|

काठमाडौं :  सडक किनारामा मकै पोलेर बिक्री गर्दैै आएका दम्पतीलाई नगर प्रहरीले लछारपछार गर्दै सामान जफत गरेको भिडियो सामाजिक सञ्जालमा आएपछि महानगरपालिकको चर्काे विरोध भइरहेको छ। 

एक महिनाअघि मात्र काठमाडौं महानगर प्रमुखमा निर्वाचित भएका बालेन साहले उम्मेदवारी घोषणाकै क्रममा फुटपाथ व्यवसायलाई व्यवस्थित गर्ने घोषणा गरेका थिए। तर उनी निर्वाचित भएलगत्तै महानगरपालिकाले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा फुटपाथ व्यवसायलाई नियन्त्रण गर्ने नीति पास भयो। 

महानगर प्रहरी पनि कार्यपालिकाले नै फुटपाथमा व्यवसाय नियन्त्रण गर्ने आफ्नो जिम्मेवारी भएको बताउँछ। काठमाडौंका फुटपाथलाई व्यवस्थित गर्न व्यवसाय गर्नेलाई उठाउनु बाहेकको विकल्प नै छैन त?  नगर प्रहरीले जफत गरेको सामान के हुन्छ ? लगायत विषयमा थाहाखबरकर्मी सञ्जिता आचार्यले काठमाडौं महानगर प्रहरी प्रमुख धनपति सापकोटासँग गरेको कुराकानी–

फुटपाथ व्यवसायीमाथि नगर प्रहरीले गरेको व्यवहारको चर्को विरोध भइरहेको छ नि! 

महानगरले नगर प्रहरीलाई  दिएकोमध्ये पहिलो जिम्मेवारी नै फुटपाथ (सडकपेटी) व्यवस्थापन हो।  सडकपेटी पैदलयात्रु हिँड्नका लागि हो। व्यवसाय गर्नका लागि बनाइएको होइन। त्यसैले अटेर गरी सडकपेटीमा पसल राख्नेलाई उठाइएको हो। उनीहरूको सामान जफत गरेको हो।

महानगरपालिकाको कार्यपालिका बैठकको निर्णय अनुसार हामीले काम अगाडि बढाएका हौँ। यसमा विरोध गर्नुपर्ने  विषय नै छैन। कार्यपालिकाको निर्णयमा  काम गर्दा किन विरोध गर्नु? 

यसलाई नियन्त्रण गर्नका लागि सडक पेटी अधिग्रहण गरेर राखेको व्यवसायलाई करको दायरामा आउनेगरी रूपान्तरण गर्नु भनेका छौँ। त्यो नै उत्तम विकल्प हो।  

फुटपाथमा व्यवसाय गर्ने माथि महानगरले दुव्यर्वहार गर्ने गरेको देखिएको छ। यसलाई व्यवस्थित गर्न महानगरसँग अरु विकल्प छैन?
 
हामीले फुटपाथमा व्यवसाय गर्नेहरूलाई दुर्व्यवहार गरेको होइन। कसैको सम्पत्ति जफत गर्न त्यति सजिलो छैन। कर्तव्य पालना गर्ने क्रममा त्यस्तो देखिएको हो। २०४९ सालमा  रत्नपार्क सुन्धाराका फुटपाथ व्यवसायीलाई विकल्पको खोजी गरिएको थियो।  तर त्यो उपायले काम गरेन। त्यतिबेला  सीमित व्यवसायीलाई भृकुटी मण्डपमा लगिएको थियो।  हाल ती व्यवसायीले त्यो स्थान छोड्न मान्दैनन्। व्यवस्थित गर्ने योजना ल्याउँदा पनि सहयोग गरेनन्।  

अब त पहिलेजस्तो फुटपाथ व्यवसायीलाई उपलब्ध गराउने ‘स्पेस’ पनि छैन। जति मानिस सडकमा आउँछन्, त्यतिलाई व्यवस्थापन गर्न सकिँदैन। 

सर्वसाधारणले  पहिलाको जसरी नै ठाउँ उपलब्ध गराउनुलाई व्यवस्थापन बुझेका छन्। तर, महानगरले अब फेरि कुनै ठाउँ दिएर व्यवस्थित गर्न सक्ने अवस्था नै छैन। कानूनले फुटपाथमा व्यापार गर्न निषेध गरेको छ। त्यसको पालना हामीले गराउने हो। हामीसँग फुटपाथ व्यवस्थित गर्न नियन्त्रण गर्नेबाहेक अरु विकल्प छैन। 

 

यसको अर्थ ठूलो लगानी गर्न नसक्नेले काठमाडौं नबस्नु भन्ने हो? 

