|

हेटौँडा : बागमती प्रदेश सरकारले पछिल्लो १९ दिनमा दैनिक खर्च २१ करोड भन्दा बढी पुर्‍याएको छ।

चालू आर्थिक वर्षको अन्तिम महिनामा सरकारले आफ्नो दैनिक खर्चलाई २१ करोड भन्दा बढी पुर्‍याएको हो। बजेट खर्चमा सधैँ कमजोर देखिँदै आएको प्रदेश सरकारले चालू आर्थिक वर्षको अन्तिम असार महिनाको १९ दिनमा नै करिब ४ अर्ब रुपैयाँ बजेट खर्च गरेको छ।

२४ अर्ब रुपैयाँ खर्चिन ११ महिना अर्थात ३३० दिन लगाएको प्रदेश सरकारले आर्थिक वर्षको अन्तिम महिनाको १९ दिनमा नै तीन अर्ब ९९ करोड ८७ लाख रुपैयाँ बजेट खर्च गरेको छ।

जुन खर्च दैनिक रुपमा २१ करोड ४ लाख ५७ हजार ८ सय ९४ हुन आउँछ। यसअघिको ११ महिनासम्म सरकारको दैनिक खर्च ७ करोड ४२ लाख ११ हजार पाँचसय १५ को हाराहारीमा हुने गरेको थियो। तर, आर्थिक वर्ष सकिनै लाग्दा भने सरकारले दैनिक खर्चलाई १३ करोड ६२ लाख रुपैयाँले बढाएको छ।

सरकारको पछिल्लो १९ दिनको बजेट खर्चलाई हेर्दा आर्थिक वर्षको अन्तिम समयमा मनलाग्दी रुपमा हुने बजेट खर्चले निरन्तरता पाएको देखिन्छ। चालू आर्थिक वर्ष २०७८/७९ को ११ महिना अर्थात जेठसम्ममा सरकारको बजेट खर्च ४२ प्रतिशत मात्रै थियो।

पछिल्लो १९ दिनमा सरकारले बजेट खर्चलाई ४९ प्रतिशत पुर्‍याएको छ। चालू आव २०७८/०७९ मा ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँको बजेट ल्याएकोमा जेठ मसान्तसम्ममा २४ अर्ब ४८ करोड ९८ लाख रुपैयाँ मात्रै खर्च गरेको थियो। असार महिनाको १९ दिन अर्थात सोमबारसम्ममा सरकारको कुल बजेट खर्च २८ अर्ब ४८ करोड ८५ लाख रुपैयाँ पुगेको छ।

जसमा चालू तर्फ २३ अर्ब ३५ करोड ८० लाख रुपैयाँ बजेट रहेकोमा १४ अर्ब एक करोड ६४ लाख रुपैयाँ खर्च भएको छ। यो चालू कूल बजेटको ६१ प्रतिशत खर्च हो। त्यस्तैगरी पूँजीगततर्फ ३२ अर्ब ४१ करोड ८४ लाख रुपैयाँ बजेट ल्याएको सरकारले हालसम्म १३ अर्ब १७ करोड २१ लाख रुपैयाँ खर्च गर्न सकेको छ।

यो ४० प्रतिशत खर्च हो। अब चालू आर्थिक वर्ष सकिन १० दिन मात्रै बाँकी छ। सरकारले चालू आर्थिक वर्षमा बजेट खर्च ६५ प्रतिशत पुर्‍याएको दावी गरेको हुँदा बाँकी १० दिनमा सरकारको बजेट खर्च अझै धेरै बढ्ने देखिन्छ।

देशका ७ वटा प्रदेशहरूमध्ये सबैभन्दा धेरै बजेट ल्याउँदै आएको बागमती प्रदेश सरकार बजेट खर्चमा भने सधैँ कमजोर रहँदै आएको छ। प्रदेशमा आर्थिक वर्षको अन्तिम महिनामा जथाभावी रुपमा बजेट खर्च गर्न प्रचलन जस्तै बनेको छ। गत आर्थिक वर्षमा पनि सरकारले असार एक महिनामा मात्रै १२ अर्ब रुपैयाँ बजेट खर्च गरेको थियो।

वर्तमान सरकारले पनि आर्थिक वर्षको अन्तिममा बजेट खर्चलाई बढाउँदै असारे विकासको बाटोलाई रोजेको देखिन्छ। खर्च गर्न कमजोर रहँदै आएको सरकारको बजेटको आकार भने वर्षेनी बढ्दै गएको छ। बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षमा पनि ७ वटा प्रदेशहरूमध्ये सबैभन्दा ठूलो बजेट ल्याएको छ। सरकारले चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षको बजेटको आकार १३ अर्बले बढाउदै सबैभन्दा ठूलो बजेट ल्याएको हो।

सरकारले बजेटको आकार बढाउँदै लगेपनि खर्चलाई बढाउन नसकेको भन्दै संसदमा पनि आलोचना भएको थियो। 

प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले पछिल्लो १९ दिनमा मात्रै ८५ करोड ३७ लाख रुपैयाँ बजेट खर्च गरेको छ। ९ अर्ब ७ करोड ४६ लाख रूपैयाँ ११ महिना लगाएको यस मन्त्रालयले असारको १९ दिनमा नै ८५ करोड ३७ लाख रुपैयाँ खर्च गरेको हो।

सामाजिक विकास मन्त्रालयले असारको १९ दिनमा ७७ करोड ६० लाख रुपैयाँ बजेट खर्च गरेको छ। उक्त मन्त्रालयले ११ महिनामा तीन अर्ब ७२ करोड तीन लाख रूपैयाँ मात्रै बजेट खर्च गरेको थियो। उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्रालयले पनि आर्थिक वर्षको अन्तिममा आफ्नो खर्चलाई बढाएको छ।

चालू आवको ११ महिनाको अवधीमा एक अर्ब ५७ करोड ६९ लाख खर्च गरेको मन्त्रालयले १९ दिनमै ३८ करोड तीन लाख रुपैयाँ बजेट खर्च गरेको छ। एक अर्ब १९ करोड २२ लाख खर्च गर्न ३३० दिन अर्थात ११ महिना लगाएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पनि १९ दिनमा ३३ करोड ९३ लाख रुपैयाँ बजेट खर्च गरेको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पनि पछिल्लो १९ दिनमा बजेट खर्चलाई ह्वात्तै बढाएको छ। ११ महिनाको ३३० दिनमा २० करोड १२ लाख खर्च गरेको कार्यालयले १९ दिनमा नै ३० करोड ७२ लाख रुपैयाँ खर्च गरेको छ। पछिल्लो १९ दिनमा सबैभन्दा धेरै बजेट खर्च मुख्यमन्त्री कार्यालयको नै बढेको देखिन्छ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले पनि बजेट खर्चलाई बढाउँदै १९ दिनमा १५ करोड ५७ लाख रुपैयाँ खर्च गरेको छ। ११ महिनामा २० करोड ७८ लाख खर्च गरेको उक्त मन्त्रालयले १९ दिनमै १५ करोड ५७ लाख रुपैयाँ खर्च गरेको हो।

आर्थिक मामिला तथा योजना मन्त्रालयले पनि पछिल्लो १९ दिनमा ९ करोड ७१ लाख रुपैयाँ खर्च गरेको छ। उक्त मन्त्रालयले जेठ मसान्तसम्म ११ महिनाको अवधिमा २५ करोड ४ लाख ९५ हजार रूपैयाँ मात्रै खर्च गर्न सकेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.