|

कोलम्बो : श्रीलंकाली नौसेनाले अवैध रूपमा समुद्री मार्ग हुँदै अस्ट्रेलिया जान थालेका ५१ जनालाई आइतबार पक्राउ गरेको छ। श्रीलंकामा देखिएको आर्थिक संकटका कारण अत्यधिक व्यक्ति देश छोडेर जाने प्रयास गरिरहेका छन्।

नौसेनाले अवैध रूपमा देश छाड्न खोज्ने व्यक्तिलाई पक्राउ गरेको पछिल्लो एक सातामा यो चौथो घटना हो।​ श्रीलंकाली नौसेनाका अनुसार देश छाड्ने प्रयास गर्ने सबै समुद्री माछा मार्ने डुङ्गामा थिए। उनीहरू ट्रिङ्कोमाली बन्दरगाहबाट प्रस्थान गरेका थिए। डुङ्गा नियन्त्रणमा लिएपछि सबैलाई पक्राउ गरिएको हो।

नौसेनाले जारी गरेको विज्ञप्तिअनुसार नौसेनाले पूर्वी समुद्री क्षेत्रमा गरेको खोजी अभियानमा आज बिहान ५१ जना यात्रु बोकेको डुङ्गा नियन्त्रणमा लिएको हो। तीमध्ये ४१ जना पुरुष‚ ५ जना महिला र ५ जना बालबालिका छन्। उनीहरू जाफ्ना‚ वावुनिया‚ ट्रिङ्कोमाली‚ बात्तीकालओआ‚ अम्पारा‚ गामपाहा र रतनपुराका बासिन्दा भएको बताइएको छ। उनीहरू सबै गैरकानुनी रूपमा देश छोडेर अस्ट्रेलिया जान खोजिरहेका थिए।

यसअघि शनिबार श्रीलंकाको नौसेना, तटरक्षक र प्रहरीको संयुक्त टोलीले पश्चिमी तटीय बाटो हुँदै अवैध रूपमा अस्ट्रेलिया प्रवेश गर्न खोजिरहेका २४ जनालाई पक्राउ गरेको थियो।

त्यस्तै गत जुन २७ र २८ तारिखमा पनि सयभन्दा बढी अवैध आप्रवासी पक्राउ परेका थिए। श्रीलंकालीहरू करिब ७ हजार किलोमिटर डुंगाबाट पार गरी अस्ट्रेलिया छिर्ने गरेका छन्। उनीहरू अस्मोर रिफ र कोकोस टापु हुँदै अस्ट्रेलिया जाने गरेका छन्। श्रीलंकाले अहिले ठूलो आर्थिक संकटको सामना गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.