देशका नागरिकलाई यहाँ बस्नुस्, यहाँ नबस्नुस् भन्ने अधिकार हामीलाई छैन। तर, व्यवसाय गर्ने नाममा सडक पेटी नै कब्जा गर्नु भएन। सडक पेटी व्यवसायीका लागि होइन भन्ने कुरा व्यवसायीले पनि बुझ्नु पर्छ। अर्को कुरा व्यवसाय भनेको आर्थिक पाटोसँग जोडिएको विषय हो, जसलाई करको दायरामा ल्याउन जरुरी  छ।  

निश्चित समय वा ठाउँ दिने कुनै व्यवस्था हुँदैन?

अहिले तत्कालका लागि त्यस्तो कुनै व्यवस्था हुन सक्दैन। हाल भएको ठाउँ सवारीसाधन र पैदलयात्रुकै लागि  नै अभाव छ। कुनै टोलबाट निस्किएको फोहोर गाडीमा लोड गर्ने ठाउँ त अभाव छ। यस्तो अवस्थामा सडकका व्यवसायीलाई कसरी ठाउँ उपलब्ध गराउन सकिन्छ?  

महानगरको कतिपय स्थानमा साँझ ६ बजेपछि राख्न दिनु भएको छ नि!

हो, साँझ ६ बजेभन्दा पछि महानगरको मुख्य चोक (सुन्धारा, नयाँ बानेश्वर र रत्नपार्क) लगायतका स्थानमा व्यापार हुन्छ। तिनीहरुलाई पनि हामीले राख्न अनुमति दिएको हैन। महानगरको राख्न नदिने नीति छ। नगर प्रहरीले नभ्याएको अवस्थामा त्यस्तो व्यवसाय सञ्चालन हुने गरेको। हामीसँग जनशक्ति कम छ। सबैतिर भ्याउन सक्ने अवस्था छैन। त्यसैले त्यस्तो देखिएको हो। त्यसलाई पनि तत्काल हटाउने तयारी गरिरहेका छौँ। 

व्यवसायीबाट जफत गरेको सामान के गर्नुहुन्छ?

सडकमा व्यवसाय गर्नेबाट जफत गरेको सामान लिलामी प्रक्रियामा जान्छ। आजको सामान आजै लिलामीमा जाने भन्ने हुँदैन। नगर प्रहरीले जफत गरेको सामान गोदाममा लगेर  सूची तयार गरी आधार मूल्य तोकेर लिलामी समितिमा पठाइन्छ। समितिले  प्रक्रिया अगाडि बढाउँछ।  आज उठाएको सामान आजै लिलाम हुँदैन। 

जफत सामग्रीबाट कति रकम उठ्यो? 

अहिले नै यति उठ्यो भन्न सक्ने अवस्था हुँदैन। सामानको प्रकृति हेरेर मूल्य निर्धारण हुन्छ। गत आर्थिक वर्षमा ५२ लाख लिलाम भएको थियो, जसमा फलामजन्य, होडिङ बोर्ड, पाइप, साइकल र ठेलागाडा लगायतका सामान थिए। अहिले तत्कालका  लागि १४ लाख रुपैयाँ बराबरको सामान लिलामीको प्रक्रियामा छ। 

तत्कालै बिग्रिने सामान  के गर्नुहुन्छ?

त्यस्ता सामानमा नगर प्रहरीले खायो भन्ने आरोप लाग्छ। तर त्यसो होइन। सड्ने र गल्ने खाद्यवस्तु तथा तरकारी–फलफूल र प्रज्ज्वलनशील पदार्थ लगायत सामान जरिवाना तिराएर तत्काल व्यवसायीलाई नै फिर्ता गर्छौँ। गाडा, साइकल लगायत धातुका सामान मात्र लिलाम गरिन्छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.