन्छ ? स्वतन्त्र उम्मेदवारप्रति जुन आकर्षण देशभर देखिएको छ त्यसको ‘लिडरसिप’ तपाईँहरूले लिन चाहनुभएको हो भनियो भने...!

पटक्कै होइन । स्वतन्त्र उम्मेदवार अभियान यो अहिले सुरु भएको होइन। ९ महिनाअघि स्थानीय चुनाव हुनुअघि बानेश्वरको सडकमा पत्रकार सम्मेलन गरेर अभियानको घोषणा गरेका हौँ। अहिले जति पनि बजारमा गाउँमा चर्चा चलेको छ त्यो हामीबाटै प्रभाभित भएर हो। हो कि होइन भनेर तपाई सामाजिक सञ्जाल वा त्यतिबेला प्रकाशन\प्रसारण भएका समाचार हेर्दा पनि हुन्छ। फेसबुक पेजमा हेर्नुहोस्। बरु हामीले गरेको चिजलाई रविजीलगायतले कपी गर्न खोजेका हुन्। हामी त यसको ‘इन्भेसन’वाला हौँ ।   

त्यसो भए नियम कानुनअनुसार रवि लामिछानेको पार्टी दर्ता भइसके पछि तालमेल, गठबन्धन वा एक भएर जाने सम्भावना के छ ?

एक भएर जाने सम्भावना त एक, दुई, तीन पटक्कै हुँदैन। बरु यत्रो बुद्धिजीवी, मिडियालगायतले आवाज उठाइसकेपछि पार्टीको नाम परिवर्तन गर्नुभयो भने हामी छलफलमा बस्न सक्छौँ। होइन उहाँहरूले यो नाम फेर्न भएन भने हामी संवादसमेत गर्ने पक्षमा छैनौँ।  

 डा. बाबुराम भट्टराईले  नयाँ शक्ति पार्टी खोल्नुभयो। रविन्द्र मिश्रले साझा पार्टी खोलेर वैकल्पिक राजनीति स्थापित गर्न नसक्दा ओरालो यात्रामा रहेको देखिरहनुभएको होला । यस्तो वेला तपाईहरुलाई स्वतन्त्र उम्मेदवारबाटै समाज र देशै परिवर्तन गर्न सकिन्छ भन्ने आत्मविश्वास कसरी आयो?

हाम्रो शनिवारको भेलामा पनि दलको विकल्प दल नै हो भन्ने प्रस्ताव नआएको होइन। तर मैले ६ पेजको कार्यपत्र सार्वजनिक गरेको छु जसमा मैले पार्टीमा होइन स्वतन्त्र भएरै अघि जानुपर्छ भनेको छु। अब तपाईँले भनेको रविन्द्र र बाबुरामजीको कुरा गर्नुभयो । उहाँहरुले गरेको गल्ती के हो भने उहाँहरूले पहिले एजेन्डा बनाउनुभयो पछि जनतामाँझ जानुभयो । हामीले त्यसको उल्टो गर्‍यौँ। पहिला हामी जनतामाझ जान्छौँ। अनि जनताका एजेण्डा  तय गर्छौँ। जनताका एजेण्डा नबुझ्ने अनि आफ्ना विचार जनतालाई जबरजस्ती लादेर हुन्छ? 

तपाइको अवधारणापत्रमा ६८ वर्ष माथिको व्यक्तिले स्वतन्त्र उम्मेदवार हुन नहुने, स्नातक तह सम्मको शिक्षा हुनुपर्ने, चुनावमा उठेकै दिन सम्पत्ति विवरण र उम्मेदवार बनेकै दिन पुलिस रिपोर्ट सार्वजनिक गर्नुपर्ने उल्लेख रहेछ। यीलगायत भ्रष्टाचारको अभियोग नलागेको, विदेशी पीआर वा ग्रिनकार्ड नलिएको हुनुपर्ने लगायत १३ बुँदे मापदण्ड  व्यवहारमा कार्यान्वयन हुन्छ त ? 

पक्कै पनि । राजनीतिक गर्छु भनेर मैदानमा हाम फाल्ने व्यक्तिले सुरुमै बेइमानी गरेर आयो भने त्यसले न उसलाई फाइदा हुन्छ न राज्य र समाजलाई नै। त्यसैले हामीले त्यस्ता मापदण्ड तोकेका हौँ। हामीले त ६० राख्ने सोचेका थियौँ। तर वृद्ध कसलाइ भन्ने, युवा कसलाई भन्ने भयो। ६८ वर्षमा त अहिले सरकारले बृद्धभत्ता नै दिने भनिसकेको छ। कानुनले नै भने पछि त भनेर सजिलो भएको हो। यो उमेरमा त राजनीतिक रूपमा सक्रिय हुन सकिदैन नि। मेन्टल्ली र फिजिकल्ली रूपमा पनि एक्टिभ हुन सक्दैन भन्ने नै हो।

अर्को कुरा सांसद हुने व्यक्तीले राष्ट्रिय अन्तर्राष्ट्रियरूपमा विभिन्न 'डाइलग' गर्नुपर्ने हुन्छ। देशको हितबारे जानकारी राख्नुपर्यो । 'ब्रिफिङ' गर्नुपर्यो । नियम कानुन र संविधानबारे ज्ञान हुनुपर्यो। त्यसका लागि कम्तीमा पनि स्नातक पढेको हुनुपर्छ भन्ने हाम्रो धारणा हो । यदि भएन भने हालत कस्तो हुन्छ अहिले देखिएकै छ नि!

तपाइँ आफूचाहिँ उम्मेदवार बन्नुहुन्छ कि बन्नुहुन्न ?

मेरो योजना त्यस्तो छैन र भभिष्यमा पनि सायद म चुनाव लड्दिनँ होला। स्थानीय तहमा जस्तै 'ब्रिज'को काम गर्ने योजना छ । 

तपाईँले नेतृत्व गरेको अभियानले आगामी संघ र प्रदेशको निर्वाचनमा कति सिट जित्नुहुन्छ त ? 

अहिले हामीले त्यसको 'फ्रेमवर्क' बनाउँदै छौँ ।‘ होमवर्क’ गर्दैछौ । हिजो मात्र हामीले राजनीतिक सुदृढीकरणसहित मिसन १६५ सुरु गर्ने भनेका छौँ। यसको मतलब हामी देशभरका सबै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने छौँ भन्ने नै हो। हामीले बनाएको 'क्राइटेरिया'मा पर्ने साथीलाई उम्मेदवार बनाउँछौँ । 

अब त चुनाव आउन ४–५ महिनामात्र बाँकी छ । यो समय यहाँहरुलाई चुनाव जित्न पर्याप्त हुन्छ त ? 

हुन्छ । किन हुन्छ भने राजनीतिक पार्टीजस्तो तलदेखि माथिसम्म छ छलफल गर्नुपर्ने, टिकट लिने सिण्डिकेट, गुट उपगुट आदी हामीकहाँ हुँदैन। हामी केही दिनमा उम्मेदवारी दिन ‘कल’ गर्छौ । आएका आवेदनमाथि अध्ययन गर्छौँ। योग्य भन्ने पुष्टि गरे पछि आधिकारिक रूपमा उम्मेदवारको रूपमा अघि सार्नेछौँ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.