|

बागलुङ : युवा शक्ति बिदेसिए। गाउँका खेतीयोग्य जमिन बँझिए। केही वर्ष अगाडिसम्म रमणीय रहेका गाउँहरू अहिले उराठिलो बनेका छन्। गाउँमा भएका घरहरूमा धमिरा र लेउ लागेका छन्।

गाउँमा काम गर्ने सक्ने युवा पाउनै मुस्किल छ। अहिले गाउँमा बालबालिका र वृद्ध वृद्धा बाहेक युवा शक्ति भेट्टाउन मुस्किल पर्छ। युवायुवतीहरूमा विदेश मोह बढेपछि गाउँ बस्तीहरू सबै सुनसान छन्।

केही व्यवसाय गर्न पनि जनशक्ति पाइँदैनन्। जनशक्ति अभावकैबीच बागलुङका एक युवाले ठूलो लगानीमा ड्रागन खेती गर्न थालेका छन्। बागलुङ नगरपालिका वडा नम्बर १ रामरेखाका विमलेश आचार्यले ठूलो क्षेत्रफलमा ड्रागन फ्रुटको व्यावसायिक खेती थालेका हुन्। उनले रामरेखा र  मालढुङ्गा माझी बस्तीमा ड्रागन फ्रुट खेतीको थालनी गरेका छन्। ड्रागनको पछिल्लो समय निकै राम्रो मूल्य र बजार माग भएपछि बागलुङ व्यावसायिक उत्पादन गर्नका लागि खेती थालिएको आचार्यले बताए। 

आचार्यले गत चैत महिनादेखि रामरेखामा दुई रोपनी जग्गामा ड्रागन फ्रुट खेती थाले।  ड्रागन फ्रुटका बिरुवा राम्ररी हुर्कन थालेपछि आचार्यले माझीबस्ती नजिकै थप चार रोपनी जग्गामा ड्रागन फ्रुट खेती विस्तार गरे। आचार्यको अहिले दुई स्थानमा दुई हजार १०० ड्रागन फ्रुटका बिरुवा रहेका छन्। ड्रागन फ्रुटको महत्त्व थाहा पाएपछि पूर्व मन्त्री लोकेन्द्र विष्ट लगायतले गरेको खेती हेरेर आफूले बागलुङमा यसको सम्भावना देखेर विस्तार गरेको आचार्य बताउँछन्।

‘यो फलको माग बजारमा निकै छ, मूल्य पनि राम्रै पर्ने रहेछ, सुरुमा पूर्व मन्त्री लोकेन्द्र विष्टलगायत सफल ड्रागन व्यवसायीहरूको प्रेरणाबाट मैले यसको खेती गर्ने निधो गरे, जसका लागि मैले अहिले ६ रोपनी जग्गामा ड्रागन फ्रुटका बिरुवा लगाएको छु’ आचार्यले भन्छन् ‘मैले दुई हजार १०० ड्रागन फ्रुटका बिरुवा लगाएको छु, सबै बिरुवा मोरङबाट ल्याएको हु, यो ड्रागन फ्रुट सी भेराइटी मध्येको रातो जातको हो, अहिले यसको स्याहार सुसारमा जटेको छु।’

आचार्यले ड्रागन फ्रुट खेती विस्तारका लागि ५० लाख रुपैयाँ लगानी गरिसकेका छन्। प्रति बिरुवा ४०० मा खरिद गरेको भन्दै आचार्यले ड्रागन फ्रुट खेतीका लागि सिमेन्टको पोल र टायर समेत व्यवस्थापन गरिसकेको बताए। उनले ६०० सिमेन्टका पोल र टायरमा दुई हजार १०० बिरुवा लगाएको बताए। जग्गा व्यवस्थापन, तार बार, टायर, बिरुवा र पोल लगायतका लागि रु. ५० लाख भन्दा बढी लगानी गरिसकेको भन्दै अझै लगानी बढाउनुपर्ने उनको भनाई छ। आचार्यले १४ थरी फलबाट आउने पोषण तत्व ड्रागन फ्रुटबाट मात्रै पाइने भएकाले यसको बजारका लागि कुनै समस्या नदेखेपछि आफूले यस तर्फ लगानी बढाएको बताए। 

ड्रागन फ्रुटको व्यावसायिक खेतीमा सुरुमा धेरै लगानी गरे पनि पछि राम्रो कमाई हुने गरेको छ। बागलुङमा व्यावसायिक ड्रागन फ्रुटको व्यवसायिक उत्पादन भने भइसकेको छैन। आचार्यले ड्रागन फ्रुट रोपेको एक वर्ष देखि १८ महिना भित्रै ड्रागन फ्रुट उत्पादन भइसक्ने उनको भनाई छ। उनले ड्रागन फ्रुटको बोक्रा र काइनाको जुस समेत प्रयोग गर्न सकिने बताए। 

‘रातो ड्रागन फ्रुटको मूल्य अहिले पनि बजारमा ८०० देखि एक हजार प्रति केजी छ,  नेपालमा यसको उत्पादन बढ्दै गएपछि मूल्य केही घट्ला तर यसको बहु उपयोगिताका कारण बजारको माग धान्नै समस्या हुने देखिन्छ’ उनले भने ‘१४ भन्दा बढी फलफूलमा फाइने पोषण तत्त्व ड्रागन फ्रुटमा पाइने अध्ययनले देखाएको छ, अबको एक वर्षमा आफ्नो ड्रागन फ्रुटको व्यावसायिक उत्पादन भइसक्नेछ।’

आचार्यले ड्रागन फ्रुटका लागि पोल र सुरक्षाका लागि गरिने तारबारका कारण सुरुवाती लगानी नै धेरै भएको बताए। दक्षिण पूर्वी एसियाका देशहरू भियतनाम फिलिपिन्स थाईल्याड लगायतको देश हुँदै अहिले यो फल नेपालमा भित्रिएको छ। ड्रागन फल गर्मी र सुख्खा हावापानीमा हुने सिउँडी प्रजातिको फलफूल हो। यस फलको जातहरूमा रातो बोक्रा, पहेँलो बोक्रा र सेतो रङ हुने गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.