|
फाइल तस्विर

काठमाडौं:  बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्रीले उद्घाटन गरेको हात्ती वनभोज​ विवादमा परेको छ। प्रदेश सरकारको आर्थिक सहयोगमा गरिएको भनिएको हात्ती वनभोज विवादमा परेपछि मन्त्री दीपेन्द्र श्रेष्ठले रकम भुक्तानी नगर्न निर्देशन दिएका छन्।

यही असार १६ गते ‘पर्यटन प्रवर्धन तथा वन्यजन्तु वासस्थान व्यवस्थापन समिति’ नामक  संस्थाले चितवनका सौराहामा हात्ती वनभोज कार्यक्रम आयोजना गरेको थियो। प्रदेश सरकारको आर्थिक सहयोग तथा चितवन निकुञ्जको सहकार्यमा गरिएको भनिएको हात्ती वनभोज कार्यक्रम पर्यटनमन्त्री श्रेष्ठले नै उद्घाटन गरेका थिए।

पर्यटन प्रवर्धन तथा वन्यजन्तु बासस्थान व्यवस्थापन समिति सौराहाले सरकारी हात्तीसार र निजी व्यवसायीले पालेका करिब ७० हात्तीलाई वनभोजका रूपमा केरा, चना, भुइँकटर, स्याउ, उखु, सख्खर, खर्बुजा र खिर खुवाइएको थियो।

समितिका अनुसार वनभोज कार्यक्रममा हात्तीलाई खुवाउन  एक लाख ६३ हजार ३००, अतिथि सत्कारमा ४३ हजार ९१४, प्रचारमा पाँच हजार र हात्तीसारेलाई कुची बनाएबापत ज्यालामा १० हजार रुपैयाँ खर्च भएको थियो। यसमा प्रदेश सरकारले पनि पाँच लाख सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो।

क्षेत्रीय होटल सङ्घ चितवन, रेष्टुराँ एण्ड बार एसोसिएसन (रेवान) सौराहा, युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था, नेचर गाइड एसोसिएसन र साना पर्यटन व्यवसायी समूहले हात्ती वनभोजको विरोध गरेका थिए। उनीहरूले पर्यटन प्रवर्धनका लागि विनियोजन गरिएको बजेट दुरुपयोग गर्ने नियतले नगरी हात्ती वनभोज कार्यक्रमको आयोजना गरेको आरोप लगाएका छन्।

विवादमा पर्पन लागेपछि पर्यटनमन्त्री श्रेष्ठ उक्त प्रतिबद्धताबाट पछाडि हटेको बताइएको छ। पर्यटन सचिव मदन कोइरालाले हात्ती वनभोजमा मन्त्रालयले भुक्तानी नदिने स्पष्ट पारे। 

विवाद बढेपछि वनभोजको आयोजक संस्थाले पत्रकार सम्मेलन गरी बजेट फ्रिज हुन लागेपछि मन्त्रालयकै आग्रहमा वनभोज कार्यक्रम गरिएको बताएको थियो।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.