|

काठमाडौं : स्थानीय तह निर्वाचनअघि दुई विषय बढी चर्चामा रहे। लामो समयदेखि राजनीतिमा जकडिएकाहरूको हालीमुहालीमा रहेका नेता र तिनका परिवारविरुद्ध जनताको चोला फेर्न तम्सिएका स्वतन्त्र उम्मेदवार बालेन साह।

दोस्रो विषय थियो चर्चित गीत :

'गाई त बाँध्यौ ढुङ्ग्रोमा मोई छैन, 

गरिबको चमेली बोल्दिने कोई छैन'

कैयौँ व्यक्तिले यही गीतसहित बालेनका लागि मत दिन आग्रह गरेका थिए। यो गीतले बालेनको जितका लागि कति महत्त्वपूर्ण भूमिका निर्वाह गर्‍यो? त्यो बहस हुन सक्ला तर गीतमा भने जस्तै राजनीतिक दलले जनताको पीडा बुझ्न नसकेको अवस्थामा बालेन आशाको केन्द्रबिन्दु बनेका थिए।

उनीसँग महानगरवासीका अपेक्षा बढी हुनु स्वाभाविक थियो। किनभने उनी जनताको वास्तविक धरातलबाट आएका व्यक्ति थिए। यसैलाई मध्यनजर गरी महानगरवासीले आशा, विश्वास र अपेक्षा मतपेटिकामा खसाले। मतगणनाको दिनदेखि नतिजा आउने अन्तिम दिनसम्म उनी अग्रस्थानमा रहे। अन्तत: उनले पाँच वर्षका लागि स्थान सुरक्षित बनाए।

महानगरभित्र समस्याका चाङ छन्। तिनको व्यवस्थापन गर्नुपर्ने चुनौती बालेनलाई राम्रोसँग ज्ञान छ।

तर गत शुक्रबार काठमाडौंको बालुवाटारको फुटपाथमा मकै बेच्ने दम्पती चेतेन्द्र आचार्य र सीतालाई नगरप्रहरीले लछारपछार गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।

नगरप्रहरीले उनीहरूको मकै, मकै पोल्न आवश्यक सामग्री र ठेला गाडीमा मात्र हालेको छैन, आचार्य दम्पतीलाई लछारपछार नै गरेको छ। उनीहरूले आफ्नो सामान फिर्ता गर्न अनुनयविनय गरेको देखिन्छ। प्रहरीले मकै छरपष्ट पारिदिएका छन्। मानौँ असारे झरीमा पानी होइन बालुवाटारको त्यो स्थानमा मकै बर्सिएको थियो।

जति नै अनुनयविनय गरे पनि प्रहरीले उनीहरूका सामान उठाएर लग्छन्। सडक छेउमा​ आचार्य दम्पती विस्मित भएर बस्छन्। केही छिनमा सीता सुकसुकाउँछिन्। महानगरपालिकाले आफ्नो क्षेत्रमा अनाधिकृत रूपमा सार्वजनिक गरेका सवारीसाधन जतनसाथ गाडीमा हालेर प्रहरी कार्यालय लैजाने गरेको छ।

तर फुटपाथमा पसिना बगाएर खानेहरूलाई भने लछारपछार गर्दै उठाउने गरेको छ। दमन गर्ने प्रवृत्ति नौलो भने पक्कै होइन।

महानगरले गर्ने यस किसिमका व्यवहार यसअघि पनि गर्दै आएको थियो। त्यस्ता पात्र सडकका चोक अनि गल्लीमा भेटिन्छ्न्।

रामेछापका दिलबहादुर अधिकारी पनि महानगरपालिकाको सिकार बनिसकेका छन्। उनले पहिला ठेलामा कपडा पसल चलाएका थिए तर त्यस कर्ममा नगरप्रहरीको आँखा पर्‍यो। उनी कपडा व्यापारीबाट मकै पोलेर बेच्ने व्यापारी बने।

केही दिनअघि बिजुलीबजारमा तातो घाममा मकै पोलिरहेका उनले विरक्तिएको आवाजमा भन्दै  थिए- नगरप्रहरीको दमन मेरा लागि सामान्य हो।

नगरप्रहरीले ठेला, सामान जफत गर्नु अत्यन्तै निन्दनीय कार्य भएको उनी बताउँछन्। उनका अनुसार यो गरिबको भोको पेटमाथि लात हान्ने काम हो।

