|

काठमाडाैं : कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीले ड्रागन फ्रुट खेती कर्णालीका लागि नयाँ सुरुआत भएको बताएका छन्।

प्रदेश राजधानी वीरेन्द्रनगर नगरपालिका–१२ सुर्खेत नेवारेस्थित मालिका कृषि तथा ड्रागन फ्रुट फर्मको आज उद्घाटन गर्दै सहकारीमन्त्री शाहीले मेहनती कृषकका कारण कृषि क्षेत्र व्यावसायिक प्रवर्धन र उन्नति हुने बताए। उनले भने, 'ड्रागन फ्रुट उत्पादनमा वृद्धि गर्नुस्, बजारीकरणमा समस्या देखिए प्रदेश सरकारले त्यसको सहजीकरण गर्छ।'

कर्णाली प्रदेशको आर्थिक समृद्धिमा कृषि क्षेत्रको ठूलो भूमिका रहेको भन्दै मन्त्री शाहीले व्यावसायिक र पौरखी कृषकहरुका लागि सरकारले आवश्यक सहयोग गर्ने विश्वास दिलाए। कुनै पनि निकायको सहयोगबिना लाखौँको लगानी गरेर यहाँको अर्थतन्त्रमा सहयोग पुर्‍याउने अभियानमा लागेको भन्दै फर्मका सञ्चालिका पद्मा रावतलाई उनले धन्यवाद व्यक्त गरे।

सञ्चालिका बुढाले एक वर्षदेखि सुरु गरेको फर्मले उत्पादित एक क्विन्टल ड्रागन फ्रुट बजारमा पठाइएको जनाइन्। उनले भनिन्, '२८ कठ्ठा जमिन भाडामा लिएर रु ७० लाखको एकल लगानीमा ड्रागन फ्रुटको खेती गरिएको छ। एक सिजनमा प्रतिबोटले न्यूनतम पाँच केजीका दरले १३ हजार केजी दिने अपेक्षा गरेका छौँ।'

उत्पादन गरिएको ड्रागन फ्रुट बिक्रीका लागि बजार लिनु नपरेको र अहिले सबै फर्ममा आएर किन्ने गरेको उनले बताइन्। बुढाका अनुसार प्रतिकेजी रु ८०० का दरले ड्रागन फ्रुट बिक्री गर्ने गरिएको छ। एक सिजनमा १३ हजारका दरले वर्षमा ५२ हजार किलो ड्रागन फ्रुट उत्पादन हुने फर्मले अनुमान गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.