प्रस्तावबारे सकारात्मक छाैँ : माधव नेपाल

|

काठमाडौं : वाम एकतादेखि समाजवादी केन्द्र निर्माणसम्मको छलफल भइरहेका बेलामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी केन्द्रबीच एकताबारे गृहकार्य थालिएको छ। 

आइतबार भएको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयका ५ जना नेताहरूबीच भएको छलफलमा वाम एकताको लागि दबाब दिन माओवादी र समाजवादीबीच एकता गर्नेबारे छलफल भएको हो।  

सोमबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकमा अध्यक्ष माधवकुमार नेपालले त्यसबारे पार्टीमा जानकारी गराएको महासचिव बेदुराम भुसालले बताए। 

उनले अध्यक्ष नेपालको भनाइलाई उदृत गर्दै भने, ‘हामी कसरी अघि बढ्ने भन्नेबारे खुला छलफलमा छौँ। वाम एकताको बारेमा कुरा उठेपछि माओवादी र समाजवादीबीच एकता गर्ने भन्नेबारेमा प्रस्ताव आएको छ। त्यसबारे कुनै निर्णय भएको छैन।’

पार्टी एकताको प्रस्ताव सकारात्मक भएपछि हतार गरेर निर्णयमा पुग्न सकिने अवस्था नरहेको अध्यक्ष नेपालको भनाइ थियो। चुनावअघि नै माओवादी र समाजवादीसँग एकता गर्नेबारे छलफल भएको बुझिएको छ। 

‘हामीले पार्टीको समीक्षा र आगामी कदमको बारेमा आजको बैठकमा छलफल गरेका थियौँ। हामी वाम एकताको विषयमा सकारात्मक नै छौँ’ महासचिव भुसालले भने। 

आइतबार साँझ साबिक नेकपा बहुमत सचिवालय सदस्यहरू पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनाल तथा नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच छलफल भएको थियो। 

तत्कालीन सचिवालय सदस्य केपी शर्मा ओली, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेल अहिले नेकपा एमालेमा छन्। 

नेकपाको एकता भंग भएपछि अहिले नेकपा ४ टुक्रा भएको छ। नेता गौतमले नेकपा एकता राष्ट्रिय अभियान पार्टी नै घोषणा गरेर कम्युनिष्ट पार्टी एकताको पहल थालेका थिए। उनले पार्टी घोषणा गरेपछि प्रचण्ड र माधव नेपालसँग बेग्लाबेग्लै छलफलसमेत गरेका थिए। 

कम्युनिष्ट एकताको प्रस्तावमा प्रचण्ड र माधव सकारात्मक भएपछि एमाले अध्यक्ष ओली भने मौन रहेको एकता अभियानका प्रवक्ता निमाकान्त पाण्डे बताउँछन्। 

‘हाम्रो पहिलो प्राथमिकता नेकपा पुनर्गठन गर्नु हो। कम्युनिष्टहरू एकताबद्ध हुनुपर्छ भन्नेमा प्रचण्ड र माधव कमरेड सकारात्मक नै हुनुहुन्छ। तर, ओलीजीले स्पष्ट जवाफ दिनुभएको छैन। उहाँको पार्टीमा पनि छलफल गर्नुपर्ने भएर होला। हामीलाई उहाँले पनि सकारात्मक सन्देश दिनुहुन्छ भन्नेमा आश्वस्त छौँ’ उनले भनाइ थियाे।

एकताका लागि ओली तयार नभएपछि माओवादी समाजवादी एकताको प्रयास थालिएको हो। त्यसो त ओलीलाई पनि पार्टीभित्रबाटै पृथ्वीसुब्बा गुरुङ, घनश्याम भुसाल, रघुजी पन्तलगायत नेताहरूले दबाब बढाइरहेका छन्। 

त्यसो त आइतबारको केन्द्रीय समिति बैठकमा प्रचण्डले नेपालमा वामपन्थी एकताको सम्भावना खुलाएका थिए। ‘नेपालमा वामपन्थी एकताको सम्भावना छ। हामी तत्कालीन नेकपाका केन्द्रीय सचिवालयमा रहेका नेताहरूसँग छलफल गरेका छौँ’ उनको भनाइ थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.