‘सटर लिऊँ भाडा तिर्न सकिँदैन, नलिऊँ व्यापार गर्न सकस’

फुटपाथमा व्यापार व्यवसाय गर्नेहरू सटर भाडा महँगो भएकै कारण सटरमा व्यापार गर्न नसकेको उनी बताउँछन्। तातो घाममा सडक छेउमा मकै पोल्नु आफ्नो रहर नभएको उनले सुनाए। उनीसँग दुःखका खातमात्र छैनन्, महानगरलाई सुझाव पनि छन्। 'सटर भाडा तिर्न नसक्नेहरूलाई सीमित मात्रामा शुल्क तोकेर सार्वजनिक ठाउँको व्यवस्था सरकारले गरिदिए धेरै सहज हुने थियो', हाम्रो कुरा कसले सुन्ला र? यति सुझाव मेरो पनि छ भन्दै उनी पुन: मकै पोल्न लागे।

सिन्धुपाल्चोकका अमरबहादुर श्रेष्ठ पनि यसरी जबरजस्ती ठेला जफत गर्नुभन्दा पहिला व्यापारीका लागि ठाउँको व्यवस्थापन गर्नुपर्ने माग गर्छन्।

बौद्धको कुमारीगाल र गौरीघाट क्षेत्रमा तरकारी बेच्दै आएका उनले भने, ‘कि त महानगरपालिकाले रोजगारी दिनुपर्‍यो, नभए हामीलाई राति र बेलुकाको समयमा स्वतन्त्र ढंगले तरकारी बेच्न दिनुपर्छ। त्यति पनि नभए हाम्रो परिवार पाल्ने जिम्मा महानगरले लिनुपर्छ।’

सरकारले यहाँ रोजगारीको व्यवस्था नगर्ने, उल्टै गरी खानेहरूलाई दमन गर्ने भन्दै उनले आक्रोश पोखे। महानगरप्रहरीको यस्ता क्रियाकलापकै कारण हरेक दिन डरका साथ गुजारा चलाउनु परेको उनले बताए।

विद्यासुन्दरको सिको सिक्दै बालेन

२०७७ पुस २९ गते नगरप्रहरीले सुकेधारा चोकबाट मञ्जु कुँवर क्षेत्रीको ठेला र तरकारी जबरजस्ती उठायो। उनले महानगरका प्रहरीसँग रुँदै याचना गरिरहेकी थिइन्, ‘यस्तो पनि हुन्छ? हामी हिँड्या भए, बेच्या भए एउटा कुरा‚ घरमा राखेको ठेला किन समातेको?’

त्यसवेला वरिपरिका व्यक्तिले एकपटकलाई छोड्दिनु भन्दै थिए तर नगरप्रहरीले उनको ठेला गाडीमा लिएर हिँड्यो। उनी रुँदै बिलौना गरेको भिडियोले सामाजिक सञ्जाल ततायो। महानगरपालिकामाको चर्को आलोचना भयो।

२०७८ असार महिनाका वेला देशमा कोरोना महामारीले उग्र रूप लिइरहेको थियो। कैयौँ सडकपेटीमा बस्ने असहाय गरिबी भोकै परे। यही वेला ‘हाम्रो टिम नेपाल’लगायत विभिन्न संस्थाले उनीहरूलाई खुलामञ्चमा निःशुल्क खाना खुवाइरहेको थियो तर त्यहाँ फोहोर भएको भन्दै खाना दिने कार्यक्रम बन्द गरिदियो। महानगरपालिका यतिमा मात्र सीमित रहेन। उसले ०७८ असार १४ गते सिंहदरबार पूर्वी गेट अगाडि रहेको सार्वजनिक जग्गामा ‘हाम्रो टिम नेपाल’को खाना पकाउन बनाएको टहरा भत्काइदियो।

सार्वजनिक जग्गा कब्जा गरेको आरोपमा प्रहरीले टिम नेपालका अध्यक्ष विमल पन्तसहित १८ भन्दा बढी अभियन्तालाई पक्राउ गरेको थियो। अझ अर्को गजबको कुरा के भने जफत गरेको ठेलासहित सबै सामान महानगरपालिकाले लिलाम गरिदिन्छ तर यसको आर्थिक विवरण अहिलेसम्म सार्वजनिक भएको छैन।

