|

राज सिंह (२१) जनकपुरबाट काठमाडौ घुम्न आएका छन्।

स्वयम्भू महाचैत्य लगायत ऐतिहासिक, धार्मिक, सांस्कृतिक स्थलहरूको भ्रमण गर्ने उनको योजना छ।  

यही योजना अनुरूप बिहीबार (असार १६, २०७९) का दिन उनी स्वयम्भूस्थित विश्वशान्ति पोखरी परिसरमा भेटिए।  

पोखरीमा त्यस्तो के छ, जसले मान्छेलाई तानिरहेको छ? 

पोखरीको वरिपरि रेलिङ लगाइएको छ, बिचमा शाक्यमुनि बुद्ध विराजमान हुनुहुन्छ। बुद्धका पाउमुनि चिटिक्क परेको भिक्षापात्र/दानपात्र छ। नेवारीमा यसलाई गुल्पा भनिन्छ। सुन्दा अचम्म लाग्नसक्छ तर त्यही गुल्पाले तानिरहेको छ मानिसहरूलाई।     

जति मानिस, त्यति इच्छा, आकांक्षा, भावना, अस्तित्वजन्य र अन्यान्य प्रश्नहरू। 

तिनै 'जिनिसहरू'को भारी बोकेका मानिसहरूको लर्को लाग्छ स्वयम्भू लगायतका धार्मिक आस्थाका केन्द्रहरूमा। 

मनभरिका इच्छा, आकांक्षा पूरा गर्न, प्रश्नहरूको उत्तर पाउन कर्म गर्नु अपरिहार्य त छँदैछ। ती प्रयासहरूमा दैवीशक्तिको कृपा बर्सिए त मनोकांक्षा पूर्ण हुन धेरै बेर लाग्दैन। यस्तै सोच्छौँ हामीमध्ये कति।  

राज सिंहलाई आफूले टाढैबाट चढाएको सिक्का गुल्पाभित्र छिर्‍यो भने चिताएको पुग्छ भन्ने विश्वास रहेछ। के छन् त उनका इच्छाहरू? कि अन्तर्यामीलाई थाहा होला, कि उनलाई नै। 

यो राज सिंहको मात्रै विश्वास होइन।   

इटहरीका कमल सुवेदी (३०) श्रीमती र सानी छोरीसँग तीर्थाटन गर्न काठमाडौं आएका छन्। 

उनले पनि तथागतका पाउमा केही सिक्का अर्पण गरे सिंहले जस्तै।  

पशुपतिनाथ, स्वयम्भूनाथ र अन्य धार्मिक स्थलको भ्रमण गरी घर फर्किने उनको योजना रहेछ। धर्म कमाउने, मनोकांक्षा पूरा गराउन दैवी शक्तिलाई मनाउने मेलोमेसो रहेछ ती युवाको पनि।  

भुम्लु (काभ्रे जिल्ला) का नेत्रबहादुर श्रेष्ठ (३८) पनि पोखरी परिसरमै भेटिए।    

ट्याक्सी चालक रहेछन् उनी।  कोरोना भाइरस महामारीका कारण थलिएको उनको पेशा पनि बौरिन नसकेको जस्तो बुझियो।  

महामारीले राष्ट्रिय, अन्तर्राष्ट्रिय जीवनका सबैजसो पक्ष पक्षाघातग्रस्त बनाएको हाम्रो सरकारलाई त कुन्नि, बाँकी सबैलाई थाहै छ स‌ंकट कति गम्भीर छ भन्ने।  

आफ्ना इच्छा पूरा होऊन् भनेर, धर्म कमाइन्छ, सुख-शान्ति पाइन्छ भनेर भगवान् बुद्धका पाउमा भक्तजनहरूले पैसा चढाउने गरेको श्रेष्ठको बुझाइ छ। 

पोखरीमा सिक्का मात्र होइन, 'ब्याङ्क नोट'हरू पनि चढाउँदा रहेछन् कतिपयले त! के ती गल्दैनन् होला त? 

किताबका पानाजस्ता पानीमा गलेर जाने कागजबाट कहाँ बनेका हुन्छन् र ब्याङ्क नोटहरू? 

एक दर्शक यसै भन्दै थिए।  

हो रहेछ कि क्या हो? 

पोखरीको नजिकै बाँदरहरूका लागि स्विमिङ पुल बनाइएको छ, त्यहाँ डुबुल्की मारेर फ्रेस भइसकेपछि खानाको मेलोमेसो मिलाउने क्रममा बाँदरहरू पनि पोखरी परिसरमा प्रकट भइहाल्छन्।  

अनि त के चाहियो र? 

भिडको शान्ति भंग हुन्छ, कोकोहोलो मच्चिन्छ। 

कसरी चल्यो त चलन?

स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका एक पदाधिकारीका अनुसार विक्रम संवत २०६२ अघिसम्म उक्त स्थानमा एउटा पोखरी थियो। पछि त्यहाँ सुनको जलप लगाइएको भगवान् बुद्धको मूर्ति स्थापना गरियो। त्यसपछि भगवान् बुद्धका पाउमा सिक्का अर्पण गर्ने चलनजस्तै चलेको रे! 

