|

पर्वत : छैटौँ पोखरा स्पोर्टस् अवार्ड २०७८ मा प्रदीप खड्का र अरुणा शाही वर्ष खेलाडी घोषित भएका छन्। 

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशले शनिवार पोखरामा आयोजना गरेको वर्ष सर्वोत्कृष्ट खेलाडी पुरुषमा टेनिसका खड्का र वर्ष सर्वोत्कृष्ट खेलाडी महिलामा भलिबलकी शाही घोषित भएका हुन्। वर्ष सर्वोत्कृष्ट खेलाडी विधामा प्रदीपले ब्याडमिन्टनका विधान अधिकारी र कराँतेका बुद्ध लामा पछाडि पार्दै उनीहरूले अवार्ड जितेका हुन्।

सोही विधाको महिलातर्फ नेपाली भलिबल टिमका राष्ट्रिय कप्तान समेत रहेकी शाहीले क्रिकेटकी मनीषा उपाध्याय र करातेकी सरगम कुमाललाई पछाडि पार्दै अवार्ड जितेकी हुन्। अवार्ड विजेता खड्का र शाही दुवै जनाले एक–एक थान इलेक्ट्रिक स्कुटर प्राप्त गरेका छन्। 

यस्तै लाइफ टाइम अचिभमेन्ट अवार्डबाट गणेश बहादुर भट्टराईलाई सम्मान गरिएको छ। उनी पाकिस्तानमा भएको चौथो दक्षिण एसियाली खेलकुदमा रजत पदक विजेता हुन्। 

वर्ष उत्कृष्ट उदीयमान खेलाडी विधामा टेनिसका दर्शिल श्रेष्ठले अवार्ड जितेका छन्। उनले क्रिकेटका सृष्टि जैशी र बक्सिङका शाहिल लिम्बुलाई उछिन्दै अवार्ड जितेका हुन्। 

यसैगरी वर्ष उत्कृष्ट प्रशिक्षकमा टेनिसका नीरज थापाले अवार्ड हात पारेका छन्। उनले क्रिकेटका रिजन प्रजु र तेक्वान्दोकी रेकमाया गुरुङलाई पछि पार्दै अवार्ड जितेका हुन्। अवार्ड विजेता थापा वर्ष सर्वोत्कृष्ट खेलाडी पुरुष प्रदीप खड्का र उदीयमान उत्कृष्ट वर्ष खेलाडी दर्शिल श्रेष्ठका गुरु हुन्। वर्ष उत्कृष्ट खेल संघबाट तेक्वान्दो संघ गण्डकी प्रदेश सम्मानित भएको छ। त्यस्तै, वर्ष उत्कृष्ट खेल पत्रकारको अवार्ड कान्तिपुरकर्मी दीपक परियारले प्राप्त गरेका छन्।

अवार्ड विजेता उत्कृष्ट वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट संघ र वर्ष उत्कृष्ट खेल पत्रकारलाई ट्रफी सँगै नगद ३५\३५ हजार र सम्मानपत्र प्रदान गरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.