तर यतिखेर महानगरपालिकामा नेतृत्व बालेनको हातमा छ। उनले चुनावअघि उपभोग अवधि वा समयअनुसार खुला ठाउँमा फुटपाथ व्यवसायको तालिका निर्धारण गर्ने घोषणापत्र बनाएका थिए। उनको चुनावी प्रतिबद्धताको ४ नम्बरको छैटौँ बुँदामा यस्तो उल्लेख छ। उनी मेयर बनेको करिब दुई महिना पुग्न लागेको छ।

यस विषयमा थप बुझ्न नगरप्रमुख बालेनका स्वकीय सचिव भूपेन्द्र शाहलाई पटकपटक फोन गर्दा पनि सम्पर्क हुन सकेन।

सामाजिक सञ्जालमा टिप्पणी

बालुवाटारको उक्त घटनापश्चात् सामाजिक सञ्जालमा पनि व्यापक आलोचना र बहस भइरहेको छ। सुमन ट्विट नामका एक प्रयोगकर्ताले नगरप्रहरीको व्यवहारको तस्वीर सार्वजनिक गर्दै लेखेका छन्, 'हामी नै अटिँदैन भने तिम्रो शहर जति खतरा भए पनि के काम? नियम बनाऊ, ठाउँ तोक, जरिवाना गर। तर मान्छे हुनुको आधारभूत सम्मान देऊ। कम्तीमा भुस्याहा कुकुरलाई जतिको त इज्जत दिएर गाडीमा हाल। हामी पनि तिमी जस्तै मान्छे हौं यार।'

यस्तै रामेश कोइराला लेख्छन्, 'खालि ठाउँमा पार्क बना तर सुकुम्बासी बस्ती नहटा! फुटपाथ खाली गर तर ओगट्ने व्यापारीलाई नहटा! फोहोर उठा तर डम्पिङ साइटमा नलग्। हैजा फैलिन नदे तर पानीपुरी बेच्न दे! सडक अतिक्रमण हुन नदे तर गरिबलाई काम गर्न दे! कता दिने हो? कसरी दिने हो? बालेन त के रामले पनि पूरा गर्न नसक्ने रछन्।'

उनको ट्विटमा हिमा विष्ट लेख्छिन, 'केही गर्छु भनेर नेतृत्व लिइसकेपछि गर्नैपर्छ। सारा सरकारी स्रोत छ त, निकास के हो खोज्न सकिन्छ। किन यसरी हरेस खानु र डा.साब? मेयर, सांसद त गर्छु भनेर हिँडेकै हुन्, बस मानवीय संवेदनालाई पनि लिएर हिँडून्।'

नगरप्रहरी भन्छ :  यो स्वाभाविक हो

महानगरपालिकाका नगरप्रहरी प्रमुख धनपति सापकोटा फुटपाथमा पसल राख्दा पैदलयात्रुलाई असहज हुने भएकाले राख्न पाउने समय नै नतोकिएको बताए। यसरी जबरजस्ती फुटपाथमा पसल राख्ने जोकोहीको सामान जफत गर्ने स्पष्ट पारे।

‘ठेला राख्न पाउने कुनै समय तोकिएको छैन’ उनले भने, ‘फुटपाथमा पसल राख्नेहरूले नै कहिले ६ बजे पछाडि राख्न पाउने भनी आफैँ समय तोक्ने गरेका छन्।’

फुटपाथमा व्यापार गर्ने व्यक्तिलाई आधारभूत सम्मान दिएर आवश्यक कारबाही पनि दिन सकिन्छ होला नि? भन्ने प्रश्नमा उनले भने, ‘हामीले जसको सामान हो, उसैको हातबाट उठाउनुपर्छ। मोटरसाइकल भने पार्किङ गरेको हुन्छ, धनी हुँदैनन् पछि लिन आउँछन्। त्यसकारण सवारीधनीसँग झगडा हुँदैन तर फुटपाथको त सामान नै उठाउनुपर्छ। यस वेला केही झगडा र झडप हुन्छ नै।’

आफूहरूले कानुनको पालना गरेको तर आम नागरिकलाई कानुन पालना गर्न लगातार अनुरोध गर्दा पनि नमान्ने गरेको उनले सुनाए।  ‘उनीहरूको सामान नपोखी सामान लैजान मिल्ने त्यस्तो केही चामत्कारिक उपाय भए सुझाव दिनुस्', उनले पंक्तिकारसँग भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.