६४ वटा पानीको नमुना परीक्षण गर्दा ४१ वटामा इकोली जीवाणु

|

काठमाडौं : काठमाडौं उपत्यकामा हालसम्म हैजा १७ जना बिरामी भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म काठमाडौंको बागबजार, कपन, बोहोराटार, बूढानीलकण्ठ, डिल्लीबजार, ललितपुरको सानेपामा हैजाका बिरामी भेटिएका छन्।

हैजा मात्रै हैन हाल काठमाडौंमा झाडापखालाका बिरामी बढेको बताइन्छ। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा हाल दैनिक १५ जनासम्म झाडापखालाका बिरामी उपचारमा आउने गरेको अस्पतालले जनाएको छ।

‘यो महिना लागेपछि झाडापखालाका बिरामी आउने क्रम धेरै छ। दैनिक १५ जनासम्म झाडापखालाका बिरामी उपचारमा आउनु हुन्छ’‚ अस्पतालका इमर्जेन्सी इन्चार्ज लीलानाथ भण्डारीले भने।

उनका अनुसार हाल अस्पतालमा दुईजना हैजाका बिरामीको उपचार भइरहेको समेत बताए।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका हैजा फोकल पर्सन डा. खगेश्वर गेलालका अनुसार हैजाको एक केशलाई पनि महामारीको रूपमा लिएर हेरिने हुँदा हाल उपत्यकामा देखिएको हैजा संक्रमणलाई संवेदनशील भएर नियन्त्रणमा लागिपरेको बताए। ‘हैजाको एक केशलाई पनि महामारी सरहकै मानेर हेर्ने गरिन्छ, त्यसैले हामीले उपत्यकामा देखिएको हालको हैजा संक्रमणलाई एकदमै संवेदनशील तरिकाले लिएर नियन्त्रणका निम्ति लागि परेका छौँ’‚ उनले भने।

६४ वटा पानीको नमुना परीक्षणमा ४१ वटामा इकोली जीवाणु भेटियो

काठमाडौं उपत्यका हैजा फैलनुको मुख्य कारण दूषित पानी रहेको छ। पहिलो केसको घर र कार्यस्थलबाट भण्डारण गरिएको धाराको पानी, जारको पानी र जमिनमुनिको पानीको चार नमुनामा दिसामा पाइने कोलिफर्म जीवाणु भेटिएको थियो।

पछिल्लो समय काठमाडौं खानेपानी लिमिटेडको सहकार्यमा काठमाडौंको विभिन्न स्थानबाट लिएको ६४ वटा पानीको परीक्षणमा ४१ वटा पानीको नमुनामा इकोली जीवाणु भेटिएको छ।

यस्तै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ललितपुरबाट लिएर परीक्षण गरेका १८ वटा नमुनामध्ये १२ वटा नमुनामा इकोली जीवाणु भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

हालसम्म उपत्यकामा हैजा देखिएका बिरामी सबैभन्दा धेरै १५ देखि ३४ वर्षका छन्। यो उमेर समूहमा हालसम्म ११ जनामा हैजा पुष्टि भएको छ। यस्तै ५ देखि १४ वर्ष उमेर समूहसम्म १ जना, ४५ देखि ५४ सम्म ३ जना र ५५ देखि ६४ सम्ममा १ जना रहेका छन।

निरन्तर पातलो दिसा लाग्नु र बान्ता हुनु हैजाका प्रमुख लक्षण हुन्। हैजा लागेपछि तौल घट्दै गएमा, पेट दुखेमा, आँखा गढ्ने, छाला चिसो हुने, हातगोडा चाउरी पर्ने, छाला नीलो हुने र जलवियोजन हुने लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा जान चिकित्सकको आग्रह छ।

हैजाबाट बच्न सकेसम्म घर बाहिर खाना र बासी खानेकुरा नखाने, घरमा पकाएको ताजा खाने, पानी उमालेर वा क्लोरिन प्रयोग गरी शुद्ध बनाई पानी पिउन चिकित्सकको सुझाव छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.