पोखरीमा विराजमान भगवानको चरणस्पर्श गरी सिक्का आदि चढाउन सम्भव नभएकाले टाढैबाट सिक्का चढाउनु परेको बुझ्न कठिन छैन। 

यसरी सिक्का बुद्धको शरीरमा ठोक्किँदा सुनको जलप उक्किन्छ, कम बेसी। यति बुझ्न त सहजबुद्धि अर्थात् ‘कमनसेन्स’ नै पर्याप्त हुन्छ, विज्ञजनको भनाइ सापट लिनै पर्दैन। भक्तहरूले ढोग्दाढोग्दा ढुंगाको मूर्ति नै खिइएजस्तो।  

ती अधिकारीको भनाइ छ, भगवानलाई चढाएको सिक्का गुल्पाभित्र छिर्यो भने त्यसलाई शुभ संकेतको रूपमा लिइन्छ। हुन त त्यसरी सिक्का मूर्तिमा ठोक्किँदा मूर्तिमा क्षति पुग्छ। तर धार्मिक आस्थामा चोट पुग्ने हुँदा हामी भक्तजनलाई ‘सिक्का नचढाउनुस्’ भन्न सक्दैनौँ।  

महासमितिका महासचिव तथा स्वयम्भू महाचैत्य एवं हारती मन्दिरका पुजारी अशोक बुद्धाचार्यका अनुसार पहिला भगवान् बुद्धको मूर्ति अलि तल थियो। सिक्का चढाउँदा मूर्तिमा बढी क्षति हुन्थ्यो। अहिले मूर्तिलाई केहि माथि उठाएका छौँ। यसले क्षति अलि कम गरेको छ।  

सरसफाइ तथा सिक्का संकलन

प्राय: महिनाको एक पटक जम्मा भएका सिक्का बाहिर निकालिन्छ, पोखरी सफा गरिन्छ। अलि धेरै नै फोहर भयो भने १५ दिनमा  पनि पोखरी सफा गरिन्छ। 

बुद्धाचार्यको भनाइ छ: कोरोना भाइरस महामारीका बेला कतैबाट राहत पाउने आशा छैन। यस्तो बेलामा भक्तजनहरूले चढाएका सिक्काका कारण थोरै भए पनि आम्दानी बढेको छ। कर्मचारीका लागि पञ्जा, कुचो लगायत वस्तुकासाथै खानेपानीको व्यवस्था गर्न अलि सहज भएको छ।  

युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भू महाचैत्य परिसरमा हारती माताको मन्दिर, मञ्जुश्री पर्वत, शान्तिपुर, वायुपुर, वसुपुर, अग्निपुर, नागपुर, प्रतापपुर, अनन्तपुर, पवन भैरव मन्दिर, अगम छेँ लगायतका अमूल्य सम्पदा छन्।  

त्यहाँको सुरम्य वनमा विचरण गर्ने चराचुरूंगीको चिरबिरले, बाँदरको चर्तिकलाले, स्वच्छ हावाले तनाव कम गर्न अनि स्वस्थ रहन सहयोग पुर्याउँछन्।   

प्रश्नहरूको, इच्छा-आकांक्षाहरूको भारी बोकेर, श्रद्धा, आस्था, विश्वास छातीमा राखेर शान्तिको खोजीमा लम्किने होइन त स्वयम्भूको उकालो? के छ विचार?  

अन्त्यमा,

धर्मको रक्षा गरियो भने धर्मले हाम्रो रक्षा गर्छ भनिन्छ। मौलिक संस्कृति, परम्परा, सभ्यताको उन्नयनकालमा निर्माण गरिएका ऐतिहासिक धरोहरका कारण हाम्रो अस्तित्व कायम छ, विशिष्ट पहिचान कायम छ भन्दा अत्युक्ति नहोला। वर्तमानमा हामीले गर्व गर्न लायक त्यस्तो केही निर्माण गर्न सकेका छैनौँ। जे जति सम्पदा पुर्खाले जोडेर अनि छोडेर गए, तिनको संरक्षण गर्न पनि हम्मे परेको बडो चिन्ताजनक अवस्था छ। 

सरकारबाट के आश गर्नु? ऊ आफैँलाई बजेट नपुगेजस्तो देखिन्छ, सम्पदा संरक्षणका लागि त बजेट नै कहाँ होला र!

यी मूर्त-अमूर्त सम्पदाहरू कतै न कतै हाम्रो अर्थतन्त्रसँग जोडिएका छन्, राष्ट्रिय समृद्धिसँग जोडिएका छन्। सत्य के पनि हो भने मूलत: स्थानीय समुदायको योगदानका कारण नै ऐतिहासिक धरोहर आजसम्म खडा छन्। यस्ता सम्पदाहरू निर्माण गर्न नसके पनि स्थानीय समुदायको पहलमा मर्मतसम्भार तथा संरक्षण मात्रै गर्न सक्यौँ भने पनि ठूलै उपलब्धि हासिल हुन्थ्यो कि!  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.