|

म्याग्दी : जिल्लामा गतवर्षको तुलनामा मह उत्पादन उल्लेख्य रूपमा घटेको छ। जिल्लाको विभिन्न स्थानमा किसानले गरेको मौरीपालन व्यवसायबाट यो वर्ष १२ हजार केजी मह उत्पादन भएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ। 

जिल्लामा रहेका दुई हजार ५०० वटा मौरीका आधुनिक घारबाट सो परिमाणको मह उत्पादन भएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरण सिग्देलले बताए।
अघिल्ला वर्षमा वार्षिक २० हजार केजीभन्दा बढी मह उत्पादन हुने गरेको थियो।

पछिल्लो समय महको उत्पादनमा कमी आउन थालेपछि मौरीपालन व्यवसायमा रहेका किसान चिन्तित छन्। विज्ञका अनुसार आरु, चिउरी, पैयुँ, दुधिलो लगायत वनस्पति मासिएपछि पुष्परसअभाव र किरा र रोगको प्रकोपका कारण मौरीलाई आहारा कम हुँदा मह उत्पादनमा कमी आएको छ। 

वैज्ञानिक र आध्यात्मिक दुवै दृष्टिकोणको अत्यन्त महत्त्वपूर्ण मानिएको मौरी र मह पछिल्लो समय जलवायु परिवर्तन र मानवीय लापरबाहीका कारण संकटमा परेकोप्रति जानकारहरूले चिन्ता व्यक्त गरेका छन्।

म्याग्दीको मौरीपालन व्यवसायमा थाई स्याकग्रुड र युरोपियन फउलग्रुड रोगको प्रकोप देखिएको थियो। रोग, किराको प्रकोपले गर्दा मौरीको घारमा मह, कुट, अण्डा, लार्भा र छाउरा नष्ट हुनुका साथै महका पोला रित्तै भएपछि महको उत्पादन घटेको किसानले गुनासो गरेका छन्। एक वर्षमा सिजनअनुसार तीन पटकसम्म मह काढ्ने गरिन्छ। 

म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको डडुवामा मात्रै ७५ प्रतिशत मौरीमा रोग, किराको प्रकोप देखिएपछि रोकथामका लागि उपचार गरिएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सिग्देलले बताए। उनका अनुसार जाडो र चिसो मौसमका कारण मौरीले चिसो सहन नसकेपछि प्रकोप देखिनुका साथै सुलसुले र मैनपुतलीको समेत प्रकोप देखिएको थियो। 

म्याग्दी जिल्लामा पहाडी क्षेत्रमा हुने सेरेना प्रजातिको मौरी व्यावसायिक रूपमा पाल्ने गरिएको छ। अहिले जिल्लाभर ३०० भन्दा बढी किसान मौरीपालन व्यवसायमा संलग्न भए पनि व्यावसायिक रूपमा जम्मा २० मात्रै किसान क्रियाशील रहेको कृषि ज्ञान केन्द्रको तथ्यांक छ।

मौरी र मह उत्पादनका लागि मौसम प्रतिकुल हुनु, रोग, किराको प्रकोप फैलिनु, पर्याप्त फूल समयमा नफुल्नु, चरन क्षेत्रको अभाव तथा जिल्लाभन्दा बाहिरबाट मौरी आयात गर्नुपर्ने बाध्यताको कारणले मह उत्पादन घट्दै गएको छ। किसानले मह उत्पादन गर्नेभन्दा पनि मौरीसहित घार बिक्री गर्ने हुँदा पनि मह उत्पादनमा कमी आएको हो। म्याग्दीका किसानले काठ तथा आधुनिक घारमा मौरी पाल्दै आएका छन्। म्याग्दीको बेनी नगरपालिका–५, डडुवाका मौरीपालक किसान मिनबहादुर खत्रीले जलवायु परिवर्तन र मौरीसँगै रोग भित्रिएकाले मह उत्पादन घटेको अनुभव सुनाए। 

म्याग्दीको बेनी नगरपालिकाको सुर्केमेला, सिंगा, डम्बरा, डडुवा, मंगला गाउँपालिकाको पूर्णगाउँ, कुहुँ, भर्जुला, रघुगंगाको राखुक्षेत्र, अन्नपूर्णको शिख, मालिकाको दरबाङ, दिच्याम, धवलागिरिको ताकम, हिलापोखरीलगायत क्षेत्रमा मह उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ। कृषि ज्ञान केन्द्र र स्थानीय तहबाट किसानलाई अनुदानमा घार सहयोग, विभिन्न समयमा तालिम गोष्ठी प्रदान र बीउ पुँजीलगायत सहयोग हुँदै आएको छ।

राम्रोसँग मौरीपालन गर्न सके एक सिजनमा एउटै घारबाट झण्डै आठ केजीसम्म मह उत्पादन हुने किसानको अनुभव छ। अहिले प्रतिकेजी महलाई एकहजार ६०० रुपैयाँ मूल्य पर्छ। म्याग्दीमा उत्पादित मह नेपालको विभिन्न जिल्ला हुँदै विदेशको जापान, कतार, साउदी, बहराइन जस्ता मुलुकमा प्रवासी नेपालीले पुर्‍याउने गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.